+
+

महेन्द्र पी.लामाको ‘ओ दार्जीलिङ !’ बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १९ गते १५:२४

१९ मंसिर, काठमाडौं । दार्जिलिङका लेखक तथा प्राध्यापक महेन्द्र पी.लामाको पुस्तक ‘ओ दार्जीलिङ ! सीमा वारिपारिका परिवेश र मन्थन’ बजारमा आएको छ ।
यो पुस्तक भारतका नेपालीभाषी र उनीहरुले माग गर्दै आएको गोर्खाल्याण्डका मुद्दाहरुमा केन्द्रित छ, तर त्यतिमा मात्रै सीमित छैन ।

यसले दार्जिलिङको समृद्ध इतिहास, गर्विलो विरासत र अन्यौलग्रस्त वर्तमानलाई जीवन्त ढंगबाट चित्रण गरेको छ । दार्जीलिङले आफ्नो स्वाभिमानका निम्ति सय वर्षदेखि गर्दै आएको संघर्षको झलक पनि यसमा पढ्न पाइन्छ । सँगैको अर्को राज्य सिक्किमसँग जोडिएका प्रसंगहरु पनि पुस्तकमा प्रशस्त आउँछन् ।

‘ओ दार्जीलिङ !’ का लेखक महेन्द्र पी. लामा नयाँ दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयको स्कुल अफ इन्टरनेसनल स्टडीजका वरिष्ठ प्राध्यापक एवम् विकास अर्थशास्त्री हुन् । उनी भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार परिषद् सदस्य, सिक्किम सरकारको प्रमुख आर्थिक सल्लाहकार एवं भारत सरकारका विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय कमिटीहरुमा प्रतिनिधि रहिसकेका छन् ।

‘आफ्नो जन्मथलो, जाति, क्षेत्रका जल्दाबल्दा मुद्दाहरुलाई टाढाबाट हेर्दा र फेरि भित्रै पसी केलाउँदा पाइएका सोच, धारा र प्रवृत्तिहरु यो पुस्तकमा छन्,’ प्राध्यापक लामा भन्छन्, ‘मैले जन्मथलो छोडेर कर्मथलोमा जरा गाडेको ४० वर्षभन्दा ज्यादै भएछ । तर मेरो मन, भोगेको तन र निफन्ने ऐतिहासिक परिप्रेक्ष्यचाहिँ दार्जिलिङकै वरिपरी छ ।’

४३० पृष्ठ लामो ‘ओ दार्जिलिङ !’ किताब पब्लिशर्सले प्रकाशित गरेको हो । पुस्तक विभिन्न ६ वटा खण्डहरुमा विभाजित छ : ‘पहाडकी रानी’, ‘हाम्रो आवाज र स्वाभिमान’, ‘नेपाललाई नियाल्दा’, ‘चीनतिर चियाउँदा’, ‘कूटनीति र यताउति’ तथा ‘अनुभूति र अवलोकन’ ।

पुस्तकमा भारतबाट हेर्दा नेपाल कस्तो देखिन्छ?, तिब्बत र चीनतिर चियाउँदा के-के पाइन्छ, कूटनीति, भूराजनीति र अन्तर्राष्ट्रिय सम्बन्धका नयाँ मुद्दाहरु के हुन्-यी र यस्ता बिषय पनि समेटिएका छन् ।

यो किताब विभिन्न कालखण्डमा लेखिएका र छापिएका यस्ता ४९ वटा फरकफरक आलेखहरुको संग्रह हो, जसले सीमावारि र हिमालपारिका अनेकन् बिषयहरुलाई समेटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?