+
+

अमेरिकामा कोभिडबाट मृत्यु हुनेको संख्या ८ लाख नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते १२:०३

२७ मंसिर, काठमाडौं । अमेरिकामा कोभिड-१९ बाट मृत्यु हुनेको कुल संख्या ८ लाख नाघेको छ । त्यस्तै हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोड पुगेको छ ।

आइतबारसम्म अमेरिकामा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको रोइटर्सले जनाएको हो । समाचारअनुसार हालसम्म पाँच करोडभन्दा बढी मानिसमा कोरोना पुष्टि भएको छ ।

अमेरिकामा झण्डै दई महिनासम्म कोभिड संक्रमण घट्ने क्रममा थियो । तर पछिल्ला दुई हप्तामा दैनिक संक्रमितको संख्या बढ्न थालेको देखिन्छ । खासगरी भरमोन्ट, न्यू ह्यामशायर र मिचिगन जस्ता चिसो क्षेत्रमा संक्रमित बढ्न थालेका छन् ।

अस्पताल भर्ना हुने संक्रमितको संख्या पनि बढ्न थालेको समाचारमा उल्लेख छ । नोभेम्बरको अन्त्यमा मनाइने ‘धन्यवाद आदान-प्रदान’ (थ्याङ्क्सगिभिङ) पर्वयता अस्पताल भर्ना हुने कोभिड संक्रमितको संख्या २० प्रतिशतले बढेको छ । त्यस्तै, पछिल्लो महिना कोभिड संक्रमणबाट हुने मृत्यु ४. ६ प्रतिशतले बढेको छ ।

अमेरिकामा डेल्टा भेरियन्ट नै संक्रमणको प्रमुख कारण बनिरहेको अधिकारीहरूले बताएका छन् । तर नयाँ ओमिक्रोन भेरियन्ट फैलिने क्रम जारी छ । हालसम्म नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित दुई दर्जन बढी राज्यमा फेला परेका छन् । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रकी निर्देशक डा. रोचेल वालेस्कीका अनुसार ९९ प्रतिशत संक्रमित डेल्टाका छन् ।

वर्ल्डोमिटरका अनुसार कोभिड संक्रमित र मृत्यु हुनेको संख्या अमेरिकामा सबैधन्दा धेरै छ । पछिल्लो विवरण अनुसार त्यहाँ हालसम्म पाँच करोड ८० लाख १ हजार ४५५ जनामा संक्रमण पुष्टि भएको छ भने आठ लाख १७ हजार ९५६ जना संक्रमितको मृत्यु भएको छ ।

संक्रमित धेरै रहेको मुलुकमा भारत दोस्रो स्थानमा छ । त्यहाँ हालसम्म ३ करोड ४६ लाख ९७ हजार ८६० जनामा भाइरस पुष्टि भइसकेको छ भने चार लाख ७५ हजार ६३६ जनाको मृत्यु भएको छ । तर मृतकको संख्या हेर्दा ब्राजिल दोस्रो स्थानमा छ । ब्राजिलमा हालसम्म ६ लाख १६ हजार ९४१ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?