
२९ मंसिर, काठमाडौं । नेपाली चलचित्र ‘के म तिम्रो होइन र’बाट डेब्यु गर्दा नायक आर्यन अधिकारीलाई धेरैले बलिउड नायक टाइगर श्राफसँग तुलना गरे । सिक्स प्याक शरीर, एक्सनमा दमदार यी नायकले नेपाली चलचित्रमा राम्रै स्थान बनाउने आशा गरिएको थियो ।
आर्यनले लगातार ५ वटा चलचित्रमा अभिनय पनि गरे । तर, सबै चलचित्र बक्स अफिसमा असफल भएपछि आर्यन आफैं पनि निराश भए ।
आर्यन यसपछि फेरि अमेरिका नै फर्किए । दुई वर्षसम्म अध्ययन र शारीरिक अभ्यासका लागि भन्दै उनी अमेरिकामा नै बसे । उनै आर्यन नयाँ चलचित्र ‘लाखे’मा अनुबन्धित भएपछि भने नेपाल फर्किएका छन् । आर्यनले यो चलचित्रको कथा आफूलाई निक्कै मन परेको र आफ्नो भूमिका पनि बलियो भएकाले नेपाल फर्किएको जानकारी दिएका छन् । उनले यो चलचित्रको अलवा अन्य केही चलचित्रको कथा पनि पढिरहेका छन् । आर्यन अभिनित चलचित्र ‘जस्मिन’ रिलिज हुनै बाँकी छ ।
यो चलचित्रमा आर्यनसँगै सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, सुशील सिटौला, वर्षा राउत लगायतका कलाकारको अभिनय रहनेछ । आर्यन अब भने आफ्नो करिअर सुखद् तरिकाले अगाडि बढ्नेमा आशावादी छन् ।
प्रतिक्रिया 4