+

सीता रानामगरले खेल्ने भइन् हङकङमा हुने क्रिकेट प्रतियोगिता

२०७८ मंसिर  १८ गते १३:२१ २०७८ मंसिर १८ गते १३:२१
सीता रानामगरले खेल्ने भइन् हङकङमा हुने क्रिकेट प्रतियोगिता

१८ मंसिर, काठमाडौं । नेपाली क्रिकेटर सीता रानामगरले हङकङमा हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्भिटेसनल–२०२२ खेल्ने भएकी छन् ।

नेपाली राष्ट्रिय टोलीकी उप–कप्तान रानामगरले ढिलै भए पनि अन्तराष्ट्रिय प्रतियोगिता खेल्न पाउँदा खुसी लागेको बताइन् । शनिबार आयोजित एक कार्यक्रममा उनले भने, ‘सन्दीप लामिछाने लगायतका पुरुष क्रिकेटरले फ्रन्चाइज लिग खेल्दा हामीले पनि अवसर पाए हुन्थ्यो भन्ने लाग्यो । अहिले अवसर पाएँ, खुसी छु ।’

हालै मात्र टी–२० महिला विश्वकपको एसिया छनोट खेलेर आएकी उनले केही दिनको आराम पछि तयारीमा जुट्ने बताइन् । २००७ मा राष्ट्रिय टोलीबाट डेब्यू गरेकी सीताले भनिन्, ‘आफ्नो उच्च प्रदर्शन गर्न प्रयास गर्नेछु ।’

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले हङकङमा खेल्न छनोट भएकोमा सीतालाई बधाई दिँदै नेपालीहरुको मिहेनतले गर्दा यो सम्भव भएको बताए ।

राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले नेपाली महपला क्रिकेटमा यो ऐतिहासिक दिन भएको बताए । ‘यसले अरु खेलाडीलाई पनि खेलकुदमा लाग्न प्रेरित गर्छ । नेपाली क्रिकेटमा लागेर पनि केही गर्न सकिन्छ भन्ने उर्जा मिल्नेछ,’ उनले भने ।

राना मगरलाई एजेन्सी सेवा प्रदान गरेको क्विन्स इभेन्ट मेनेजमेन्टका अनुसार प्रतियोगितामा उनी कुन टोलीबाट खेल्ने भन्ने निर्णय आयोजक आफैंले गर्नेछ ।

फेयर ब्रेक इन्भीटेसनल, अन्तर्राष्ट्रिय क्रिकेट परिषद्बाट मान्यता प्राप्त महिला टी–२० क्रिकेट प्रतियोगिता हो । १ देखि १५ मेसम्म हङकङमा हुने प्रतियोगितामा ६ टोलीले भाग लिनेछन् । भारतकी हर्मप्रित कौर, पाकिस्तानकी सना मिर जस्ता चर्चित खेलाडीहरुको सहभागिता सुनिश्चित भइसकेको छ ।

सीता राना मगर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय