+
+

कांग्रेस महाधिवेशनको सम्भावित परिणामको प्रक्षेपण

डा. प्रदीप भट्टराई डा. प्रदीप भट्टराई
२०७८ मंसिर २५ गते १६:५०
काठमाडौंको भृकुटीमण्डपमा कांग्रेसको महाधिवेशनको रौनक

नेपालकै जेठो पार्टी नेपाली कांग्रेसको १४ औं महाधिवेशन राजधानी काठमाडौंमा जारी छ । देशका दुई राष्ट्रिय पार्टी नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनपछि आयोजना भैरहेको कांग्रेसको यो महाधिवेशन एमालेको जस्तो होला कि राप्रपाको जस्तो होला या त्यो भन्दा फरक होला ?

फरक भए के कति मानेमा फरक होला र त्यसले देशको राजनीतिलाई कत्तिको असर गर्ला ? आम मानिसमा नभए पनि राजनीतिको एउटा तह र विचार विनिर्माणको घेरामा रहेको एउटा तप्काले यी प्रश्नहरूको उत्तर पर्खिरहेको छ ।

नेताप्रधान संस्कृति

नेपाली कांग्रेस मूलत: अमेरिकामा जीओपी भनेर चिनिने ग्राण्ड ओल्ड पार्टी अर्थात् रिपब्लिकन पार्टी जस्तै हो । यो एक पुरातनवादी पार्टी नै हो । सामान्यत: पार्टी निर्माणको थेसिस के हो भने पहिला नीति बनाउने अनि त्यसको आधारमा नेता बनाउने । तर, कांग्रेस सुरूदेखि नै एन्टी थेसिसमा बनेको पार्टी हो । अर्थात् पहिला कांग्रेसले नेता पायो, त्यसपछि मात्र उनीहरूले नीति खोजे ।

कांग्रेसको जन्मताका नै अमेरिकी संविधानको पहिलो संशोधन भएको थियो । त्यही संशोधनमा समेटिएका पाँच आधारभूत अधिकारमध्ये चारलाई टपक्क टिपेर कांग्रेसले आफ्नो राजनीतिक सिद्धान्त बनायो । ती हरेक अधिकारलाई एक एक ताराले प्रतिनिधित्व गराएर चारतारे झण्डा बनायो । लगत्तै यूरोपमा प्रजातान्त्रिक समाजवादको लहर चल्यो । कांग्रेसले पनि त्यही चार खम्बे स्वतन्त्रतालाई प्रजातान्त्रिक समाजवाद भनिदियो ।

यसरी सैद्धान्तीकरण गरिएको कांग्रेस एन्टी थेसिसमा बनेको राजनीतिक पार्टी भएकाले यो नीतिप्रधान होइन, नेताप्रधान रहँदै आयो । सुरूवातमै यो कोइराला र कोइरालाविरोधी दुई खेमामा बाँडिएको थियो । आजपर्यन्त कांग्रेस त्यही मियोको आधारमा ध्रुवीकरण हुँदैआएको छ ।

गुटीय अभ्यासको पुस्तान्तरण

अहिले मूलत: कोइराला परिवारविरोधी खेमाको नेतृत्व देउवाले गरेका छन् र अहिले यो पार्टीमा संस्थापन पक्ष भएको छ। उता, कोइराला पक्षधरको नेतृत्व रामचन्द्र पौडेलले गरेका छन्, यो पक्ष अहिले संस्थापनइतर पक्ष हुन पुगेको छ। यी दुवैमा नअटाएकालाई जोडेर कृष्णप्रसाद सिटौलाले अर्को पक्ष बनाएका छन्। सिटौला पक्ष भनेर चिनिने यो समूहमा अरू दुई पक्षमा ठाउँ पाउँदा उतै जाने र नपाउँदा ओत लाग्न आउने खालको अभ्यास जारी छ । यो अभ्यासमा खासगरी तेस्रो र चौथो पुस्ताका नेता कार्यकर्ता भेटिन्छन् ।

कांग्रेसजनका यी गुट-उपगुटमा जिल्ला र क्षेत्रको राजनीति अनि व्यक्तिगत सम्बन्धका अन्य आयाम पनि जेलिएका छन् । सिटौला समूह सानो भएकाले यसमा खासै उपगुट नभए पनि देउवा र पौडेलका गुटमा अनेकौ उपगुट छन् ।

यसरी हेर्दा कांग्रेसमा विचारका हिसाबले कुनै ध्रुवीकरण छैन । पहिलो पुस्ताका नेतादेखि कायम रहँदै आएको व्यक्तिप्रधान गुट उपगुटको विरासत अहिले छोरापुस्तामा सरेको छ । एक किसिमले भन्दा कांग्रेस निर्दलीय चरित्रको पार्टी हो जहाँ व्यक्तिका पछि नेता कार्यकर्ता लाग्छन् र गुट-उपगुट बनाउँछन् । अनि, पार्टी तिनै गुट-उपगुटको कब्जामा जाँदा नीतिविहीन भएर नेताको वरिपरि घुमिरहन्छ । कांग्रेस जन्मजातै यो रोगको शिकार हुँदै आएको हो । यही क्रमले निरन्तरता पाउँदा यतिबेला कांग्रेस विचारविहीनको भिड बन्न पुगेको हो । अब कांग्रेसमा बाँकी भनेकै केही नेताहरूका तस्बिर, चारतारे झण्डा र बूढो रूख मात्रै छन् ।

कम्युनिष्टको क्रियाको प्रतिक्रियामा सीमित

मुलुकमा कम्युनिष्ट टुक्रिँदा कांग्रेसलाई त्यतिले मात्रै पनि सिंहदरबारमा पुर्‍याइहाल्छ, मिले भने सिंहदरबारबाट टाढा पुग्नुपर्छ । कम्युनिष्टमा टुटफुट र एकता एक किसिमको नियमित प्रक्रिया नै भएकाले उनीहरू आफैं कहिले कांग्रेसलाई सिंहदरबारमा पुर्‍याइदिन्छन्, कहिले बाहिर पठाइ दिन्छन् । कांग्रेसले क्रिया गर्नैपर्दैन, प्रतिक्रिया मात्र गरिदिए पुग्छ।

प्रस्तुत पृष्ठभूमिमा आयोजना भैरहेको कांग्रेस महाधिवेशनमा विचार माथि बहस हुने कुरै भएन । यद्यपि, आफूलाई प्रजातान्त्रिक विचारको वाहक ठान्ने कांग्रेससँग कुनै न कुनै किसिमको साइनो गाँसिएका केही बुद्धिजीवीहरूले विचारको कोणबाट बहस गर्न खोज्छन् । तर, विचार नै नभएको पार्टीमा त्यो बहस आधारविनाको तर्कनामा परिणत हुन्छ र महाधिवेनको सेरोफेरोमा उब्जिएर त्यसको आसपासमै कर्कलाको पानीझै बिलाउँछ। त्यसपछिको बाँकी चार वर्ष केही कुरै निस्कँदैन। सत्तामा हुँदा होस् वा बाहिर, कम्युनिष्ट आफैंले आवश्यकताअनुसार पक्ष विपक्ष भएर रमिता देखाइ हाल्छन्, उनीहरूले प्रतिक्रिया दिए मात्र पुग्छ ।

यसपटकको कुरा गर्ने हो भने त कांग्रेसी बुद्धिजीवीले त्यो कोणबाट तर्कना गर्ने जाँगर पनि खासै चलाएको देखिदैन । फलत: यो महाधिवेशन विचारको कोणबाट एक किसिमको निर्जीव महाधिवेशनजस्तै बन्न पुगेको छ । महाधिवेशन सुरू भैसकेको यतिबेला पनि लगभग एकैखाले समाचार आइरहेका छन्, संस्थापन र संस्थापन इतर समूहमा सर्वसम्मत उम्मेद्वारी हुन सकेको छैन, प्रयास जारी छ।

परिणामको सम्भावित प्रक्षेपण

कांग्रेसलाई नजिकबाट बुझेको दाबी गर्ने राजनीतिक पण्डितहरू के बताइरहेका छन् भने अनेक गुट उपगुटमा जेलिएको कांग्रेसको संस्थापन र संस्थापन इतर दुवै पक्षसँग ५० प्रतिशत मत छैन । उनीहरूको प्रक्षेपणमा सिटौलासँग थोरै भए पनि निर्णायक मत छ । अर्थात्, यतिबेला कांग्रेस सत्ताको साँचो सिटौलाको हातमा छ । पछिल्लो समाचारअनुसार सत्ता अंकगणितका माहिर खेलाडी देउवाले त्यो साँचो आफ्नो हातमा लिइसकेका छन् । यसका लागि सिटौला महामन्त्री, उपमहामन्त्री र केन्द्रीय सदस्यहरूका लागि थापेको च्याँखेदाउमा कामयाब भैसकेका छन् । यद्यपि, देउवाले आफ्नो मात्र जीतलाई ध्यानमा राखेर सिटौलालाई बढी नै दिएको भनेर उनकै कित्तामा विरोधको सामना गर्नुपरेको समाचार बाहिरिएको छ।

संस्थापन पक्षबाट विमलेन्द्र निधि पनि उम्मेद्वारबाट पछि नहटिरहेको यो अवस्थामा सिटौलाबाट थपिएको संख्याले निधिले घाटा लगाएको संख्या मात्र पनि सोधभर्ना हुन नसक्ने अवस्था देखिँदैछ। जसले गर्दा, संस्थापनको कोणबाट हेर्दा पनि कांग्रेसले पहिलो चरणमै आफ्नो सभापति पाउने छाँट देखाइरहेको छैन, परिणामका लागि दोस्रो चरण नै पुग्नुपर्ने जस्तो देखिन्छ ।

उता, संस्थापन इतर पक्षबाट पनि सर्वसम्मत उम्मेद्वारी हुने छाँट देखिएको छैन । देउवाले सिटौला मिलाइसकेको अवस्थामा जित्नलाई मात्र हैन, प्रतिस्पर्धा गर्न मात्र पनि एक मात्र उम्मेद्वार हुन जरूरी छ । यसका लागि सम्भावित उम्मेद्वार र नेतामाथि चर्को दवाव सिर्जना भएको छ । तर, पछिल्लो परिदृश्यले त्यस्तो सम्भावना लगभग सकिएको जस्तो देखिएको छ ।

खासगरी, गणेशमान पुत्र प्रकाशमान सिंह यसपटक सहमति हुन्छ भने चाक्सीबारीका पक्षमा हुन्छ, हुँदैन भने कसैको पक्षमा पनि हुँदिनँ भनेर लागिपरेका छन् । उनको चट्टानी अडानले रामचन्द्र पौडेलको संस्थापन इतर पक्षको सर्वसम्मत उम्मेद्वार हुने चाहनामा दर्शन ढुंगा लागेको छ। यो अवस्थामा संस्थापन इतर पक्षबाट शेखर कोइराला र प्रकाशमान सिंह उम्मेद्वार हुने सम्भावना बढ्दो छ ।

अहिलेसम्मको स्थिति हेर्दा यसपटक कांग्रेसमा सभापतिका लागि कम्तिमा चार उम्मेद्वार हुने अवस्था देखिन्छ । संस्थापन पक्षबाट शेरबहादुर देउवा र विमलेन्द्र निधि अनि संस्थापन इतर पक्षबाट शेखर कोइराला र प्रकाशमान सिंह । कांग्रेसमा उम्मेद्वार आकांक्षीको ठूलो भिड भएकाले चारैजनाले भरसक प्यानल बनाएर, नभए पनि आफ्नो प्यानलबाट धेरैभन्दा धेरै उम्मेद्वारी दिने सम्भावना बढ्दो छ। त्यस्तो गञ्जागोल माहौलमा को कुन प्यानलको उम्मेद्वार हुन्छ भन्न पनि सकिंदैन। यदि त्यस्तो भएमा पहिलो चरणमा निर्णय आउने सम्भावनाको पारो लगभग शुन्यमै पुग्छ । यो टिप्पणी लेखिरहेको बेला कल्याण गुरूङले सभापतिमा उम्मेद्वारी दर्ता गरिसकेका छन् । तर, उनको उम्मेद्वारी सांकेतिकभन्दा बढी हुने देखिँदैन ।

अब प्रश्न रहन्छ- यस्तो अवस्थामा पहिलो र दोस्रो मतभारका साथ दोस्रो चरणमा कुन कुन प्रत्याशी पुग्छन् त ? यो अवस्थामा पहिलो हुने त शेरबहादुर देउवा नै हुन् । किनकि उनले सिटौला मिलाइसकेका छन् ।विजय गच्छेदार उनैसँग छन्, राप्रपाका सुनील बहादुर थापा पनि उनीसँगै छन् । सरकार उनकै छ, पैसा पनि उनीसँग छ र राजनीतिक हिसाकिताब गर्ने क्याल्कुलेटर पनि बालुवाटारमै छ ।

यी सबै अनुकूलताले देउवालाई पहिलो चरणमै ५० प्रतिशत नपुगे पनि हाराहारीको मतले पहिलो बनाउँछ। विमलेन्द्र निधि चौथो हुनसक्छन् । किनकि, उनको मूल आधार मधेश हो । मधेशको चरित्र सत्तामुखी र पैसामुखी देखिन्छ । प्रदेश नम्बर २ को जिल्ला र क्षेत्रीय निर्वाचनको परिणामले पनि त्यसको ताजा तस्बिर प्रस्तुत गरिसकेको छ ।

अब प्रश्न बाँकी रहन्छ, दोस्रो चरणमा देउवासँग प्रतिस्पर्धा गर्न पहिलो चरणमा दोस्रो मत कसको पक्षमा आउला ? शेखर र प्रकाशमान चुनावमा जाँदा शेखरकै सम्भावना बढी देखिन्छ । पहिलो त कोइराला फ्याक्टर नै हो, दोस्रो प्रकाशमान बागी भएको सन्देश संस्थापन इतर पक्षमा गएको छ । तेस्रो रामचन्द्र, शशांकलगायतका नेताको समर्थन पनि शेखरलाई नै हुनेछ । चौथो शेखर यसबीचमा देशव्यापी दौडाहामा पनि निस्केका छन् र उनी कम परीक्षित उम्मेद्वार भएकाले खासगरी युवा मतदातामा उनीप्रतिको लगाव पनि छ ।

यसपछि दोस्रो चरणमा के हुन्छ ? भन्ने प्रश्न बाँकी रहन्छ । पल्ला त फेरि पनि देउवाकै पक्षमा भारी हुन्छ । त्यतिबेला भने निधि फ्याक्टर निर्णायक हुन सक्छ । देउवाले अर्को पालि पक्का भनेर आश्वासन दिए र निधिले पनि ठीकै छ नि त भनेर स्वीकारे भने फेरि पनि देउवा नै कांग्रेस सभापति हुनेछन् । हैन, यही बेला हो देउवासँग बदला लिने भन्ने ठाने भने देउवालाई अफ्ठ्यारो पर्न सक्छ।

यस्तो अवस्थामा बिच्किएका प्रकाशमान र उनको पक्षधरले के गर्छन् भन्ने पनि हुन्छ । अहिलेसम्मको वस्तुस्थितिलाई आँकलन गर्दा देखिने सम्भावित परिदृश्य हो यो । तर, यसका लागि कांग्रेस राजनीति सिधा बाटोमा हिंड्नुपर्छ। तर, दुर्भाग्य कांग्रेस राजनीति अन्तिम अवस्थामा बुमर्‍याङमा पर्दै आएको इतिहास छ ।

महाधिवेशन हो, पहिलो चरणबाट नभए पनि दोस्रो चरणमा प्रवेश गरेर कांग्रेसले आफ्नो नेतृत्व छान्छ नै। नेतृत्वमा जो आए पनि कांग्रेस मूलत: नेपालको जीओपी अर्थात् ग्राण्ड वल्ड पार्टी भएकाले विचारका हिसाबले फरक पर्ने हैन। व्यक्तिगत हिसाबले फेरि पनि संस्थापन पक्षले नै जित्दा कांग्रेस त्यही दिशा र गतिमा अगाडि बढ्दा थप भुत्ते हुने हो । संस्थापन इतरले जित्दा नयाँ सभापति आउँदा केही न केही मात्रामा फरक पर्न सक्छ भन्ने हो । कांग्रेसको स्वस्थ पार्टी जीवनका लागि भने देउवाको जित हैन, हार आवश्यक छ । देउवाबाट अब कांग्रेसले हासिल गर्न केही छैन, गुमाउने मात्र हो ।

नतिजामाथि नजर

तर, मुलुकको पछिल्लो तरल राजनीतिक स्थितिलाई मध्यजनर राख्ने हो भने कांग्रेसमा चुनिने नेतृत्वले देशको गति र दिशा नै फरक पर्न सक्ने सम्भावना देखिंदैछ । कारण, समीकरणको राजनीति आजका लागि नेपालको धरातलीय यथार्थ बन्नु हो । सत्ताका बाठा देउवालाई यो कुराको राम्रैसँग हेक्का छ ।

त्यसैले उनको जीत भयो भने उनी प्री-इलेक्सन समीकरणमै जान सक्छन् र अहिलेको पाँचदलीय गठबन्धन यथावत रहन सक्छ। तर, संस्थापन इतर पक्ष देउवाभन्दा फरक देखिनलाई पनि प्री-इलेक्सन गठबन्धन रूचाइ रहेको छैन । चुनाव एक्लै लड्ने र पछि आवश्यकताअनुसार पोष्ट-इलेक्सन गठबन्धनमा जाने उसको सोचाइ रहेको छ । यस कोणबाट हेर्दा भने कांग्रेस महाधिवेशनको म्याण्डेट मुलुकको लागि पेचिलो बन्ने संकेत देखिएको छ ।

आजको कोणबाट हेर्दा यी सबै अनुमान मात्र हुन् । तर, यी अनुमानका लागि विश्लेषणको केही भुईं छ । यथार्थचाँहि के हो भने महाधिवेशनबाट कांग्रेसले नयाँ नेतृत्व पाउँछ। त्योसँगै राजनीतिक गठबन्धनको सम्भावित चित्र र मुलुकको राजनीतिक गति र दिशा पनि छ्याङ्ग हुँदै जानेछ । अहिलेका लागि चाँहि कांग्रेस महाधिवेशनको प्रक्रियाभन्दा पनि परिणाम नै पर्खनुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment