+
+

क्यान र क्रिकेट खेलाडीको विवाद चर्कियो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते १५:११
नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द (बाँया) र नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल ।

२० मंसिर, काठमाडौं । वर्गीकरण विवादसँगै शुरु भएको खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) को विवाद थप चर्किएको छ ।

वर्गीकरणमा असन्तुष्टि जनाएका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई क्यानले दुई पटक स्पष्टीकरण सोधेको छ भने खेलाडीहरुले पनि क्यानसमक्ष ११ बुँदे माग अघि सारेका छन् ।

२० असोजमा बसेको क्यानको बोर्ड बैठकले सन् २०२१ को अन्तिम ९ महिना (अप्रिलदेखि डिसेम्बरसम्म) का लागि पुरुष र महिला क्रिकेट खेलाडीलाई विभिन्न समूहमा वर्गीकरण गरेको थियो ।

जबकी तत्कालीन उपाध्यक्ष राजुबाबु श्रेष्ठ नेतृत्वको समितिले मापदण्ड बनाएर साउनमा नै वर्गीकरणको सूची बुझाइसकेको थियो । तर क्यानले त्यसलाई ढिला मात्र अनुमोदन गर्‍यो, जुन वर्गीकरणमा १८/१८ जना पुरुष र महिला खेलाडी परे ।

क्रिकेटरहरुले टिमको फिजिओले राम्रो उपचार नगरेको बताएका छन् भने मुख्य प्रशिक्षकको पनि माग गरेका छन् । वर्गीकरणप्रति कुनै पनि खेलाडी सन्तुष्ट नभएको भन्दै ज्ञापनपत्रमा ७ दिनभित्र माग सम्बोधन गर्नसमेत आग्रह गरिएको एक खेलाडीले बताए ।

श्रेष्ठ नेतृत्वको समितिले हरेक ६/६ महिनामा वर्गीकरणको समीक्षा गर्ने भनेको थियो । तर एकै पटक ९ महिनाका लागि वर्गीकरण गरियो, जसमा २०२० फेब्रुअरीमा भएको नेपाल, ओमान र अमेरिकाको त्रिकोणात्मक सिरिज, मार्चमा भएको थाइल्याण्ड भ्रमण र २०२१ को अप्रिलमा भएको नेपाल, मलेसिया र नेदरल्याण्डस्को त्रिकोणात्मक सिरिजको प्रदर्शनलाई आधार मानिएको क्यानले बताएको छ ।

तर यो वर्गीकरण तीन सिरिजमा गरेको प्रदर्शनका आधारमा नभएको खेलाडीहरुको गुनासो छ । साथै खेलाडीहरुलाई सम्झौता गर्नुअघि नेपालले क्रिकेट विश्वकप लिग–टूको ओमान, नेपाल र अमेरिकाको त्रिकोणात्मक सिरिज खेलिसकेको थियो, जसमा टिममा पुनरागमन गरेका खेलाडीले राम्रो प्रदर्शन गरेका थिए ।

मापदण्ड र वर्गीकरणमा असन्तुष्टि जनाउँदै कप्तान मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र बलर कमल सिंह ऐरी गरी चार खेलाडीले ‘सेन्ट्रल कन्ट्र्याक’मा हस्ताक्षर गरेनन् र, आफ्नो असन्तुष्टि सञ्चार माध्यममा समेत राखे ।

स्पष्टीकरणको श्रृङ्खला

क्यानले आचारसंहिता विपरीत गतिविधि गरेको भन्दै चार खेलाडीलाई २५ कात्तिकमा स्पष्टीकरण सोध्यो । सेन्ट्रल कन्ट्र्याकबारे कुनै गुनासो भए क्यानमा लिखित निवेदन दिई छलफल गर्नुपर्नेमा विवादको विषय सञ्चारमाध्यममार्फत सार्वजनिक गर्नु विधान विपरीत भएको भन्दै पत्रमा ७ दिनभित्र स्पष्टीकरण दिन भनिएको थियो ।

चार खेलाडीले ३० कात्तिकमा जवाफ दिए, जसमा उनीहरुले खेलाडीहरुको वर्गीकरण त्रुटिपूर्ण भएको दोहोर्‍याएका छन् । कप्तान मल्लले क्यानका कार्यबाहक सचिव प्रशान्त मल्लसँग फोनमा सम्वाद गरेका थिए, जसमा मल्लले वर्गीकरणमा नमिलेको विषयमा बसेर छलफल गर्ने आश्वासन दिएका थिए ।

तर कुनै खबर नआएपछि क्रिकेट खेलाडीहरुले ५ मंसिरमा क्यानमा लिखित रुपमै मागपत्र बुझाए । खेलाडीहरुले वर्गीकरणको मागदण्डबारे जानकारी नदिएको तथा विगतमा झैं कप्तान तथा उपकप्तानसँग छलफल नभएको गुनासो मात्र गरेनन्, थप माग पनि अघि सारे ।

यसअघि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको प्रति खेल ५० डलर भत्ता पाउने गरेकोमा अहिले किन ३५ डलरमा झारेको ? म्याच फी किन नदिएको भनेर प्रश्न गरेका छन् । खेलाडीहरुको विमा नगरिएको, फुटबल टोलीले सरकारबाट नगद पुरस्कार पाउँदा क्रिकेट टोलीले किन नपाएको भन्ने पनि प्रश्न गरेका छन् ।

क्रिकेटरहरुले टिमको फिजिओले राम्रो उपचार नगरेको बताएका छन् भने मुख्य प्रशिक्षकको पनि माग गरेका छन् । वर्गीकरणप्रति कुनै पनि खेलाडी सन्तुष्ट नभएको भन्दै ज्ञापनपत्रमा ७ दिनभित्र माग सम्बोधन गर्न समेत आग्रह गरिएको एक खेलाडीले बताए ।

त्यसपछि क्यानले ९ मंसिरमा खेलाडीहरुलाई छलफलमा बोलायो र आधिकारिक रुपमा जवाफ दिने बतायो । तर त्यसको तीन दिनपछि क्यानले १२ मंसिरमा खेलाडीहरुलाई ७२ घण्टे स्पष्टीकरण पत्र काट्यो । त्यसको जवाफ दिन पाउँदा नपाउँदै क्यानले सेन्ट्रल कन्ट्र्याकमा हस्ताक्षर नगरेका खेलाडीहरुलाई १ डिसेम्बरभित्र स्पष्टीकरण दिन दबाब दियो । १५ मंसिर अर्थात १ डिसेम्बरमै स्पष्टीकरण बुझाएका खेलाडीहरुले भने वर्गीकरण त्रुटिपूर्ण भएकाले सच्याउनुपर्ने पूर्ववत अडान दोहोर्‍याएका छन् ।

खेलाडीहरुले क्यानको अस्तित्व स्वीकारेनन् : कार्यवाहक सचिव मल्ल

क्यानका कार्यवाहक सचिव प्रशान्त मल्ल खेलाडी र क्यानबीच देखिने गरी नै विवाद बढेको स्वीकार गर्छन् । उनको आरोप छ, केही खेलाडीले क्यानको अस्तित्व स्वीकारेनन् ।

चतुरबहादुर चन्द नेतृत्वको वर्तमान कार्यसमितिले खेलाडीहरुलाई म्याच फी दिन थालेको, महिला क्रिकेटरहरुलाई सेन्ट्रल कन्ट्र्याकमा राखेर तलब दिन थालेको र कोरोना महामारीको बेलामा समेत प्रतियोगिता गराएको भन्दै उनले भने, ‘तर केही खेलाडीले क्यानको अस्तित्व नै स्वीकार गर्न नखोजेको देखियो ।’

खेलाडीहरुले बुझाएको ज्ञापनपत्रमा ७ दिनभित्र जवाफ दिनु भनेर धम्कीपूर्ण भाषा प्रयोग गरेको कार्यवाहक सचिव मल्लको आरोप छ । त्यसका बाबजुद आफूहरुले बोलाएर छलफल गर्दा पनि केही खेलाडीले सेन्ट्रल कन्ट्र्याकमा सम्झौता नगरेको भन्दै उनले भने, ‘उहाँहरुको गतिविधिलाई हेरिरहेका छौं । खेलाडीहरुलाई अनुशासनको मललब रहेन, यसबारे हामी छिट्टै निर्णयमा पुग्छौं ।’

१५ डिसेम्बरभित्र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिललाई खर्च विवरण पठाउनुपर्ने भएकाले खेलाडीहरुलाई १ डिसेम्बरसम्म सेन्ट्रल कन्ट्र्याकमा हस्ताक्षर गर्न भनिएको उनले बताए । कार्यवाहक सचिव मल्लले भने, ‘सोमपाल कामी ए ग्रेडमा नपरेको भनेर अनावश्यक विवाद गरिएको छ । उसले एउटाबाहेक अरु टुर्नामेन्ट खेलेको छैन, मापदण्ड पुगेको छैन भने कसरी हुन्छ ?’

मल्लले यदि कुनै खेलाडीलाई सेन्ट्रल कन्ट्र्याकमा चित्त नबुझे तलब नलिनसक्ने बताएका छन् । तर त्यसका नाममा हुने गुटबन्दी स्वीकार्य नहुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?