
२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका प्रत्यासी शेरबहादुर देउवालाई सभापतिकै अर्का प्रत्यासी कल्याण गुरुङले समर्थन गर्ने भएका छन् । पहिलो चरणको निर्वाचनमा गुरुङले २२ मत प्राप्त गरेका थिए ।
उनले आाफ्ना मतदातासँग मंगलबार बिहान छलफल गरी पार्टीभित्र सहमतिको वातावरण निर्माण गर्न सभापतिमा देउवालाई समर्थन गर्ने निर्णय गरेको बताए ।
यसअघि सभापतिका उम्मेदवार प्रकाशमान सिंह र विमलेन्द्र निधिले देउवालाई नै समर्थन गर्ने घोषणा गरिसकेका छन् ।
महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पुनः मतदान हुन लागेको हो । पहिलो चरणमा धेरै मत ल्याएका दुई उम्मेदवार देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुँदैछ । आजै साढे ३ बजेदेखि मतदान सुरु हुनेछ ।
कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ । पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।
प्रतिक्रिया 4