+
+

महिला हिंसा : समस्या र समाधान

अधिवक्ता ईश्वर बराल अधिवक्ता ईश्वर बराल
२०७८ मंसिर २० गते ११:२१

‘घरबाटै शुरू गरौं, महिला हिंसा अन्त्य गरौं’ नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । वर्सेनि मनाइने १६ दिने अभियानले महिला सशक्तीकरण र जागरणको स्तरमा वृद्धि गराउँदै आएको छ । लैंगिक हिंसा विरुद्धको आवाजलाई सशक्त बनाउन यसले सहयोग पुर्‍याउँछ ।

लैंगिक हिंसामा सबैभन्दा बढी महिला नै पर्ने गरेका छन् । सामाजिक परम्परा नै महिलालाई महिला भएकै कारण विभेद गर्ने हिसाबले अघि बढेको छ । फरक यत्ति हो त्यो कुराको महसूस महिलाले धेरै पछि मात्रै गरे।

नारीको नियति त्यस्तो हैन । पछिल्ला दिनमा पुरुषको उन्माद झनै बढ्दो छ । मानिस शिक्षा र चेतनाले सभ्य हुनुपर्नेमा झन्झन् असभ्य र हिंस्रक बन्दै गएको अनुभूति हुन्छ । समय जति प्रगतिशील र विकसित हुँदैछ, महिला हिंसाको स्वरूपमा झनझन् अमानवीय र क्रूर बन्दै गएको छ । आफूलाई प्रेम नगरेको भन्दै तेजाब शरीरमा हालिदिनेसम्मको निकृष्ट घटना समाजमा भएका छन् । हिंसाको मात्रामा झन्झन् बढोत्तरी हुँदै गइरहेको आभास हुन्छ ।

महिला माथि हुने हिंसा लैंगिक समानता हासिल गर्ने बाटोको तगारो, दिगो विकासको बाधक हो । महिला हिंसाका कारण महिला र बालिकाको समुन्नत जीवन जिउन पाइरहेका छैनन् । हिंसा प्रभावितको स्वास्थ्य, भावना, मनोविज्ञान, शारीरिक सुरक्षा र आत्मसम्मानमा समेत नकारात्मक प्रभाव पारिरहेको छ । यसका अतिरिक्त उत्पादनमूलक काममा महिलाको अनुपस्थिति वा सुस्तता देखिन्छ । स्वास्थ्य क्षेत्रमा खर्च बढिरहेको हुन्छ भने प्रहरी, अदालत र सामाजिक कल्याणका क्षेत्रहरूको समय, श्रम र स्रोतको खर्चमा वृद्धि गराएको छ ।

के हो महिला हिंसा ?

महिला हिंसा महिला वा बालिका विरुद्धको हिंसा हो । विशेषगरी महिलाको विरुद्ध अधिकार, श्रेष्ठता, महिला दुर्बलताको दृष्टिकोणको भावनाबाट उत्पन्न हन्छ । महिला विरुद्ध हिंसा निर्मूलन सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्रमा भनिएको छ, ‘महिला विरुद्ध हिंसा भनेको पुरुष र महिला बीचको ऐतिहासिक रूपमा असमान शक्ति सम्बन्धको अभिव्यक्ति हो, एक महत्वपूर्ण सामाजिक विकृति हो, जहाँ महिलालाई अधीनस्थ स्थितिमा र असहज परिस्थितिमा बाँच्न बाध्य पारिन्छ ।’

महिला विरुद्ध हिंसाका केही विशेषताहरू छन्, हिंसा प्रायःजसो अपरिचित शृङ्खलामा हुँदैन र समयसँगै चलिरहन्छ । हिंसा परिचित र नजिककाबाट पनि भइरहेका छन् । सार्वजनिक, निजी क्षेत्र र जीवनको कुनै पनि समयमा आउन सक्छ । महिला विरुद्ध हुने हिंसाले प्रायः महिलालाई व्यक्तित्व विकास र प्रगतिमा मात्रै रोक्दैन, परिवार र सिङ्गो समुदायको सामाजिक, आर्थिक र राजनैतिक विकासमा पूर्ण योगदान पुर्‍याउनबाट रोक्दछ । महत्वपूर्ण कुरा के हो भने, हिंसाले सामाजिक विभाजनको मुद्दालाई प्रोत्साहन गर्नुका अतिरिक्त शान्ति, विकास र समुन्नतिमा बाधा सिर्जना गरेको छ ।

ई.सं. १९९३ को संयुक्त राष्ट्रसंघीय महासभा प्रस्ताव नं. ४८/१०४ बाट पारित महिला हिंसा अन्त्य सम्बन्धी राष्ट्रसंघीय घोषणाापत्रले गरेको परिभाषा अनुसार ‘महिला विरुद्धको हिंसा भन्नाले सार्वजनिक वा निजी जीवनमा लिङ्गको आधारमा हुने हिंसाजन्य कार्यको रूपमा लिइन्छ, जसले महिलालाई शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पुर्‍याउँदछ वा पुर्‍याउने सम्भावना हुन्छ, जसअन्तर्गत त्यस्तो कार्य गर्ने धम्की, दबाव र स्वेच्छाचारी रूपमा महिलाको स्वतन्त्रतामा बन्देज समेत पर्दछ ।’ यस्ा घोषणाले महिला विरुद्धको हिंसालाई महिलाको आधारभूत अधिकार र स्वतन्त्रताको समग्र उल्लंघन तथा हननको रूपमा चित्रित गरेको छ ।

महिला हिंसाको स्वरूप र फैलावट

हिजोआज हिंसाको स्वरूपमा विविधता देखिन्छ । जसलाई व्यक्ति तथा राज्यहरूद्वारा गरिएको हिंसामा विभक्त गरी हेरियो भने अलि सहज हुन्छ । व्यक्तिबाट बलात्कार, घरेलु हिंसा, यौन उत्पीडन, एसिड आक्रमण, प्रजननमा जबर्जस्ती, महिला शिशु हत्या, भू्रण हत्या, प्रसूति हिंसा, दाइजोका कारण हिंसा, अपहरणद्वारा विवाह र जबर्जस्ती विवाह, बालविवाह, बहुविवाह, कुटपीट, मानसिक यातना आदि पर्छन् । राज्यतर्फ सैन्य योद्धाद्वारा हुने बलात्कार, यौन हिंसा र द्वन्द्वको समयमा यौन दासत्व, जबर्जस्ती गर्भपात, प्रहरी, सुरक्षाकर्मी र कार्यालयमा कार्यरत महिलाहरूमा हुने सांगठनिक हिंसा आदिलाई लिन सकिन्छ ।

संयुक्त राष्ट्रसंघबाट समय समयमा जारी गरिएको विज्ञप्ति नियालेर हेर्ने हो भने विश्वको कुनै क्षेत्र, देश र त्यस्तो कुनै संस्कृति छैन जहाँ हिंसाबाट महिलाको स्वतन्त्रता सुरक्षित गरिएको होस् । फरक छ त केवल महिला हिंसाको स्वरूप अनि नाम । दहेज हिंसा र दुलही जलाउने प्रथा भारत, बंगलादेश, श्रीलंका र नेपालसँग सम्बन्धित छ । एसिड छ्याप्नेमा भारत, बंगलादेश, श्रीलंका र नेपालका अतिरिक्त कम्बोडिया सहित दक्षिण पूर्वी एशिया पर्दछ । अनर किलिङ मध्य पूर्व र दक्षिणएशियासँग सम्बन्धित छ । महिलाको जनेन्दि्रय अंगभंग गर्नेे विकृति अधिकतम रूपमा अपि|mकी मुलुकमा देखिन्छ । थोरै मध्य पूर्व र एशियाको केही अन्य भागमा पनि समस्या छ । अपहरणद्वारा हुने विवाहमा इथियोपिया, मध्यएशिया र ककेसियन मुलुकहरू अग्रपंक्तिमा छन् ।

हिंसा अन्त्यका लागि भएका प्रयास

तपाईं पुरुषको महिलाप्रति सदाशय र मैत्रीभाव हरदम परीक्षामा छ हिजोआज । तपाईंको ‘पुरुषत्व’सँगै तपाईंभित्रको मानवीय र ‘न्यायिक’ चरित्र नै परीक्षामा छ । हिजो थिएन भन्ने होइन, तर आज बढी छ । कार्ल माक्र्स र पाब्लो नेरुदा माथि लाग्ने गरेको आरोपले मात्र होइन, मोदनाथ प्रश्रति र रघुजी पन्तको टिप्पणीले पनि प्रष्ट पार्दछ

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका करीब २५ देखि ४० प्रतिशत महिलाहरूसँग उनीहरूको जीवनको कुनै न कुनै समयमा यौन हिंसा, घरेलु हिंसा, बलात्कार, इज्जतका लागि गरिने हत्या, बेचबिखन, दाइजोको कारणले गरिने हत्या, तेजाब खन्याउने, महिलाको जनेन्दि्रय अंगभंग गर्ने, प्रजनन अधिकारमाथि नियन्त्रण जस्ता हिंसापूर्ण भेदभावबाट गुज्रनु परेको अनुभव छ । विश्वव्यापी रूपमा प्रजनन उमेर समूहका महिलाको मृत्यु र उनीहरूलाई असमर्थ बनाउनु क्यान्सर भन्दा हिंसा ठूलो कारक हो । यस्तो विषम परिस्थितिमा महिला विरुद्ध हुने हिंसा अन्त्यका लागि केही ठोस कार्य गर्नुपर्छ भनी केही वर्ष प्रयास भएको देखिन्छ ।

ई.सं. १९९३ को संयुक्त राष्ट्रसंघीय महासभा प्रस्ताव नं. ४८/१०४ बाट पारित महिला हिंसा अन्त्य सम्बन्धी राष्ट्रसंघीय घोषणापत्र, बेइजिङ्ग कार्ययोजना १९९५, सहस्राब्दी विकास लक्ष्य २००५ महिला हिंसा अन्त्यका दिशामा गरिएको पहलकदमी र प्रतिबद्धताको रूपमा लिन सकिन्छ । वि.सं. २००३ मा महिलाको स्थिति सम्बन्धी आयोगले मानवअधिकार र महिला हिंसा विरुद्धका मुद्दा उठाउँदा, सदस्य राष्ट्रहरू सहमतिमा पुग्न सकेका थिएनन् । त्यसको एक दशक पछि सन् २०१३ मा भएको आयोगको ५७ औं सत्रमा महिला अधिकार हिंसाबाट मुक्त र संरक्षित गरिनुपर्दछ भन्नेमा ऐक्यबद्धता जनाइयो । त्यस्तै सोही संयुक्त राष्ट्रसंघीय महिलाको स्थिति सम्बन्धी आयोग (सीएसडब्लू) को सबैभन्दा पछिल्लो ६५औं सत्र (१५-२६, मार्च २०२१) लगायत अन्य विश्वव्यापी संयन्त्रहरूले महिलाको सुरक्षा र हिंसाबाट मुक्ति बीचको अन्योन्याश्रति सम्बन्ध महिला माथि हुने भेदभाव अन्त्यका लागि प्रमुख आधिकारिक अधिकार हुने तथ्य स्थापित गरेका छन् ।

नेपालमा महिला हिंसा न्यूनीकरणका लागि विभिन्न कानूनी तथा संस्थागत व्यवस्था कायम छन् । पहिलो लिखित कानून मुलुकी ऐन १९१० को जीउ मास्ने बेच्ने, सती जाने, आशय करणी, करणीको आशयले हातपात गर्ने, हाडनाता, जबर्जस्ती एवम् कमारा र बाँधाको महलको व्यवस्थालाई पनि त्यो समयको प्रगतिशील व्यवस्था मान्नुपर्ने हुन्छ । त्यसपछि जारी गरिएको सुधारिएको मुलुकी ऐन २०२० हुँदै विभिन्न विषयगत कानून हुँदै मुलुकी फौजदारी संहिता २०७४ सम्म आइपुग्दा महिला हिंसा न्यूनीकरणका लागि प्रशस्त कानूनी व्यवस्था र प्रतिबद्धता छन् । सोही मात्रामा राज्यले संस्थागत संयन्त्रहरूको पनि स्थापना र विकास, स्रोतको परिचालन गर्दै आएको छ ।

हिंसा अन्त्यका लागि हुनुपर्ने परिवर्तन

विभिन्न आध्यात्मिकता मिसिएको विश्वाससँग हाम्रो सामाजिक मूल्य गाँसिने गरेको छ । जसले गर्दा महिला माथिको नियन्त्रणको दायरा अझ पनि कसिलो देखिन्छ । त्यस्तो मानसिकता कसरी निर्माण हुन्छ र यसमा जिम्मेवार के हो वा को हो ? भन्ने प्रश्नको उत्तर खोज्न अब ढिलो गर्नुहँुदैन । यस बाहेक, हिंसालाई उत्प्रेरित गर्ने कारणमा उमेर, वर्ग, संस्कृति, जातीयता, धर्म, यौन झुकाव र उनीहरूको उत्पत्तिको विशिष्ट भौगोलिक क्षेत्र हुन सक्दछ । यसका अतिरिक्त नागरिक चेतनाको स्तरमा देखिएको कमि, गोप्यतामा रमाउने हाम्रो संस्कृति, औपचारिक शिक्षा प्राप्त भएको तर दीक्षा प्राप्त गर्न नसकेको हाम्रो वर्तमान हुन नसकेको कानूनी व्यवस्थाको कार्यान्वयन र अपराधीलाई कडा दण्ड सजाय लैङ्गकि हिंसालाई मलजल गर्ने अन्य कारण हुन सक्दछ ।

हिंसाका कारण, हामीले विवेचित गरेका हुन् कि त्योभन्दा फरक हुन्, त्यसले तात्विक फरक नराख्ला । यहाँ समाजको गन्तव्य भने सदैव हिंसा अन्त्यको दिशामा हुनु आवश्यक छ । यसका लागि आजको समयमा महिला हिंसा नियन्त्रण गर्ने कार्यमा लाग्नुपर्छ । हामी आम पुरुष वर्गले पुरुष भएर होइन बावु, दाजु वा जीवनसाथी भएर यी प्रश्नको उत्तर खोज्नुपर्ने भएको छ । मैले असहजतामा पारिरहेको महिला पनि कसैको छोरी, कसैको बुहारी, कसैकी दिदीबहिनी अनि कसैकी श्रीमती हुन् । जसरी मेरी छोरीको स्वतन्त्रता र स्वच्छन्दता मलाई अमूल्य छ, त्यसरी नै यी चेलीको दाजु वा जीवनसाथीलाई यिनको सुरक्षा र स्वाभिमान प्यारो हुन्छ ।

त्यस्तै महिला मित्रहरूले आमा, दिदी र जीवनसाथीको भावबाट सोच्नुपर्ने कुरा भनेको, कतै मेरो छोराले कसैको छोरीको बलात्कार त गर्ने छैन ? मेरो भाइको कारणले कुनै चेली हिंसामा त परेकी छैनन् ? मेरो जीवनसाथीले कार्यालय वा अन्य स्थानमा महिलामाथि दुव्र्यवहार त गरेको छैन ?

समग्रमा हामी आम पुरुषले पुरुष र महिलाले महिला भएर होइन, मानिस भएर यी प्रश्नको उत्तर खोज्नुपर्छ । के सारा पुरुष पापी, क्रूर, अमानवीय र बलात्कारी मानसिकताका हुन्छन् त ? महिलामाथि यौनिक हिंसा किन हुन्छ ? कसले गर्छ यौनिक हिंसा ? समाजमा कैयौं परिवर्तन हुँदा पनि आखिर के कारण यौनिक हिंसामा कमी आउनुको सट्टा लगातार बढिरहेको छ ? सामाजिक न्याय, समानता र सम्मानको प्रत्याभूति दिने दाबी गर्ने कैयौं कानूनी पाना आखिर यौनिक हिंसा रोक्ने सवालमा किन यतिविघ्न निरीह बने होलान् ?

अन्त्यमा, पुरुषले मनन गर्नुपर्ने केही कुरा छन् । तपाईं जतिसुकै प्रजातान्त्रिक, न्यायप्रेमी र क्रान्तिकारी नै किन नहुनूस्, महिलाको शरीर र आत्मसम्मानलाई व्यवहारतः सम्मान गर्ने सफा नियतको अभावमा तपाईंका सबै परिचय गौण बन्दछन् । तपाईंमा यौनजन्य हिंस्रक प्रवृत्ति छ भने र त्यसले सिर्जेका घटना सार्वजनिक भए भने तपाईंका अन्य सबै सद्गुण ‘शून्य’ मा विलुप्त हुन्छन् । त्यति मात्र होइन तपाईं पुरुषको महिलाप्रति सदाशय र मैत्रीभाव हरदम परीक्षामा छ हिजोआज । तपाईंको ‘पुरुषत्व’सँगै तपाईंभित्रको मानवीय र ‘न्यायिक’ चरित्र नै परीक्षामा छ । हिजो थिएन भन्ने होइन, तर आज बढी छ । कार्ल माक्र्स र पाब्लो नेरुदा माथि लाग्ने गरेको आरोपले मात्र होइन, मोदनाथ प्रश्रति र रघुजी पन्तको टिप्पणीले पनि प्रष्ट पार्दछ । ‘मीटु’ अभियानलाई पनि लिन सक्नुहुन्छ ।

किनभने हिजो जसरी तपाईंका कर्तुत लुकाउने सजिला अस्त्र आज छैनन्, ढिलोचाँडो तपाईंको दोहोरो चरित्रको मखुन्डो खुल्छ । तपाईं प्रतिकारको निशानामा पर्नुहुन्छ । त्यसो भएको खण्डमा तपाईं सानो या ठूलो जुनसुकै स्तरको सार्वजनिक बेइज्जती खप्न तयार हुनुपर्छ, यो दाग जीवित हुँदा मात्र होइन मरणोपरान्त समेत वर्षौं वर्ष हजारौं वर्षसम्म प्रष्ट देखिन्छ । यदि यो कुरा तमाम पुरुष वर्गमा बुझाउन सकिने हो भने हिंसाको दर स्वतः आधा भन्दा बढीले घट्छ ।

सँगसँगै घरपरिवार, विद्यालयबाट नै छोराछोरीमा निगरानी, असल शिक्षा अनि दीक्षा दिएर बालबालिकालाई हुर्काउन सक्नुपर्छ । तब मात्र आउने दिनमा महिला तथा बालिकाले फरक लिंग भएका कारणले कमजोर महसूस गर्नुपर्दैन, हिंसामा पर्नुपर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment