+
+

‘किम्फ’ फिल्म फेस्टिभल शुरु, सोनम वाङचुकले गरे उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते १९:२१

२३ मंसिर, काठमाडौं । ‘काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ)को १९ औं संस्करण बिहीबार शुरु भएको छ । यसपटक कोरोना महामारीका कारण महोत्सवलाई हाइव्रिड शैलीमा आयोजना गरिएको छ ।

हिमाल एसोसिएसनद्वारा आयोजित यो महोत्सव मंसिर २७ गतेसम्म काठमाडौंको चावहिलस्थित चलचित्र विकास बोर्डको हलमा चल्नेछ । यो महोत्सवको उद्घाटन भारतको लद्दाखका चर्चित वातावरण अभियन्ता तथा रोलेक्स अवार्ड विजेता सोनम वाङचुकले किनोट स्पिचसहित गरे ।

डकुमेन्ट्री, फिक्सन, प्रयोगात्मक, सर्ट र एनिमेसन चलचित्र गरी यो महोत्सवमा २८ मुलुकका ६० भन्दा बढी चलचित्रलाई अनलाइन र प्रत्यक्ष रुपमा देखाइने छ । यसपटकको ‘किम्फ फेस्टिभल’को मुख्य थिम ‘क्लाइमेट कर्म’ राखिएको छ ।

महोत्सवको शुरुआतमा काइली रुडिकले निर्देशन गरेको १८ मिनेट लामो वृत्तचित्र ‘ड्रिम माउन्टेन’ प्रिमियर गरिएको थियो । एक बच्चाकी आमा समेत रहेकी नेपाली महिला हिमाल आरोही पासाङ ल्हामु शेर्पाले गरेको संघर्षपूर्ण हिमाल आरोहणको कथालाई यो चलचित्रमा देखाइएको छ ।

किम्फमा यो वर्ष ४० वटा चलचित्र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी छन् भने १३ चलचित्रले नेपाल पानोरमार्फत प्रतिस्पर्धा गर्नेछन् ।

महोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि वाङ्चुक हिन्दूकुश हिमालय क्षेत्रमा देखिएको जलवायु असरप्रति आफ्नो धारणा राखेका थिए । आमिर खानको चर्चित बलिउड चलचित्र ‘थ्री इडियट्स’ वाङचुककै जीवनबाट प्रभावित रहेको छ ।

उनले महोत्सवको उद्घाटनमा धारणा राख्दै जलवायु परिवर्तनबारे गम्भीर हुन सरकार र आम नागरिकलाई आग्रह गरेका थिए । उनले कार्यक्रममा भने, ‘सबै धर्मको मुख्य सार शान्ति र अहिंसा नै हो । कोरोना भाइरस महामारीले हामीलाई मानव सभ्यताप्रति गम्भीर बन्न र सोच्न सिकाएको छ । हो यसरी नै हामी वातावरणप्रति सचेत हुनुपर्छ ।’

उनले अगाडि भने, ‘मुख्य डिफेन्स भनेको जलवायु परिवर्तनलाई रोक्नु नै हो । यसतर्फ सरकारहरु केन्द्रित हुनुपर्छ । विश्वभर रक्षा बजेट दुई ट्रिलियन डलर छ । यो बजेटलाई कटौती गरेर जलवायुमा लगानी बढाउनुपर्छ ।’ उनले जलवायु परिवर्तनविरुद्ध सकारात्मक सन्देशहरु प्रवाह गर्नका लागि चलचित्र सुन्दर सिर्जना हुने धारणा राखे । उनले काठमाडौं घर आउँदा आफू निक्कै खुशी रहेको सुनाए ।

कार्यक्रममा बोल्दै अभिनेता एवं निर्देशक अनुप बराल, स्वीस फिल्ममेकर क्यारोलाइन फिंक र मारियो कासेलाले महोत्सवमा हेरेका चलचित्रले सबैलाई आफूभित्र फर्किएर हेर्ने सिकाउने बताए ।

कार्यक्रम आयोजक संस्था हिमाल एशोसिएसनका अध्यक्ष वसन्त थापाले जलवायु परिवर्तन यतिबेला विश्वको वास्तविक चुनौती रहेकाले यसपटकको महोत्सव नै जलवायु परिवर्तनका विषयमा केन्द्रित रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?