+
+

भन्सारको राजस्व भुक्तानी अब अनलाइनबाट

भन्सार कार्यालयहरुबाट संकलन गरिने सबै प्रकारका राजस्व अब अनलाइन प्रणालीमा आधारित हुने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते १६:४०

२७ मंसिर, काठमाडौं । भन्सार कार्यालयहरुबाट संकलन गरिने सबै प्रकारका राजस्व अब अनलाइन प्रणालीमा आधारित हुने भएको छ । वार्षिक ५ खर्ब हाराहारीमा संकलन हुने यस्तो राजस्व नगदरहित ढंगबाट संकलन गर्ने पूर्वाधार निर्माण अन्तिम चरणको परीक्षणमा रहेको भन्सार विभागले जनाएको छ ।

आयात तथा निर्यात हुने वस्तुमा लाग्ने सरकारी दस्तुर व्यापारीले घरमै बसेर तिर्न सक्ने अनलाइन प्रणालीमा आधारित डिजिटल प्रणालीको परीक्षण शुरु गर्न लागेको भन्सार विधागका सूचना अधिकारी पुण्य बिक्रम खड्काले बताए ।

पहिलो चरणमा पर्साको वीरगञ्जस्थित सिसिर्या सुख्खा बन्दरगाहमा पुस १ गतेबाट र माघ १ गतेदेखि सबै भन्सारमा यो सेवा शुरु हुने उनले बताए । ‘सुख्खा बन्दरगाहको नगदरहित सेवा पुस १ गतेबाट थालनी गर्नेगरी पूर्वाधारमा काम भइरहेको छ । वीरगञ्ज भन्सार कार्यालयसहितमा यो सेवा माघ १ गतेबाट शुरु गर्ने तयारी गरिएको छ,’ सूचना अधिकारी खड्काले भने ।

आयात निर्यातमा काम गर्ने व्यवसायीले आफ्नो बैंक खाताबाट सिधै सरकारको राजस्व खातामा रकम जम्मा गर्नेगरी यस्तो प्रणाली शुरु गर्न लागिएको उनले बताए । माघ १ गतेदेखि पूर्ण नगदरहित सेवाका लागि सम्पूर्ण तयारी सकिएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले बताए ।

अहिले अनलाइन र नगद भुक्तानीमार्फत व्यावसायीले राजस्व दाखिला गर्दै आएका छन् । आसिकोडा वल्र्ड भन्सार प्रणाली मै जाडिएको भुक्तानी प्रणालीमार्फत नगदरहित सञ्चालनमा आउने छन् । अहिलेसम्म आसिकोडा तथ्यांकका आधारमा महालेखाको राजस्व दाखिलासम्बन्धी फारम १०८ बाट रिपोर्ट तयार गरेर अर्को कार्यदिनमा राष्ट्र बैंक भएर रिम्स (रेभिन्यू म्यानेजमेन्ट इन्फरमेसन सिस्टम) पठाउने गरिन्छ ।

अहिले नगदरहित सेवाका लागि महालेखा, अर्थ, आन्तरिक राजस्व र बैंकहरुलाई एकीकृत गरेर भूक्तानी प्रणाली तयार गरिएको पौडेल बताउँछन् । यो प्रणालीपछि गरिने भुक्तानी रियल टाइम राजस्व प्रणालीमा आउने उनको भनाइ छ ।

नगदमा हुने जोखिम घट्छ : निजी क्षेत्र

दुई ठूला भन्सार कार्यालयमा शुरु गर्न लागिएको नगदरहित सेवाको निजी क्षेत्रले स्वागत गरेको छ । लामो समयदेखि निजी क्षेत्रले उठाउँदै आएको मुद्दा समाधान हुन लागेको भन्दै नेपाल समुद्रपार निकासी पैठारी संघले देशैभरका भन्सारमा यो सुबिधा पुर्‍याउन माग गरेको छ ।

राजस्व राफसाफका लागि भन्सार एजेन्टलाई नगद पठाएर बुझाउने प्रक्रियाले निम्त्याउने जोखिम नगदरहित सेवाले हटाउने संघका प्रथम उपाध्यक्ष विकासकुमार सेठियाले बताए । भन्सार तिर्न पठाएको नगद कयौं पटक हुण्डी भन्दै समातिएको भन्दै उनले अब व्यवसायीले दुःख नपाउने आशा व्यक्त गरे ।

‘हामीले पहिले पैसा एजेन्टलाई पठाउने वा आफैं जानु पर्ने अवस्था थियो, दशौं लाख रुपैयाँ बोकेर जानु पर्ने जोखिम र कसैको नियत लाग्दा हुण्डी भन्दै दुःख पाइन्थ्योे,’ सेठियाले थपे, ‘यो व्यवस्था राम्रो छ ।’ भन्सार र बैंकको कार्यदिन र समय फरक हुने भएकाले यो व्यवस्थापन भने चुस्त हुनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?