+
+

सुन तस्करी प्रकरण : सुटुक्क हाजिर भएका मोहन अग्रवाल धरौटीमा छुटे 

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते २१:०७

२७ मंसिर, विराटनगर । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका  मुख्य आरोपीमध्येका एक एमके मामा भनिने मोहनकुमार अग्रवाल जिल्ला अदालत मोरङमा हाजिर भएलगत्तै धरौटीमा छुटेका छन् ।

सुन तस्करी प्रकरणका मुख्य योजनाकार चुणमणि उप्रेती गोरेले आयात गर्ने सुनको लगानीकर्ता अग्रवाल रहेको सरकार पक्षको दाबी थियो । २०७४ साल माघ १९ गते शाक्यको हत्या भएलगत्तै अग्रवाल फरार थिए ।

सोमबार आफ्ना कानुन व्यवसायीमार्फत अदालत उपस्थित भएकै दिन थुनछेक बहसपछि ३ लाख रुपैयाँ धरौटी बुझाएर उनी  छुटेका हुन् । ५७ वर्षीय अग्रवाल सुनसरीको धरान उपमहानगरपालिका–३ का बासिन्दा हुन् ।

सोमबार हाजिर भएका अग्रवाललाई न्यायाधीश भरत लम्सालको इजलासले ३ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका श्रेस्तेदार टीकेन्द्रवीरजंग राणाले बताए   ।

२२ मंसिर गते लम्सालको इजलासले तस्करीको सुनको लगानीकर्ता भनी आरोपित काले भनिने कृष्णगोपाल अग्रवाललाई २ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

७७ जना प्रतिवादी रहेको सुन तस्करी र शाक्य हत्याको मुद्दामा जिल्ला अदालतले असोज १९ गते फैसला सुनाउँदा ५६ जना प्रतिवादीले सफाइ पाएका थिए । २१ जना फरार थिए । फरारमध्ये हाजिर हुन आएका दुई जना धरौटीमा छुटेका हुन् ।

जिल्ला अदालत मोरङले सुन तस्करी प्रकरणसँगै जोडिएको सनम शाक्य हत्याको चूडामणि उप्रेतीसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाएको थियो । भारतीय नागरिक राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजायको फैसला भएको थियो ।

तस्करीको सुन हराएपछि गोरेको समूहले भरिया सनम शाक्यको २०७४ साल फागुन १८ गते   मोरङको उर्लाबारी नगरपालिका–१ मा करेन्ट लगाएर यातना दिएर  हत्या गरेको थियो । हत्याको  भोलिपल्ट विराटनगरबाट उनको शव बरामद भएको थियो ।

हत्याको अनुसन्धानका क्रममा सन् २०१५ जुलाइदेखि २०१६ अगस्टसम्ममा दुबइदेखि नेपालमा करिब ३८ क्वीन्टल सुन तस्करी भएको कागजातमा देखिएको थियो । तर अदालतले भने  ठोस प्रमाण नभेटिएको भन्दै  तस्करी मुद्दामा ५६ जनालाई नै सफाइ दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?