+
+
मेरो जीवनशैली :

पहिला शाकाहारी थिएँ, कोरोनापछि माछा-मासु खान थालें : मनोज गजुरेल

सम्झना विक सम्झना विक
२०७८ मंसिर २० गते १७:३७
फाइल तस्वीर

२० मंसिर, काठमाडौं । मनोज गजुरेल लामो समयदेखि हास्यव्यंग्य क्षेत्रमा सक्रिय छन् । विशेष गरी राजनीतिक दलका नेता, पूर्वराजा ज्ञानेन्द्र शाहदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसम्मको क्यारिकेचर गरेर गजुरेल अझै चर्चामा आए ।

रियालिटी शो ‘कमेडी च्याम्पियन’को निर्णायक समेत भएर काम गरेका गजुरेल केही समयअघि विवाह बन्धनमा बाँधिएका छन् । प्रतिभाशाली हास्य कलाकार गजुरेलको जीवनशैली कस्तो छ त ? यसै विषयमा अनलाइनखबरले गरेको कुराकानी ।

बिहान कति बजे उठ्नुहुन्छ ? उठ्ने तालिका नियमित छ वा छैन ?

बिहान ५ बजे उठिसक्छु । तालिकाभन्दा पनि आफैं आँखा खुल्छ त्यसबेला । अब तालिका नै भन्दा पनि होला ।

उठ्नासाथ के गर्नुहुन्छ ? मोबाइल चलाउनुहुन्छ वा पूजापाठ गर्नुहुन्छ ?

दुवै गर्दिन । उठ्ने बित्तिकै पहिला तीन गिलास तातोपानी खान्छु ।

बिहान फ्रेस भइसकेपछि योग-ध्यान वा एक्सरसाइज गर्नुहुन्छ ?

योग-ध्यानको लागि सधैं डेढ घण्टा छुट्याउने गरेको छु । एक्सरसाइज गर्छु । त्यसलाई जगिङ भन्न रुचाउँछु ।

बिहान ब्रेकफास्ट खानुहुन्छ कि हुन्न ?

खान्छु ।

ब्रेकफास्टमा के खानुहुन्छ ?

बिहानको नास्तामा फलफूल र काँचो तरकारीको सलाद बनाएर खाने गरेको छु ।

बिहानको खाना कति बजे खानुहुन्छ ?

काममा निस्किनु परेन भने १० बजेतिर खान्छु । यदि काममा निस्किएको छु भने मध्यान्ह १२ नै बज्छ ।

खानामा के रुचाउनुहुन्छ ?

त्यस्तो यही नै रुचाउने भन्ने छैन । घरमा जे पाक्यो त्यही खान्छु । विशेषगरी मलाई गुन्द्रुक र भात नै मन पर्छ ।

तपाईंको खानामा छुट्दै नछुट्ने चीज चाहिं के हो ?

भात नै हो नि ।

माछामासु कत्तिको खानुहुन्छ ?

मासुभन्दा पनि माछा नै बढी खान्छु ।

मदिरापान गर्नुहुन्छ वा हुन्न ?

मदिरापानमा रुचि छैन, त्यसैले गर्दिन ।

भान्सामा काम गर्न पनि जाँगर चल्छ कि ?

घरमा कोही नहुँदा गर्नैपर्ने अवस्था आए गर्छु । नत्र खासै जाँगर चल्दैन ।

त्यस्तो बेला तपाईंलाई आफैंले बनाएको कुन खानेकुरा बढी मन पर्छ ?

सोल्लर (मोहीको तरकारी) मलाई एकदम मन पर्छ । काट्नु पनि पर्दैन, मसला पनि चाहिंदैन । छिट्टो पाक्ने भएकाले सोल्लर मन पर्छ ।

रेष्टुरेन्ट पनि गइरहनुहुन्छ होला, घरमा बनाएको मीठो कि रेष्टुरेन्टको ?

आफैंले किन्नु पर्दा घरमा बनाएको । अरुले खुवाउँदा रेष्टुरेन्टकै मीठो हुन्छ (हाँसो) ।

एकदमै भोक लागेको तर खाना खाने अनुकूलता नमिलेको कुनै क्षण छ ?

कोरोना महामारीअघि नै पाँच वर्षदेखि म शाकाहारी थिएँ । त्यसबेला कार्यक्रमका लागि कोरिया जानुपर्ने भयो । टिकटमा खानाको अर्डरमा ‘हिन्दू मिल’ लेखिदिएछ, खानामा चिकेन ल्याइदियो । त्यसबेला म भोकै कोरिया पुगेको छु । अहिले फेरि माछामासु खान थालेको छु ।

घरमा कुचो लगाउने, सरसफाइ गर्ने, भाँडा माझ्ने, लुगा धुने काम आफैं गर्नुहुन्छ ?

अरु नहुँदा मैले नै गर्ने हो ।

घरबाट बाहिर निस्कनुअघि मेकअपमा कति समय लाग्छ ?

धेरै समय लाग्दैन । २ मिनेट १५ सेकेण्ड लाग्छ (हाँसो) ।

बाहिर हिँड्दा कस्तो लुगा लगाउन सहज लाग्छ ?

अनौपचारिक रुपमा हिँड्दा क्याजुअल मन पर्छ । औपचारिक कार्यक्रममा जाँदा सर्ट-पाइन्ट लगाउँछु । लुगा लगाउँदा कस्तो ठाउँमा जाँदैछु भन्नेमा पनि भर पर्छ ।

गरगहनामा कत्तिको आशक्ति छ ?

पटक्कै मन पर्दैन । शरीरले धातु रुचाउँदैन, ‘एन्टीधातु’ छ शरीर ।

तपाईं कस्तो सवारी साधन प्रयोग गर्नुहुन्छ ?

हुण्डाईको ग्राण्ड आई टेन ।

प्रायः तपाईंको दिन कसरी बित्छ ?

आफ्नै गजुरियल डटकम अनलाइन छ । त्यसैको अपडेटमा हुन्छु । अन्य काम परेको बेला बाहिर पनि जान्छु । बागबजारमा ब्राण्ड वर्थ कपनी पनि छ, त्यहाँ जान्छु ।

साँझ कति बजे घर फर्कनुहुन्छ ?

कार्यक्रम नहुँदा ५ बजे घर फर्किसक्छु ।

रातिको खाना कतिबेला खानुहुन्छ ?

८ बजेभित्र खाइसक्छु ।

रातिको खानामा के-के हुन्छ ? कस्तो खाना रुचाउनुहुन्छ ?

राति खाना खाइँदैन भन्दा पनि हुन्छ । रोटी खान्छु, भात खाँदिन । सलाद, जुस, सुप खान रुचाउँछु ।

कति बजे सुत्नुहुन्छ ?

सामान्यतया ९ बजे सुत्छु ।

लेखकको बारेमा
सम्झना विक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?