
२७ मंसिर, काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले सोमबारदेखि दक्षिणपूर्वी एसियाली मुलुकको भ्रमण गरेका छन् ।
बेलायतमा सम्पन्न जी-७ राष्ट्रका विदेशमन्त्रीको बैठकलगत्तै दक्षिणपूर्वी एसिया आएका ब्लिङ्केनले आफ्नो भ्रमणका क्रममा इन्डो-प्यासिफिकसम्बन्धी अमेरिकी नीतिबारे चर्चा गर्ने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । सोमबार जाकार्ता आइपुगेका उनले आजै इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँग भेटघाट गर्ने कार्यतालिका समेत छ ।
त्यस्तै, मंगलबार बाइडेनले ‘इन्डो-प्यासिफिकप्रति अमेरिकी नीति’नामक कार्यक्रमलाई सम्बोधन गर्नेछन् । इन्डोनेसियापछि उनी मलेसिया र थाइल्याण्डको भ्रमणमा जानेछन् ।
दक्षिणपूर्वी एसियाली नेतासँगको छलफलका क्रममा विदेशमन्त्री ब्लिङ्केनले दक्षिण चिनियाँ सागरमा चीनको बढ्दो गतिविधिविरुद्ध क्षेत्रीय स्तरमा कसरी जुध्ने भनेर समेत चर्चा गर्नेछन् । त्यस्तै, फेब्रुअरीको सैनिक कूपछि अस्थिर बनेको म्यानमारबारे समेत कुराकानी हुने समाचारमा उल्लेख छ ।
इन्डो-प्यासिफिक क्षेत्रप्रति अमेरिकी राष्ट्रपति जो बाइडेनको रणनीति यसअघि ट्रम्पको रणनीतिभन्दा आधारभूत रुपमा फरक छैन । चीनले आक्रामक उपस्थिति देखाइरहेका बेला उक्त क्षेत्र खुला एवं स्वतन्त्र हुनुपर्नेमा अमेरिकाले जोड दिँदै आएको छ ।
तर बाइडेनको टिमले बेइजिङलाई ‘काउन्टर’ दिने गरी गठबन्धन निर्माण कार्यमा विशेष जोड दिएको देखिन्छ। सम्पूर्ण दक्षिण चिनियाँ सागरमा बेइजिङले दाबी गरेपछि उक्त क्षेत्रमा तनाव देखिँदै आएको छ । सागरसँग जोडिएका कैयौं दक्षिणपूर्वी एसियाली मुलुकले विरोध जनाउँदै प्रतिदाबी गरेपछि तनाव थप चर्किन पुगेको छ ।
प्रतिक्रिया 4