+
+

किन हुन्छ विवाहलगत्तै दम्पतीमा मतभेद ?

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते १७:५१
प्रतीकात्मक तस्वीर

२८ मंसिर, काठमाडौं । नेपालमा अहिले विवाहपूर्वको लागि परामर्श दिने चलन छैन । त्यसैले पनि विवाहको सिजन शुरु भएपछि प्रेम विवाह उचित कि मागी विवाह ? भन्नेमा धेरै जना दोधारमा पर्ने गर्छन् ।

तर विवाहपछिको सम्बन्धलाई हेर्दा पनि पछिल्लो समय मागी विवाह र प्रेम विवाह दुवैमा अनेक किसिमका फाइदा र समस्या देखिन्छ । तर पनि मनो एवं पारिवारिक परामर्शदाताहरु कुनै विवाहलाई राम्रो र नराम्रो भन्न सक्ने अवस्था नरहेको बताउँछन् । नवविवाहितमा कस्तो समस्या रहन्छ ? भन्ने बारेमा पारिवारिक परामर्शदाता रमा कार्कीसँग अनलाइनखबरले गरेको कुराकानी ।

भर्खरै मात्र धेरै जोडी विवाह बन्धनमा बाँधिएका छन् । फरक पृष्ठभूमि, फरक संस्कार, फरक रुचि र आकांक्षा भएका दुई व्यक्ति जब एक हुन्छन्, उनीहरुमा के कस्ता मतभेद हुनसक्छन् ?

पारिवारिक परामर्शदाता रमा कार्की

नेपाली समाजमा मागी विवाह र प्रेम विवाहको चलन उस्तैउस्तै छ । विवाह जुनसुकै होस्, यो एकअर्काबीच सम्झौता गर्न तयार भएर जोडिने साइनो हो । त्यसैले यस्ता साइनो कुनै निर्विवाद लामो समयसम्म चलिरहन्छन् भने कुनै सम्बन्धमा विवाहको केही समयदेखि नै मतभेद शुरु हुन्छ । विवाहपछि एकअर्काले सामाजिक सञ्जालमा एकअर्काका परिपूरक रहेको बताउँदै पोस्ट राख्ने गरेको देखिन्छ ।

कतिपयमा भने विवाहलगत्तै घरायसी समस्यामा परेर परामर्शको लागि आउने गर्छन् । त्यो मतभेदको कारण भनेको विवाहपूर्व गरेका सहमतिहरु पूरा नहुँदाको परिणाम र एकअर्कामा हुने बुझाइको कमीका कारण हुने गरेको देखिन्छ । त्यसैले सबै सम्बन्धमा मतभेद नै हुन्छ भन्न सकिँदैन ।

म्पत्य जीवनको शुरुआतमा के-कस्ता समस्या वा झमेला देखिएको छ ?

कुनै समय नयाँ फेसनको कपडा लगाउने बुहारीहरुले घर गरेर खाँदैनन् भन्ने सोचाइ हुन्थ्यो । त्यो पनि अहिले आएर गलत सावित हुन थालिसकेको छ । तर यति हुँदाहुँदै पनि दाम्पत्य जीवनको शुरुआतमा केही समस्या र झमेला भने कताकतै देखिन सक्छ । मकहाँ परामर्शको लागि आएको एउटा दम्पतीको यस्तै कथा छ ।

उमेर ढल्किइसकेको भन्दै परिवारको दबाबमा एउटी केटी मान्छेले शारीरिक रुपमा कमजोर केटासँग विवाह गरिन् । विवाहपूर्व उनको शारीरिक अवस्थाको बारेमा सामान्य जानकारी त थियो । तर विवाहपछि श्रीमतीले उनको शारीरिक कमजोरीमाथि प्रश्न उठाएर मानसिक दबाब दिन थालिन् । यसरी विवाहपूर्व नै सबै कुरामा स्पष्ट नहुने र विवाह अघि गरेका प्रतिबद्धता पूरा नहुँदा नवदम्पतीमा समस्यामा पर्ने गरेका छन् । अहिले महिलामा जस्तै पुरुषहरुमा पनि सम्बन्धमा आघात पर्ने खालका घटना पर्याप्त देखिन्छन् । यसको शिकार धेरै पुरुष पनि भएका छन् । त्यसैले पुरुषले पनि सम्बन्धविच्छेदको लागि प्रस्ताव गर्न पाउने व्यवस्था हुनुपर्छ भन्ने आवाज उठ्न थालेको छ ।

एकअर्काको संस्कार, विचार र परिवारलाई स्वीकार्न वा बुझ्न कति कठिन हुन्छ ?

फरक संस्कार, विचार र अवस्थामा हुर्किएका दुई जनाबीच सम्बन्ध गाँस्दा एकले अर्काको व्यवहारलाई सहजै स्वीकार्नु कठिन विषय नै हो । यो पहिलेदेखि नै चल्दै आएको समस्या हो । तर पहिलेका मान्छे सहन्छु भन्ने मानसिकताबाट अघि बढेका हुन्थे । त्यसैले यो कुरा बाहिर आउने थिएन । तर अहिले सहनुहुन्न भन्ने मान्यता भएकाले यो समस्या धेरै बाहिर सतहमा आउँछ ।

यसको समाधान के हुन सक्छ ?

यसको सबैभन्दा राम्रो उपाय त विवाहपूर्व पनि परामर्श लिनु/दिनु हो । तर अहिलेसम्म नेपालमा यस्तो अभ्यास शुरु भएको छैन । विवाह गरेपछि एकअर्कामा दुःखसुख आदानप्रदान गर्ने साथी पाइन्छ । तर त्यो साथीको बुझाइ र सोचाइ आफ्नो जस्तै हुन्छ भन्ने हुँदैन ।

त्यसैले एकले अर्काको बुझाइ र सोचलाई सम्मान गरेर सम्झौता गर्नु नै समस्या समाधानको उचित उपाय हो । त्यसैले हामीहरु परामर्शको लागि आउनेहरुलाई पनि मध्यमार्गी बाटो अपनाउन सुझाव दिन्छौं । जस्तो, बिहे गरेर आउनेले सासू परिवर्तन हुन् भन्ने भन्दा पनि सबै मिलेर कसरी घरलाई राम्रो बनाउन सकिन्छ ? भन्ने कुरालाई बढी ध्यान दिनुपर्छ । यसमा फेरि कसले बढी त्याग गर्ने भन्ने कुरा आउन सक्छ । यसमा पनि दुवैले एकअर्कासँग मेल खानेगरी दुवैले जित्नेगरी सम्झौता गर्नुपर्छ ।

नवदम्पतीबीच के विषयलाई लिएर बढी मतभेद रहन सक्छ ?

अहिलेसम्मको काउन्सिलिङको आधारमा भन्दा नवदम्पतीबीच धेरै मतभेद हुने मुख्य कारण भनेको उनीहरुको विवाहपूर्वको प्रतिबद्धता र विवाहपछिको व्यवहारका कारण एकअर्कामा मनमुटाव र कतिपय अवस्थामा त झगडा नै हुने गर्छ । यो प्रेम विवाह होस् वा मागी विवाह दुवैमा देखिने समस्या हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?