+
+

सन् २०२१ मा समाचार संकलनका क्रममा २४ पत्रकार मारिए

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते १९:२६

२३ मंसिर, काठमाडौं । सन् २०२१ पत्रकारका लागि खराब वर्ष बन्न पुगेको पत्रकारको अधिकारका लागि काम गर्ने अमेरिकास्थित संस्था ‘कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स’ ले जनाएको छ ।

कमिटी फर जर्नालिस्ट (सीपीजे) को पछिल्लो प्रतिवेदनअनुसार यो वर्षको सुरुदेखि डिसेम्बर १ सम्म विश्वभर २९३ जना पत्रकार जेलमा परेका छन् ।

सीपीजेले डिसेम्बर ९ तारेखमा प्रेस स्वतन्त्रता तथा मिडियामाथिको हमलासम्बन्धी आफ्नो वार्षिक सर्वेक्षण सार्वजनिक गर्दै समाचार संकलन (न्युज कभरेज) का क्रममा विश्वभर २४ पत्रकार मारिएको जनाएको छ । त्यस्तै, १८ जना अन्य पत्रकारले समाचार संकलनकै क्रममा ज्यान गुमाएका छन् ।

समाचार संकलनका क्रममा ज्यान गुमाउनेमध्ये भारतका फोटो पत्रकार दानिश सिद्दीकीदेखि मेक्सिकोका पत्रकार गुस्तावो सान्चेस क्याब्रेरासम्म छन् । कान्धाहारमा अफगान फौज र तालिबानबीचको भिडन्तबारे समाचार संकलन गर्ने क्रममा जुलाई १५ गते सिद्दीकीलाई गोली लागेको थियो ।

त्यस्तै जुन १७ गते गोली हानि क्याब्रेराको हत्या भएको थियो । डिजिटल पत्रिका ‘नोटिसियस मिनुटो अ मिनुटो’ का निर्देशक क्याब्रेरालाई मोटरसाइकलमा सवार रहेका बेला गोली हानिएको थियो ।

पत्रकारलाई थुनामा राख्नुको कारण मुलुकपिच्छे फरक-फरक रहेको पनि सीपीजेको प्रतिवेदनमा उल्लेख छ । तर जेलमा रहेका पत्रकारको संख्या हालसम्मकै धेरै देखिनुले स्वतन्त्र रिपोर्टिङप्रति बढ्दै गएको अहिष्णुतालाई देखाउँछ ।

‘सीपीजेले लगातार ६ वर्षदेखि जेलमा रहेका पत्रकारको लेखाजोखा गर्दै आएको छ’, सीपीजेका कार्यकारी निर्देशक जोएल साइमनले भने । जेलमा रहेका पत्रकारको बढ्दो संख्याले दुई वटा चुनौती दर्शाउने पनि साइमनको धारणा छ ।

‘यो संख्याले दुईटा जटिल समस्यालाई दर्शाउँछ अर्थात् केही मुलुक सूचनामाथि नियन्त्रण गर्न एवं प्रतिबन्ध लगाउन कम्मर कसेर लागेका छन् र यो कार्य निर्लज्जताका साथ भइरहेको छ’, साइमनले भने ।

सीपीजेको प्रतिवेदनअनुसार जेलमा रहेका पत्रकारमध्ये चीनमा सबैभन्दा धेरै अर्थात् ५० जना छन् । दोस्रो स्थानमा म्यानमार छ जहाँ २६ जना पत्रकारलाई हालिएको छ । तेस्रो स्थानमा रहेको इजिप्टमा २५ जना, चौथो स्थानमा रहेको भियतनाम २३ र पाँचौं स्थानमा रहेको बेलारुसमा १९ जना पत्रकारलाई जेल हालिएको छ ।

पश्चिमी गोलार्धमा पत्रकारका लागि सबैभन्दा खतरनाक मुलुक मेक्सिको हो । समाचारबाट अत्तालिएका आपराधिक गिरोह वा भ्रष्ट अधिकारीले प्राय: त्यहाँका पत्रकारलाई निशाना बनाउने गर्छन् ।

प्रेस स्वतन्त्रताको लामो इतिहास बोकेको पश्चिमी युरोपमा समेत पत्रकारमाथि बेला-बेला हमला हुने गरेको छ ।

जुलाई ६ मा नेदरल्याण्डसको राजधानी एम्सटर्डममा एक टेलिभिजन स्टुडियो बाहिरै चर्चित क्राइम रिपोर्टर पेटर आर दे विरीजलाई गोली हानिएको र ९ दिनपछि उनको मृत्यु भएको थियो । उक्त घटनामा संगठित अपराधको एक गिरोहको हात रहेको आशंका गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?