+
+

राप्रपा अध्यक्ष लिङ्देनलाई कमल थापाको पत्र : पूर्वराजाको हस्तक्षेपबारे छानबिन गर्नुहोस्

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते १७:३७

२७ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेर पार्टीको महाधिवेशनमा पूर्वराजाको हस्तक्षेपबारे छानबिन गर्न माग गरेका छन् ।

सोमबार लिङ्देनलाई पत्र लेखेर थापाले भनेका छन्, ‘पार्टी नेतृत्वको निर्वाचनमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेपबारे छाननि गर्न निष्पक्ष छानविन समिति बनाउनुहोस् । हस्तक्षेपत्रको भर्त्सना गर्नुहोस् । भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्नुहोस् । राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका बारेमा पार्टीत्रि बहस शुरु गर्नुहोस् ।’

थापाले अध्यक्ष निर्वाचित भएकामा लिङ्देनलाई बधाई पनि दिएका छन् ।

हेर्नुहोस् थापाको पत्र

श्रीमान् अध्यक्षज्यू
राष्ट्रिय प्रजातन्त्र पार्टी
केन्द्रीय कार्यसमिति, काठमाण्डौ

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनबाट अध्यक्षको गरिमामय पदमा निर्वाचित हुनुभएकोमा फेरि पनि हार्दिक बधाई । सफल कार्यकालको शुभकामनासहित देहायका विषयमा तपाईंको ध्यान आकर्षित गर्न यो पत्र प्रेषित गरेको छु ।

१) राप्रपा महाधिवेशनबाट केन्द्रीय नेतृत्वको निर्वाचनको क्रममा पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवास सचिवालयले गरेको हस्तक्षेप (जसको हामीसंग यथेष्ट प्रमाण छ) अब जगजाहेर भइसकेको छ । स्वयं पूर्वराजाको प्रत्यक्ष निर्देशनमा उहाँका सचिवहरू र नातेदारहरूले राजाको चाहना भन्दै महाधिवेशन प्रतिनिधिहरुलाई दवाव दिने तथा प्रभाव र प्रलोभनमा पार्ने काम खुलारूपमा भयो । पार्टीको आन्तरिक मामिलामा पार्टी ईतर शक्तिबाट भएको हस्तक्षेप अमर्यादित, अवाञ्छनीय र निन्दनीय रहेको छ ।

महाधिवेशनको बन्दसत्रमा “राजनीति भन्दा माथि रहने तीन करोड नेपालीको साझा संस्थाका रूपमा राजसंस्था” पुनर्स्थापना गर्ने नीतिबारे छलफल भइरहँदाको समयमा निर्मल निवासबाट भएको हस्तक्षेपको परिणामस्वरुप राप्रपाले अवलम्वन गर्दै आएको राजसंस्थासम्बन्धी आधारभूत मान्यतामाथि नै गम्भीर आघात पुगेको छ ।

राप्रपाले परिकल्पना गरेको राजसंस्था पार्टीगत राजनीति भन्दा माथि उठेको सबैको विश्वास र आस्था आर्जन गर्न सक्ने तथा अभिभावकीय हैसियतमा रहने एउटा आदर्श संस्था हो । नेपालको भूराजनीतिक अवस्था र धार्मिक, सामाजिक, सांस्कृतिक परिवेशमा राष्ट्रियता र एकताको प्रतीकको रूपमा राजसंस्था आवश्यक छ भन्ने राप्रपाको सुस्पष्ट र दृढ धारणा हो । यो मान्यताको उल्लंघन गर्दै निर्मल निवास स्वयंले राप्रपाको आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप गरेको छ । यो घटनापछि राजसंस्थाको पक्षमा वकालत गर्ने राप्रपाको नैतिक धरातल समाप्त भएको छ । शत प्रतिशत राजावादीहरू भएको दलमा त पूर्वराजाको हस्तक्षेप हुन्छ भने भोलि राप्रपाको परिकल्पना अनुरूप “राजसंस्था स्थापित भयो भने राजाबाट अन्य दल र राजनीतिमा हस्तक्षेप हुँदैन तथा विगतमा झैं प्रजातन्त्र मास्ने काम हुँदैन भन्ने के ग्यारेण्टी छ?’ भनी प्रश्न गर्नेहरूलाई हामीले के र कसरी जवाफ दिने ?

२) यो घटना पछि राप्रपाको चरित्र र छविमाथि पनि प्रश्नचिह्न खडा भएको छ । नेपालको संविधान २०७२ जारी भएपछि संविधान र संवैधानिक व्यवस्थासंग सहकार्य गर्दै जनताको अभिमतबाट राजसंस्था स्थापित गर्ने मेरो नेतृत्वमा रहेको राप्रपाले लिएको नीतिप्रति निर्मल निवास शुरू देखि नै असहमत र असन्तुष्ट रहँदै आएको थियो । राजसंस्था पुनःस्थापनको निम्ति राजनीतिक दलहरूसंग सम्बन्ध सुधार गर्ने, जनताको विश्वास आर्जन गर्ने कार्यको सट्टा कहिले बिदेशीको मुख ताक्ने अनि कहिले राजनीतिक अस्थिरता खडा गर्ने तर्फ मात्र निर्मल निवास केन्द्रित रह्यो । अहिले आएर पुनः देशमा अस्थिरता सिर्जना गरी धमिलो पानीमा माछा मार्ने डिजाइन अन्तर्गत राप्रपा नेतृत्व कब्जा गर्न खोजिएको हो । यस कार्यमा मबाट सहयोग नहुने देखिए पछि लामो समयसम्म मेरो अभिन्न सहकर्मी रहनुभएका तपाईंलाई हतियारका रूपमा प्रयोग गर्न खोजिएको छ । पहिले नै तयार गरिएका केही “भजन मण्डली” संग राप्रपालाई मिसाएर निहित स्वार्थ पूरा गर्ने माध्यम बनाउन खोजिएको छ । यस कार्यबाट एउटा भरपर्दो र बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिका रूपमा स्थापित हुन चाहने राप्रपाको चाहना सधैंका लागि कुण्ठित हुनेछ । लामो संघर्षपछि फरक बिचारधारा बोकेर पनि राष्ट्रिय राजनीतिको मूलधारमा वैकल्पिक प्रजातान्त्रिक शक्तिका रूपमा ससम्मान स्थापित हुन लागि रहेको राप्रपालाई पुनः प्रतिगामी कित्तामा धकेल्ने छ ।

३) पार्टीको आन्तरिक प्रतिस्पर्धामा हस्तक्षेप गर्ने यस कार्यबाट राप्रपालाई “रिमोट कन्ट्रोल”बाट चलाउन चाहने निर्मल निवासको नियत पनि उदाङ्गो भएको छ । अब पार्टी नेतृत्वमा आउन चाहनेले पार्टी संगठनमा योगदान पुराएर वा कार्यकर्ताको मन जितेर होईन, निर्मल निवासका सचिवहरूको चाकडी गर्नु पर्ने प्रवृत्ति र अवस्था सिर्जना गर्न खोजिएको छ ।

४) यहां प्रश्न हार वा जितको होइन । मेरो यो अभिव्यक्तिलाई चुनावमा हार पछिको आक्रोशको रूपमा नबुझि दिन विनम्र आग्रह गर्दछु । मैले जितेको भए पनि निर्मल निवासको यो हस्तक्षेप कदापि स्विकार्य वा उपयुक्त ठहरिने थिएन । एउटा खेलाडी भएको नाताले हार वा जितले मलाई केही फरक पार्दैन । हारलाई पनि सहर्ष स्वीकार गरेर फेरी अर्को प्रतिस्पर्धाको निम्ति तयार रहने संस्कार मेरो रगतमा रहेको छ । राप्रपाको आन्तरिक मामिलामा निर्मल निवासको हस्तक्षेपको यो पहिलो घटना पनि होइन । २०७४ सालमा पार्टी फुटाउन र विगत केही समय यता तथाकथित “भजन मण्डली” खडा गरेर पार्टी नेतृत्वको चरित्रहत्या गर्ने र राप्रपाका वारेमा भ्रम सिर्जना गर्ने गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै आएको सर्वविदित छ ।

सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बांधेर राजसंस्थाको एजेण्डा बोकेर हिड्ने मुख्य व्यक्ति त कोपभाजनमा पर्दछ भने निर्मल निवासको अगाडि कोही पनि सुरक्षित छैन । तपाई पनि हुनहुन्न । तपाईको योग्यता र क्षमताबाट म प्रभावित छु । तर, ढिलो चांडो तपाई पनि यो प्रवृत्तिको शिकार अबश्य हुनु हुनेछ । पार्टी भित्र यस्तो अवस्था सिर्जना हुनु दुर्भाग्यपूर्ण छ ।

उपरोक्त तितो यथार्थ प्रति गंभीर हुन म तपाईको ध्यान आकर्षित गर्दछु । पार्टीको वृहत्तर हित र एकताको पक्षमा म मन वचन र कर्मले प्रतिवद्ध छु । यो पार्टीमा मेरो रगत पसिना वगेको छ । मलाई राप्रपाको धेरै माया छ । पार्टीका हजारौ कार्यकर्ताहरूको भविष्यको मलाई चिन्ता छ ।

२०६२/६३ को आन्दोलन पछि सबैले राजालाई छाडेर हिँडे । राजाले प्रधानमन्त्री, मन्त्रि बनाएका तथा राजाको निगाहा पाएका सबै परिवर्तन समयको माग हो, गणतन्त्र जनताको चाहना हो भन्दै नदीको प्रवाहसंगै वगेर जान रूचाए । केही सिमित निष्ठावान साथीहरूको आडभरोसामा मैले राजालाई बोकेर हिंडे, राजाको प्रतिरक्षा गरें, जन अभिमतबाट राजसंस्था पुनःस्थापित गर्ने अधिकार सुनिश्चित गरें । तपाईहरू पनि यो अभियानमा जोडिनु भयो । हिजो गणतन्त्रको गित गाउनेहरूलाई पनि फर्काउन सफल भयौं । तर, अहिले पुर्व राजा ज्ञानेन्द्र र निर्मल निवासको पछिल्लो कारवाहीले मेरो मुल्य मान्यताको आधार र धरोहर एकैपटक तहस नहस भएको छ । राजा बोकेर हिंडने राप्रपाको नैतिक धरातल समाप्त भएको छ ।

मैले माथी उल्लेख गरेका विषयहरूलाई चुनावमा हार जीतको विषय नठानेर पार्टीको मान्यता र भविष्य माथी आईलागेको जटिलताको रूपमा बुझ्न र त्यसको निराकरण गर्न अध्यक्षज्यु समक्ष म सविनय अनुरोध गर्दछु । पार्टी नेतृत्वको निर्वाचनमा पुर्व राजा र निर्मल निवासको हस्तक्षेप वारे छनाविन गर्न निष्पक्ष छानिवन समिति बनाउनु होस् । हस्तक्षेपको भत्सर्ना गर्नुहोस् । भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्नुहोस् । राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका वारेमा पार्टीभित्र बहस शुरू गर्नुहोस् । यसो गर्न सक्नुभयो भने पार्टी एकता पनि कायम रहन्छ र पार्टीको भविष्य पनि सुनिश्चित हुन्छ । यस कार्यमा मेरो पूर्ण सहयोग हुनेछ । यस सम्बन्धमा केन्द्रीय कार्यसमितिले गर्ने बहुमतको निर्णय मेरो लागि शिरोधार्य हुनेछ ।

यो विषयको निराकरण नभए सम्म पार्टीले कुनै गति लिन सक्दैन ।
धन्यवाद,

कमल थापा
निवर्तमान अध्यक्ष
राष्ट्रिय प्रजातन्त्र पार्टी
२०७८ मंसिर २७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?