+
+

‘केन्द्रीय सदस्य थिएँ,महामन्त्री भएर काम गर्न चाहें’

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते ६:४६

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिको भन्दा कम छैन महामन्त्री पदको प्रतिस्पर्धा । डा. प्रकाशशरण महत र डा. मिनेन्द्र रिजालसँगै युवा नेताहरु विश्वप्रकाश शर्मा, गगनकुमार थापा र प्रदीप पौडेल उम्मेदवार छन् । कृष्ण सिटौला समूहमा रहेका पौडेल, शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बन्दा विश्वप्रकाश शर्मा, प्रकाशमान सिंहको टिममा पुगे ।

महामन्त्रीका उम्मेदवार पौडेल भने आफूले गुट परिवर्तन नगरेको बताउँछन् । भन्छन्, ‘म जहाँ छु, त्यहीँ काम गरिरहेको छु । समूहको जे निर्णय हो, त्यसैलाई मानिरहेको छु ।’

प्रस्तुत छ, महामन्त्रीका उम्मेदवार पौडेलसँग अनलाइनखबरकर्मी रघुनाथ वजगाईंले गरेको कुराकानीको सम्पादित अंश :

महामन्त्रीमा उम्मेदवारी दिनु भएको छ, तपाईका एजेण्डा के-के हुन् ?

मैले भन्दै आएको छु, हाम्रो पार्टीभित्र व्यवस्थापनको विषय पनि छ । नियम, विधान कडाइका साथ लागू गर्नुपर्ने छ । पार्टीको आन्तरिक संरचनाहरुलाई निर्वाचनमुखी बनाएर परिचालन गर्न आवश्यक छ । पार्टीका संरचनामा रहेका साथीहरुलाई सामाजिक अभियानमा सहभागी गराउन आवश्यक छ । सँगसँगै पार्टीका साथीहरुका बीचमा एकता, हार्दिकता र सहकार्य हुन पनि आवश्यक छ । एकता, हार्दिकता नभएको अवस्थामा हामी लक्ष्यमा पुग्न सक्दैनौं । त्यो महसुस गराउने, त्यही खालको व्यवहार गराउने परिस्थिति हामीले निर्माण गर्नुपर्छ । सबैलाई योग्यता क्षमता अनुसार अवसर उपलब्ध गराउनुपर्छ ।

राष्ट्रिय मुद्दाहरुको सवालमा हामी प्रष्ट हुन जरुरी छ । कतिपय ठाउँमा अस्पष्टता देखिएको छ । त्यसैले मुद्दाहरुमा प्रष्ट भएर सबै समुदायका एजेण्डा र स्वार्थहरुलाई मुखरित गरेर नेपाली कांग्रेसलाई एउटा स्पष्ट दृष्टिकोण भएको पार्टीका रुपमा अगाडि बढाउने हेतुले मैले आफ्नो उम्मेदवारी प्रस्तुत गरेको हुँ ।

जितिसकेपछि यही विषयलाई संस्थागत गर्ने, कार्यान्वयन गर्ने र नेपाली कांग्रेसलाई अभ्यासमै लोकतान्त्रिक पार्टीका रुपमा अगाडि बढाउने प्रयत्न गर्नेछु ।
जित्छु भन्ने लागिसक्यो ?

जुन एजेण्डाहरू मैले अघि सारेको छु, त्यसका आधारमा जीत सुनिश्चित छ भन्ने लाग्छ ।

तपाईंले त पुस्तान्तरणको मुद्दा उठाउनुभएको थियो, सभापतिमा शेरबहादुर देउवा रोज्नुभयो ?

नयाँ भनेर हामीले तेस्रो पुस्तालाई छलाङ मारेर एकदम माथि लान सक्ने स्थिति थिएन । हाम्रो पार्टीभित्र आफ्नो खालको परिस्थिति छ । कांग्रेसले सरकार पनि चलाइरहेको छ । सरकारको नेतृत्व गरिरहनु भएका सभापति नै महाधिवेशनमा प्रतिस्पर्धी भएर आउनुभएको छ । पहिलो पुस्ताकै नेताहरु प्रतिस्पर्धी बन्ने परिस्थिति बन्यो । मतदाताहरु पनि त्यतैतिर आकर्षित भएको जस्तो देखियो ।

त्यसैले पार्टीभित्र आमएकता सिर्जना गर्न, साथीहरुबीच हार्दिकता बढाउन तथा नयाँ र पुराना मिलेर पार्टी चलाउन यो निर्णय (शेरबहादुर देउवा टिम रोज्ने) गरेको हुँ ।

आफ्नो स्वार्थका लागि गुट परिवर्तन गर्नुभयो भन्ने कतिपयको आरोप छ नि ?

मैले गुट परिवर्तन गरेको छैन । म जहाँ छु, त्यहीँ काम गरिरहेको छु । समूहको जे निर्णय हो, त्यसैलाई मानिरहेको छु । कि त हामीहरू हुनहुन्न भन्नपर्‍यो ! हामीलाई कसैले कुनै पदमा उम्मेदवारी दिन मिल्दैन भन्न पनि मिल्दैन होला । म छलाङ मारेर आएको पनि होइन । केन्द्रीय सदस्य थिएँ, महामन्त्री भएर काम गर्न चाहेँ । त्यसैले एकदम अस्वाभाविक छ भनेर भन्नु पूर्वाग्रही कुरा हो ।

कृष्ण सिटौला नेतृत्वको समूह शेरबहादुर देउवा टिममा विलय भएको होइन ?

मैले भनेँ नि त्यसलाई अझ बलियो, अझ मलजल गर्ने, अझ संगठित गरेर लिएर जानका निम्ति हामीले प्रयत्न गरिरहेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?