+
+

लैङ्गिक हिंसा विरुद्धको अभियान : पीडामाथि पीडा मात्रै

रामहरि ओझा रामहरि ओझा
२०७८ मंसिर २९ गते १२:४०

शुक्रबार डोटी जिल्ला सदरमुकाममा रहेको दिपायल सिलगढी नगरपालिकाको सभा हल खचाखच भरिएको थियो । जिल्ला सदरमुकाममा हुने सार्वजनिक कार्यक्रमहरूमा सामान्यतया पुरुषहरूको सहभागिता बढी देखिने भए पनि सो दिन पुरुष भन्दा महिलाको सहभागिता झण्डै दुई गुणा थियो । कार्यक्रम थियो, ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ को समापन ।

मञ्चमा न्याय क्षेत्रका सरोकारवाला बसेका थिए । कार्यक्रमका प्रमुख अतिथि डोटी जिल्ला अदालतका न्यायाधीश विदुर काफ्ले, निमित्त प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का, प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जिल्ला सरकारी वकिल लगायत व्यक्तिहरू । दिपायल सिलगढी नगरपालिकाकी प्रमुख मञ्जु मलासी कार्यक्रमको सभाध्यक्ष थिइन् । यो कार्यक्रम आयोजना गर्ने योजना पनि मलासीकै थियो । पीडित महिलाका आवाज सम्बन्धित सरोकारवालासम्म पुर्‍याउने, छिटो र निष्पक्ष न्यायका लागि दबाव सिर्जना गर्ने उनको उद्देश्य थियो ।

फ्लोरबाट पीडित महिलाहरूका कारुणिक आवाजहरू सुनिन्थे तर ती करुणाका स्वरहरूले मञ्चमा विराजमानहरूलाई खासै छोएको जस्तो देखिएको थिएन । उता पीडितले आँशुसँगै शब्द खर्चिरहेका थिए, यता मञ्चमा बस्नेहरू आपसमा कानेखुशी गर्दै रमाइलो गर्दै थिए । आफ्ना वेदना पोख्न, सरोकारवालालाई सुनाउन टाढा-टाढाबाट आएका महिला रुँदै चिच्याउँदै आफ्ना स्वरहरू न्याय निरुपणमा संलग्नहरूका कानमा पुगून् भन्ने चाहन्थे तर न्याय निरुपणमा संलग्न हुनेहरूलाई कार्यक्रम छिटो सक्नुपर्ने हतारो थियो ।

‘समाजमा बेइज्जत हुन्छ भन्ने डरले महीनौं हिंसा सहेर बसें, पीडा असहृय भएपछि मैले कानूनको गुहार मागें, तर कानूनले पनि मलाई सहारा दिन सकेन’, एक महिलाले आफ्नो पीडा पोखिन् । उनले कानून बिक्री भएको आफूलाई आभास भएको समेत बताइन् । श्रीमान् विदेश गएपछि घरका सदस्यले विभिन्न बहानामा गाली गर्ने, खाना नदिने लगायतका यातना दिइरहेको उनले बताइन् । उनले आफूलाई सम्बन्धविच्छेद गर्नुपर्ने दबाव आइरहेको समेत बताइन् ।

‘श्रीमान् सरकारी जागिरे हुनुहुन्छ, उहाँ मसँग बोल्न पनि चाहनुहुन्न, घरै आउनुहुन्न, सासूले सधैं कुटपिट गर्ने, गाली गर्ने गर्नुहुन्छ’, त्यही भीडबाट एक अर्की महिलाले आफ्नो चीत्कार सुनाइन् । आफ्नो नाबालक छोरा पनि श्रीमान्ले खोसेर लगेको पीडा थियो उनीसँग । ‘मसँग सानी छोरी छ, माइतीमा बसिरहेकी छु, माइतीको आर्थिक अवस्था पनि कमजोर छ, छोरीलाई ज्वरो आयो भने सिटामोल किन्ने पैसा पनि हुँदैन ।’ आँशुका ढिका सहित उनले सुनाएको यो मार्मिक पीडा कानूनका ठेकेदारहरूका लागि भने पौराणिक कथा जस्तो मात्रै थियो । उनको त्यो पीडामा हलमा रहेका अधिकांश सहभागीले मात्र आँशु खसाले ।

आफूलाई पटक-पटक यातना दिएपछि न्याय माग्न जाँदा न्याय पनि नपाएको गुनासो सुनाउने महिलाहरूले अब कुनै न्याय पाउने आश देखेनन् त्यो कार्यक्रममा पनि । यस्ता थुप्रै महिलाले आफ्ना पीडा पोखे हलमा । तर सम्बन्धित निकायलाई उनका पीडा सुन्ने फुर्सद थिएन । कार्यक्रम छिटो सक्नुपर्नेमा बढी ध्यान थियो ।

अपराध नियन्त्रण र शान्ति-सुरक्षा कायम गर्ने आफ्नो मूल मन्त्र भएको भजन गाउँदै हिंड्ने प्रहरीले एक वर्ष बितिसक्दा समेत बहुविवाहका आरोपी समात्न सक्दैन । आरोपी खुलेआम घुमिरहेको छ, आरोपीका आफन्तहरूले पीडित महिलालाई नै धम्क्याइरहेका छन् । यही प्रहरी हो, जसले ठूल्ठूला अपराधका घटनाहरूमा सफलता हात पारेको छ । तर, एक बहुविवाहका आरोपी समात्न, महिला हिंसाका आरोपी समात्न पनि नसक्नुको पछाडिको शक्ति के हो, सोचनीय विषय छ । अब त पीडित महिला पनि आफैं बोल्नु भन्दा चूपचाप सहनु उपयुक्त छ भन्ने सोच्न थालेका छन् ।

‘हामी सहाराविहीनहरूका लागि प्रहरी, अदालत केही हुन्न सर, अदालत प्रहरीले त जोसँग शक्ति छ, उसैको भक्ति गर्ने रहेछ । त्यसैले आज मैले यहाँ कुनै कुरा उठाइनँ’ त्यही हलको अर्को कुनामा भेटिएकी एक अर्की महिला भन्छिन्, ‘यो भन्दा त जति सकिन्छ घरमै पीडा सहने हो, बाँचे बाँचिन्छ, मरे पनि मुक्ति पाइन्छ ।’

‘अब बोलेर कुनै फाइदा छैन सर, उल्टो आफन्तहरूले पनि जिस्क्याउन थालिसके । न्याय पाउने भए त तेरो श्रीमान् अहिलेसम्म जेल हुन्थ्यो भन्छन् । उल्टो धम्क्याउँछन् । अब म बोल्दैन सर, यसरी कार्यक्रममा बोल्नु भनेको न्याय पाउनु रहेनछ, आफ्नो पीडामाथि थप पीडा दिनु रहेछ’, मलिन अनुहार बनाउँदै हलको एक कुनामा रहेकी एक महिलाले निराशाजनक अभिव्यक्ति दिइन् । उनी त्यो कार्यक्रममा बोलिनन् पनि ।

तर, प्रहरीलाई ती महिलाको त्यो पीडाले छुन्न, बरु ‘आरोपीलाई नसमात्नू’ भन्ने दबावले काम गरेको हुनुपर्छ । नत्र जिल्ला भित्रै, जिल्लाको सीमानजिकै घुम्ने आरोपीहरू किन समातिंदैनथे होलान्, सरकारी सेवामा रहेर पनि महिलामाथि अनेक लाञ्छना लगाउने, कुटपिट गर्ने, खान-लाउन पनि नदिने व्यक्तिहरू किन समातिंदैनथे होलान्, किन उनीहरूमाथि कारबाही हुँदैनथ्यो होला ।

‘सम्बन्धविच्छेद गर्नुपर्छ भनेर दबाब सहनु परेको छ, म एक्लैले कहाँ जानु ? छोराछोरी केही नभएको भनेर मलाई दोष दिन्छन्, स्वास्थ्य परीक्षण गराऔं भन्दा मान्दैनन् । यदि सम्बन्धविच्छेद गर्नु परे आत्महत्या गर्नु बाहेक अरू विकल्प छैन । परपुरुषसँग सम्बन्ध राखेको झूटो आरोप लगाउँछन् गाली गर्छन् । न्याय माग्न पटक-पटक धाए पनि न्याय नपाएको गुनासो पोख्दै हलमा सहभागी एक महिलाले आफ्नो पीडाको भारी खोलिन् ।

सहनै नसक्ने पीडा भएपछि सम्बन्धविच्छेदका लागि अदालत पुगेकी महिलालाई अदालतमै उल्टो लाञ्छना लगाइन्छ । पीडित महिलालाई न्याय दिनुको सट्टा अपाच्य शब्दहरूको प्रयोग हुन्छ । त्यतिबेला आफूभन्दा बढी कानूनमाथि अन्याय भएको महसूस गर्छन् पीडित महिलाहरू । पीडितले मागेको न्याय हुन्छ तर न्याय सम्पादनका लागि जिम्मेवार निकायहरूले नै पीडामाथि पीडा दिएको उनीहरू अनुभव गर्छन् ।

समाजमा पनि तिनै महिलाको चरित्रमाथि प्रश्न उठाइन्छ । आरोपीलाई ‘बहादुर’ को संज्ञा दिने, भ्रष्टाचारीलाई जेलबाट निस्किने बित्तिकै ‘जस्न’ मनाउने हाम्रो समाजले महिलामाथि हिंसा गर्ने पुरुषलाई बहादुर र पीडित महिलाई ‘बद्चलन’ वा ‘चरित्रहीन’ देख्नु कुनै नौलो विषय होइन ।

सार्वजनिक कार्यक्रममा आएर आफ्ना पीडा पोख्नु भनेको झन् आफैंलाई पीडा दिनु बाहेक अरू केही रहेनछ भन्ने अनुभव भयो पीडित दिदी-बहिनीहरूलाई । ‘हामी सहाराविहीनहरूका लागि प्रहरी, अदालत केही हुन्न सर, अदालत प्रहरीले त जोसँग शक्ति छ, उसैको भक्ति गर्ने रहेछ । त्यसैले आज मैले यहाँ कुनै कुरा उठाइनँ’ त्यही हलको अर्को कुनामा भेटिएकी एक अर्की महिला भन्छिन्, ‘योभन्दा त जति सकिन्छ घरमै पीडा सहने हो, बाँचे बाँचिन्छ, मरे पनि मुक्ति पाइन्छ ।’

न्याय हराएको देश, न्यायालय बिक्री भएको देश, प्रहरी नेताको दास भएको देश, नेताहरू भ्रष्टाचारका खम्बा भएको देशमा पीडितले थप पीडा मात्रै पाउँछन् ।

१६ दिने अभियानको अन्तिम दिन यसैगरी ८/१० महिलाले आफ्ना पीडा पोखे । श्रीमान्ले बिहे गरेर ल्याएको तर नागरिकता नदिंदाको आफ्नो पीडा, बिहे गरेर छोरी जन्मेपछि श्रीमान् भागेको पीडा, घरबाटै बेघर गरिदिएको पीडा, सुनिनसक्नु पीडा गुन्जिए हलमा । तर ती पीडाहरू हलकै भित्तासम्म मात्रै पुगे । जसले बुझ्नुपर्ने थियो, उनीहरूले कार्यक्रमलाई ‘रमिता’ मात्रै सम्झे, बस् । उनीहरूले आत्मसमीक्षा गर्ने हिम्मत देखाएनन्, बरु आधार, प्रमाण, कागजातलाई कारण बनाउँदै पीडित महिलाहरूलाई निराश मात्रै बनाए, आफू पानीमाथिको ओभानो हुन खोजे ।

सरकार फेरिन्छ, नेता फेरिन्छन्, तर जनताका समस्या भने कहिल्यै फेरिंदैनन् । मेलमिलाप केन्द्र होस् या न्यायिक समिति, पुलिस प्रशासन होस् या अदालत कसैले पनि पीडित महिलाहरूलाई न्याय दिलाउन सकेका छैनन् । पछिल्लो समय महिलामाथि हुने घटनाको संख्या बढ्न थालेको छ । महिला हिंसा अन्त्यका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायले काम गरे पनि प्रभावकारी हुनसकेको छैन । जब अपराध अनुसन्धान, अभियोजन र न्याय निरूपण गर्ने निकायबाटै महिलाहरूले न्याय पाउने आश मारिसक्छन् भने हाम्रो जस्तो विभेदयुक्त समाजबाट उनीहरूले न्याय पाउने के आश गर्नु र ? यसले न्यायप्रतिको अविश्वासको पनि प्रतिनिधित्व गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?