+
+

नबिल बैंकको ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते १८:३१

काठमाडौं । नबिल बैंकले आधिकारिक रुपमा ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ । ‘नबिल डिजिबैंक पोर्टल’ मार्फत् बैंकका ग्राहकहरूले एकद्वारमार्फत् अनलाइन सेवाहरू प्राप्त गर्न सक्नेछन् । ग्राहकलाई सहज र सरल बैंकिङ अनुभव प्रदान गर्न यस पोर्टलमार्फत् बैंकले आफ्नो उत्पादन/सेवालाई स्वचालित बनाएको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बिहीबार आयोजित एक कार्यक्रमकाबीच नबिल डिजिबैंक पोर्टलको शुरुवात गरेका हुन् । कम्प्युटराइज्ड बैंकबाट शुरु भएको यात्रा अब भने साँच्चिकै डिजिटल बैंकको रुपमा विकास भएको बैंकले बताएको छ ।
विगत ३७ वर्षमा विभिन्न उपलब्धि मध्ये नबिल डिजिबैंक पनि एक भएको बैंकको भनाइ छ । बृहत डिजिटल भिजन र रणनीति निर्माण गर्न अगस्ट २०२० मा उक्त परियोजना स्थापना गरिएको बैंकले बताएको छ ।

बैंकले नबिल डिजिबैंक पोर्टलमार्फत् उक्त परिकल्पनालाई साकार पार्दै वास्तविकतामा परिणत गर्ने दिशामा थप एक पाइला अघि बढाएको बैंकको भनाइ छ ।

नबिल डिजिबैंकमा अनलाइन फिक्स्ड डिपोजिट, डेबिट/क्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबोर्डिङ र रिटेल/एसएमई लोन आवेदन लगायत अनलाइन सेवा उपलब्ध छ । यसका साथै बैंकले आगामी दिनमा अन्य धेरै अनलाइन सेवाहरु थप गर्दै जाने योजना बनाएको छ ।

सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले भिडियो प्रमाणीकरणबाट खाता खोल्न सकिने (भिकेवाइसी) र भर्चुअल आईकार्ड लगायतका थप दुई नया अनलाइन सेवाहरु समेत सार्वजनिक गरेका छन् ।

भीकेवाईसीको शुरुवातसँगै ग्राहकहरूसँग केवाईसी प्रमाणीकरणका लागि बैंकको शाखा पुग्ने वा अनलाइनबाटै बैंकलाई आवश्यक विवरण पेश गर्ने दुई विकल्प उपलब्ध भएको बैंकले जनाएको छ । भीकेवाईसी छनौट मार्फत ग्राहकले क्यामेराको प्रत्यक्ष अगाडि बसेर आफ्नो परिचय वा पूर्व निर्धारित परिचयात्मक अभ्यास गरी ग्राहक पहिचान सम्बन्धी कार्य पुरा गर्नुपर्ने छ ।

बैंकका अनुसार नबिल भर्चुअल आईकार्ड नबिल स्मार्ट बैंक एपभित्र इमबोस्ड गरिएको सेवा हो । जसको माध्यमबाट ग्राहकले सजिलैसँग आफ्नो प्यान अपलोडगरी भर्चुअल आईकार्डका लागि आवेदन दिन सक्नेछन् । ब्यालेन्स टप–अप पनि गर्न सकिन्छ । ग्राहकको अनुरोध अनलाइनबाट प्रशोधन गरिन्छ । कार्ड विवरणहरू (कार्ड नम्बर, म्याद समाप्ती मिति, सीभीभी) सहित मोबाइल बैंक एप भित्र भर्चुअल कार्ड तुरन्तै जारी हुन्छ । भर्चुअल आईकार्ड (भारतिय रुपैया बाहेक) ई–कारोबारका लागि पनि प्रयोग गर्न सकिन्छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले नबिल बैंकको डिजिटल यात्राको शुरुवात मात्रै भएको बताए । उनले अन्य संस्थाहरूसँग सहकार्य गर्दै बिल भुक्तानी, यात्रा, खाना, किनमेल लगायत सुविधा समेत प्रदान गर्ने योजना रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?