+
+

कसरी चल्ला संसदको हिउँदे अधिवेशन ?

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते ११:५३

२८ मंसिर, काठमाडौं । आज (मंगलबार)बाट संघीय संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ । विधेयक अधिवेशनका रुपमा समेत लिइने यो अधिवेशन कसरी जाला ? यकिन दृष्य देखापरेको छैन । किनभने संसद सौहार्द हुनेमा आशंका छ ।

संसद सचिवालयका अनुसार संसद सञ्चालनकै विषयमा छलफल गर्न मध्याह्न १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद सञ्चालनको गतिरोध खोल्नेमा पनि आशंका छ । किनभने एमालेले संसद संचालनका सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्नि प्रसाद सापकोटासँग एक्लै छलफल गर्न चाहेको छ । त्यो अवसर प्राप्त नभएको बताउँछिन् एमालेकी सचेतक शान्ता चौधरी ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले अघिल्लो अधिवेशनको पूरै अवधि संसदको कामकारबाहीमा भाग लिएको थिएन । कारण– पार्टीका १४ जना सांसदलाई गरेको कारबाहीको सूचना सभामुखले टाँस्नुपर्ने उसको माग छ । उसले यही प्रश्न उठाइरह्यो । परिणामत नाराबाजीबाट शुरु भएको अधिवेशन नाराबाजीमै सकिएको थियो । अहिले पनि आफूहरुको माग पूरा नभएकाले हिउँदे अधिवेशनमा पनि अवरोध निन्तर रहने बताउँछिन् एमालेकी सचेतक चौधरी ।

संसद सञ्चालनका विषयमा सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा र सभामुख सापकोटाले संसद संचालनको विषयमा प्रमुख प्रतिपक्षी दलसँग कुनै प्रकारको छलफल नगरेको चौधरीको भनाइ छ । ‘प्रधानमन्त्री देउवाले हाम्रो पार्टीसँग संसदको गतिरोधका विषयलाई लिएर छलफल गर्न नै चाहिरहनुभएको छैन । सभामुखको हर्कत हामीविरुद्ध छ’ चौधरीले भनेकी छन् ।

तर, अघिल्लो अधिवेशनमै प्रधानमन्त्री देउवा र सभामुखले सर्वदलीय बैठक राखेर एमालेलाई मनाउने प्रयास गरेका थिए । १४ असोज २०७८ मा प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका थिए । तर, आफूहरूको मुद्दा सभामुख र सरकारसँग भएकाले सर्वदलीय बैठकको औचित्य छैन भन्दै एमाले सहभागी नै भएन ।

सभामुखले पनि संवादको पहल नगरेका होइनन् । उनको पहल सफल हुन सकेको थिएन । संसदमा निरन्तर अवरोध र आफूविरुद्ध नाराबाजी चलेपछि सभामुख सापकोटाले २८ जेठ २०७८ मा संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक राखे । तर, एमाले त्यो बैठकमा पनि सहभागी भएको थिएन ।

सभामुखको संकेत के ?

संसदको हिउँदे अधिवेशन सुरु हुनुअघि सभामुख सापकोटाले अघिल्लो अधिवेशनमा एमालेले गरेको संसद अवरोध नियम र कानुन अनुसार नभएको बताएका छन् ।

सोमबार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा सभामुख सापकोटाले पत्रकारहरुसँग भनेका छन्, ‘उहाँहरु (एमाले)ले जे गरिराख्नुभएको छ त्यो संविधान, नियम, कानून अनुसार छैन । नेपाली जनताले यसलाई छर्लङ्ग बुझेका छन् ।’

‘यसको संकेत के हो ?’ भन्ने प्रश्नमा सभामुखको सचिवालय भन्छ, ‘एमालेले संसद अवरोध गर्दै जुन मुद्दा उठाएको छ त्यो सर्वोच्च अदालतमा बिचाराधीन विषय हो । त्यसउपर संसदमा छलफल नहुने भएकाले एमालेले सोही अनुसार निर्णय लिनुपर्छ, संसदको अवरोध खुलाउनुपर्छ भन्ने हो ।’

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपालसहितका सांसदलाई पार्टीबाट निष्कासनको कारबाही गरे पनि सभामुखले तत्काल मान्यता दिएका थिएनन् । माधव नेपाल नेतृत्वमा निर्वाचन आयोगमा पार्टी दर्ता भइसकेपछि निर्णय गर्नु पर्ने निर्णय सुनाएका थिए ।

सभामुखको यही निर्णयविरुद्ध एमालेले सर्वोच्चमा मुद्दा समेत दर्ता गरेको छ र संसदमा पनि सभामुखले अब पनि १४ जना सांसद कारबाहीमा परेको सूचना टाँस गर्नुपर्ने माग राखेर अवरोध गर्दै आएको छ । तर, सभामुख सापकोटाले नेपालको संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेर नै आफूले सबै कुरा गरेको गर्दै बताउँदै आएका छन् ।

पहिलो एजेण्डा-अध्यादेश

आज दिउँसो २ बजे बस्ने पहिलो बैठकमा बिभिन्न अध्यादेशहरु पेस गर्ने एजेण्डा छ ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार मंगलबार संसदमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रसायनिक पदार्थ (नियमन) अध्यादेश र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश पेस गर्नेछन् ।

भौतिक पूर्वाधार तथा संसदीय मामिला मन्त्री रेनुकुमारी यादवले रेल्वे अध्यादेश र कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कार्यविधि सम्बन्धी अध्यादेश पेस गर्नेछन् ।

चासोमा एमसीसी

संसद अधिवेशनमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता के हुन्छ भन्ने आम चासो छ ।

मंगलबारबाटै एमसीसी सम्झौता गरिसक्नुपर्ने म्याद सकिदैछ । यसलाई अगाडि बढाउने नबढाउने भन्ने संसद सचिवालयले केही भनेको छैन । मध्याह्न १२ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा यो विषयमा पनि छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?