+
+

प्रकाशमान सहमत भए रामचन्द्र पौडेल सभापतिको उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते १६:२१

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहमा सभापतिको साझा उम्मेदवार छनोट सकसपूर्ण बनेको छ । नेताका अनुसार अब पूर्वमहामन्त्री प्रकाशमान सिंह सहमत भए रामचन्द्र पौडेल साझा उम्मेदवार बन्ने छन्, नभए टिम फुट्नेछ ।

पौडेल समूहबाट १४ औं महाधिवेशनमा सभापतिका चार आकांक्षी छन्, रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला ।

महामन्त्री डा. शशांक कोइरालाले सोमबारकै छलफलमा साझा उम्मेदवार बन्दा आफू दाबी छोड्न तयार रहेको बताएका छन् । वरिष्ठ नेता पौडेलले प्रकाशमान सिंह र शेखर कोइरालाबीच एक जनाको नाममा सहमति भए मान्ने, नभए आफूलाई समर्थन गर्न आग्रह गरेका छन् ।

तर पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्य कोइरालाबीच अहिलेसम्म कुनै सहमति हुन सकेको छैन । आकांक्षीहरुबीच सहमति हुन नसकेपछि पौडेल समूहका केन्द्रीय सदस्यहरुले साझा उम्मेदवार छान्ने अधिकार आफूहरुलाई दिन माग गरेका छन् ।

‘यदि प्रकाशमान सहमत हुनुभयो भने रामचन्द्र पौडेल साझा उम्मेदवार बन्नुहुन्छ, नभए साझा उम्मेदवार बनाउने प्रयास सकिन्छ,’ छलफलहरुमा सहभागी एक नेता भन्छन् ।

पौडेल हुन सक्छन् साझा उम्मेदवार

सभापतिका चार आकांक्षीलाई नबोलाइएको बिहीबारको एक बैठकमा केन्द्रीय सदस्यहरुबीच विभिन्न विकल्पमा छलफल भएको थियो । एउटै उम्मेदवार तय नगर्दासम्म जित्ने सम्भावना नरहेको तथा सिंह र कोइराला दुबैले अडान नछाडेको अवस्थामा वरिष्ठ नेता पौडेल नै साझा उम्मेदवार हुनसक्ने नेताहरुको विश्लेषण छ ।

बैठकपछि केन्द्रीय सदस्यहरुको प्रतिनिधिका रुपमा अर्जुनरसिंह केसी, बलबहादुर केसी र महेश आचार्य, पूर्वमहामन्त्री प्रकाशमानलाई भेट्न उनको निवास चाक्सीबारी पुगेका थिए । तर सिंहले आफ्नो नाममा सहमति हुनुपर्ने अडान राखेका छन् ।

आफ्नो नाममा किन सहमति हुन सक्दैन भन्ने प्रश्न गर्दै उनले भनेका छन्, ‘रामचन्द्रजीलाई मैले १३ औं महाधिवेशनमै छाडिसकेँ । शेखर कोइरालालाई सभापति छाडेर कसरी न्याय हुन्छ ?’ आफू सभापतिको उम्मेदवार बन्दा रामचन्द्र पौडेलबाहेक सबै नेता आफ्नो टिममा अटाउन सक्ने उनको तर्क छ ।

अर्को टोलीले डा. शेखर कोइरालासँग पनि सम्वाद गरेका थिए, उनी भने सकारात्मक देखिएका छन् ।

‘यदि प्रकाशमान सहमत हुनुभयो भने रामचन्द्र पौडेल साझा उम्मेदवार बन्नुहुन्छ, नभए साझा उम्मेदवार बनाउने प्रयास सकिन्छ,’ छलफलहरुमा सहभागी एक नेता भन्छन् ।

तर पूर्वमहामन्त्री सिंह पौडेललाई मान्न सहमत भएनन् भने के हुन्छ भन्ने अझै प्रष्ट भइसकेको छैन । यद्यपि त्यो अवस्थामा नेता पौडेलले चुनाव लड्ने सम्भावना कम देखिएको नेताहरु बताउँछन् । किनकी उनले सभापतिका अरु आकांक्षीलाई नउठ्नुस् भन्न सक्दैनन् र जित्ने सम्भावना पनि कम रहन्छ ।

यदि साझा उम्मेदवार तय हुन सकेन र वरिष्ठ नेता पौडेल उठेनन् भने यो समूहबाट प्रकाशमान सिंह र शेखर कोइराला सभापतिको उम्मेदवार हुन सक्छन् । त्यो अवस्थामा पदाधिकारीका अरु आकांक्षीहरु कसलाई रोज्ने भन्ने संकटमा पर्नेछन् । यो धेरै हदसम्म वरिष्ठ नेता पौडेल र महामन्त्री शशांक कोइरालाले कसलाई समर्थन गर्छन् भन्नेमा पनि भर पर्ने नेताहरु बताउँछन् ।

यद्यपि अझै पनि साझा उम्मेदवार छनोटको सम्भावना कायमै रहेको नेताहरु बताउँछन् । ‘अहिले पनि हामी छलफलमै छौं । साझा उम्मेदवार बनाउनुपर्छ, नभए जितिन्न भन्ने सबैले बुझेका छौं,’ एक नेता भन्छन्, ‘यो समूहबाट सभापतिमा साझा उम्मेदवार छनोट गर्न सक्छौं भन्नेमा म चाहिँ आशावादी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?