+
+

कांग्रेस महाधिवेशनको सन्देश- भो, नयाँ सपना नदेख

जब चुनाव दोस्रो चरणमा पुग्यो, नेतृत्व परिवर्तनको नारा दिएर उम्मेदवारी दिएका सबै उम्मेदवार आफ्नो नारामा अड्न सकेनन्, एक एक गर्दै देउवाको सारथि बन्ने घोषणा गर्न थाले । अब शेखरसँग अंकगणित थिएन, विवेकको मतदान गर्न अपील मात्र थियो । कांग्रेसमा विवेकको अपीलले काम गर्न छोडेको वर्षौं भैसक्यो, यसपटक पनि काम गर्ने कुरै भएन ।

डा. प्रदीप भट्टराई डा. प्रदीप भट्टराई
२०७८ मंसिर २९ गते १५:५२

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् । दोस्रो कार्यकालका लागि चुनिएका देउवालाई यो जीत हात पार्न दोस्रो चरणकै चुनावसम्म पुग्नुपर्‍यो ।पहिलो चरणमै जीत निकाल्न बनाएको समीकरणको रणनीतिले काम गरेन । दोस्रो चरणका लागि भने खासै रणनीति बनाउनै परेन ।

पहिलो चरणमा दोस्रो भएकालाई एक्ल्याएर तेस्रोदेखि पाँचौंसम्म भएका तीनैजना उम्मेदवार अनपेक्षित रूपमा १८० डिग्रीमा घुमिदिए । यो घुमाइको केन्द्रमा प्रकाशमान सिंह निर्णायक रहे, उनी घुमिसकेपछि विमलेन्द्र निधि नघुम्नुको केही अर्थ थिएन ।

राजनीतिका वाचाल खेलाडी निधि पनि लाचार भएर देउवातिरै घुमे । पाँचौं खेलाडी कल्याण गुरूङ घुम्नुको अर्थ पनि थिएन, तैपनि सबै देउवातिरै घुमेको सुखद सन्देश दिंदै उनी पनि उतै घुमे । यसरी सबै उतै घुमिसकेपछि बाँकी रहेका एक्ला शेखर कोइराला हिम्मतका साथ देउवा विरूद्ध भिडे । अंकगणितको परिणाम आफ्नो पक्षमा निकाल्न नसके पनि उनले सारा प्रतिकूलताबीच जुन स्तरको प्रतिस्पर्धा गरे, त्यसले आफैंमा बेञ्चमार्क कायम गर्‍यो ।

संस्थापन र संस्थापन इतरमा एकभन्दा बढी उम्मेदवार भएपछि पहिलो चरणले कांग्रेस सभापति नदिने लगभग पक्का नै थियो । कांग्रेसको अंकगणित बुझ्नेलाई देउवा पहिलो र शेखर दोस्रो हुने कुरा सहज अनुमानको विषय थियो । तर, प्रकाशमान र निधिले यति कम मत ल्याउलान् र देउवा र कोइरालाबीचको मतान्तर यति बढी होला भनेर मान्न चाहिं जो कोहीलाई पनि गाह्रै थियो ।

धेरैलाई लागेको थियो, गणेशमान र महेन्द्रनारायणको विरासतलाई कम्तीमा पनि पाँच-पाँच सयले त पत्याउलान् । तर, त्यस्तो भएन प्रकाशमान ३७१ (७.९ प्रतिशत) र विमलेन्द्र २५० (५.३ प्रतिशत) मतमै खुम्चिए । परिणामत: देउवा र कोइरालाको मतान्तर पनि बढ्यो ।

मतान्तर बढाउनमा अरू पनि सहायक कारण रहे । पहिलो त, संस्थापन इतरका नेता भनिंदै आएका रामचन्द्र सर्वसम्मत सभापति उम्मेदवार बन्न नपाएपछि चुनावी प्रक्रियामै सहभागी भएनन्, उनको यो निर्णयले अप्रत्यक्ष रूपमा देउवालाई बल पुग्यो ।

दोस्रो, संस्थापन इतरका अर्का नेता बीपी पुत्र शशांकले पनि सभापतिमा उठ्न नपाएपछि आफू कुनै प्यानलमा नलाग्ने भनेर दाजु शेखरलाई नै कमजोर बनाए । तेस्रो, शेखरले उपसभापतिको उम्मेदवार नबनाउने देखेर गिरिजापुत्री सुजाता पनि प्रकाशमानकै प्यानलमा उपसभापति उम्मेदवार बनिन् । यसरी सबैले छोडेर एक्लो बनाएपछि शेखरका लागि मतान्तर घटाउने कुनै अनुकूलता बाँकी रहेनन् ।

हिसाब केही तलमाथि भए पनि शेखरले चुनावलाई दोस्रो चरणमा पुर्‍याए । उनको पहिलो चरणको लक्ष्य जित्ने थिएन, चुनावलाई दोस्रो चरणसम्म धकेल्ने थियो । त्यसो गर्दा नेतृत्व परिवर्तनको नारा दिएर चुनावमा भिडेका बाँकी सबै उम्मेदवारले आफूलाई सघाउने उनको आकलन थियो ।

राजनीतिको सोझो र प्रक्षेपित बाटो पनि यही थियो । तर, जब चुनाव दोस्रो चरणमा पुग्यो, नेतृत्व परिवर्तनको नारा दिएर उम्मेदवारी दिएका सबै उम्मेदवार आफ्नो नारामा अड्न सकेनन्, एक एक गर्दै देउवाको सारथि बन्ने घोषणा गर्न थाले । अब शेखरसँग अंकगणित थिएन, विवेकको मतदान गर्न अपील मात्र थियो । कांग्रेसमा विवेकको अपीलले काम गर्न छोडेको वर्षौं भैसक्यो, यसपटक पनि काम गर्ने कुरै भएन ।

दोस्रो चरणमा देउवालाई सघाउनुको कारण

नेतृत्व परिवर्तनको नारा दिएर चुनावमा भिडेका प्रकाशमान र विमलेन्द्र निधि किन आफ्नो नारामा अड्न सकेनन् र पुरानै देउवा नेतृत्वको शरणमा पुगे ? यसका मूलत: दुई कारण देखिन्छन् । पहिलो त, राजनीतिका वाचाल खेलाडी देउवाले उनीहरूलाई आश्वासनको ‘घाँस’ हालिदिएरै हो ।

उधारो हाले कि नगदमा हाले त्यो त समयक्रममै उजागर हुँदै जाला । तर, प्रकाशमानले लिखितमै लिए भन्नेहरू छन् । प्रकाशमानकै अंकगणित देउवाको पक्षमा गएपछि निधिको अंकगणितको खासै भाउ थिएन । त्यसैले देउवाले उनलाई उधारो भुईंघाँसमै काम चलाएको हुनुपर्छ । कल्याण गुरूङको मतको त सान्त्वना अर्थ मात्र हुने हो, उनलाई मनोनीत केन्द्रीय सदस्य भनिदिए होला । दोस्रो, प्रकाशमानलाई शेखरले संस्थापन इतर समूहको सर्वसम्मत उम्मेदवार हुन नदिएको रिस हो ।

उनी शेखरलाई राजनीतिमा कनिष्ठ मान्छन् र कनिष्ठ शेखर अध्यक्ष भैसकेपछि अर्को पालि आफू हुने बाटो नै रोकिने उनको सोच हुन सक्छ । यही मनोविज्ञान निधिमा पनि हुन सक्छ । लामो समयदेखि मूलधारको कांग्रेस राजनीति नगरेका शेखर पेशाले चिकित्सक हुन् । उनलाई रैथाने कांग्रेसहरू आउटसाइडर भन्छन् ।

कोइराला परिवारमा पनि उनी खासै हाइप्रोफाइलमा नरहेका केशव-नोनाका छोरा भएकाले उनीसँग कांग्रेसका बीपी र जीपीको सोझो विरासत छैन । तर, यी सबका बाबजूद पनि कोइराला विरासतमा रहेका बीपी पुत्र डा. शशांक र जीपीपुत्री सुजाताभन्दा अब्बल नेता हुन् । नेतृत्व पुस्तान्तरणमा विश्वास गर्ने उनले चुनावी नारा पनि ‘यसपटक : एकपटक’ दिएका थिए ।

देउवा सभापति चुनिंदाको सन्देश

देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएको यतिबेला कांग्रेस महाधिवेशनले केही खास सन्देश दिएको छ ।

पहिलो सन्देश, बीपी, जीपी, सिंह, निधिका नाममा विरासतको रोटी सेकाउने समय सकियो भन्ने हो । बीपी पुत्र शशांकले छोडेको लत्तो, जीपी पुत्री सुजाता सिंह हुँदै देउवा क्याम्पमा पुगेको स्थिति अनि सिंहपुत्र प्रकाशमान र निधिपुत्र विमलेन्द्रले पाएको मतले त्यसैको ऐना देखाउँछ ।

दोस्रो सन्देश, कांग्रेस रूपान्तरण हुनै नचाहने नेपालको जीओपी अर्थात् ग्राण्ड वर्ल्ड पार्टी हो यसमा नीतिको त कुरै छोडौं, नेतृत्व परिवर्तन गर्नै हैसियत छैन ।

तेस्रो, कांग्रेस देउवाको सत्तामुखी बाटोमा यति अघि पुगिसक्यो कि अब यो फर्किन सक्ने सम्भावना नै छैन ।

चौथो, कांग्रेसमा नयाँ पुस्ता पनि पिंध नभएको लोटा जस्तै हो । यिनीहरू पनि पदका लागि जे गर्न पनि तयार हुन्छन् । उमेर कम होला, अलि नयाँ पाराका कुरा गर्न जान्दा हुन् तर पदलाई लिएर यिनीहरूको टाउकोमा पनि देउवाले बनाउने चित्रकै प्रतिलिपि मात्र बन्छ ।

पाँचौं, कांग्रेसमा अब कोइराला परिवारको विरासत जोगाउने मात्र हैन, एकता जोगाउने समस्या पनि छ । यसपालि शेखरले शशांक र सुजाताबाट पाएको घाउ शायदै बिर्सलान् ।

अब के हुन्छ कांग्रेसमा ?

पूर्वतिर अझै पनि कांग्रेसलाई लिएर एउटा भनाइ चर्चित छ- तेरो घरमा कांग्रेस पसोस् । यो चुनावपछि कांग्रेसको घरमै कांग्रेस पसेको छ । यो रडाको राज्यका तीनै चुनावको पूर्वसन्ध्यामा भएको छ । यसको असर ती चुनावमा देखिन्छ । बागी उम्मेदवारी र अन्तर्घात त नेपाली राजनीतिमा कांग्रेसका उपहार नै हुन्, यसपालि यो उपहार अरू बढी महँगो हुनेछ ।

दोस्रो, देउवा र शेखर दुवैले चुनावसम्म गठबन्धनको पक्षमा आफूलाई उभ्याएका छन् । सरकारमा नरहने भन्ने कुरालाई कांग्रेस महाधिवेशनले ‘नेगेटिभ पोइन्ट’ दियो । त्यसैले यो गठबन्धन जारी रहने र सम्भवत: चुनावमा गठबन्धन नै गरेर जाने सम्भावना बढेको छ । किनकि, कांग्रेस महाधिवेशनले जे गरेर भए पनि सरकारमा जाने खालको म्यान्डेट दिएको छ । गठबन्धन विना सरकार गठनको सम्भावना लगभग सकिएको अहिलेको स्थितिमा यही पोइन्ट देखाएर कांग्रेस प्रि-इलेक्सन गठबन्धनमा जान सक्छ । देउवाले वाचा नै गरेका छन्, आफू जितेमा स्थानीयदेखि केन्द्रसम्मै कांग्रेस सत्तामा हुनेछ ।

तेस्रो, कांग्रेसमा परिवर्तन चाहने पक्ष निम्छरो भएको छ । उसलाई परिवर्तनको सपना देख्न पनि ऐठन लाग्ने स्थिति देखिएको छ । उसलाई लागेको हुन सक्छ, यति असफल नेतृत्व त परिवर्तन गर्न सकिएन भने समयानुकूल नीति फेरेर देशको मुहार फेर्ने त धेरै टाढाको कुरा हो । त्यो पक्षले पुस्तान्तरणको कुरा गर्ने युवा पुस्तामा पनि कुनै डिग्निफाइड दम देखेन । प्रकारान्तरमा उसलाई एक किसिमको निराशा र हतासा मात्र हात लागेको छ ।

चौथो, देशका लागि यथास्थिति पटक्कै हितकर छैन । र, यसको सबैभन्दा ठूलो बाधक तत्व नै अहिले विभिन्न पार्टीमा रहेको संस्थापन पक्ष हो । कांग्रेसले आउँदो चार वर्ष सोच र कोणमा खिया लागेको यही नेतृत्वमा रहने म्यान्डेट दिएर देशका लागि एउटा निराश सन्देश दियो । यसअघि नेकपा एमालेले त योभन्दा पनि निराशलाग्दो फैसला सुनाएको थियो । यो क्रम यतिमै रोकिनेवाला छैन, केही दिनपछि नेकपा माओवादी केन्द्रले पनि यस्तै निर्णय सुनाउने छ ।

र, अन्तमा, कांग्रेस महाधिवेशनले कम्तीमा पनि आउँदो चार वर्षका लागि कांग्रेस यस्तै हुन्छ भन्ने निर्णय सुनाएको हो । एक वर्ष त यसै पनि लम्ब्याउँछन्, त्यसैले अबको पाँच वर्ष मुलुकले देउवाको कांग्रेसलाई झेल्नुपर्नेछ । तीन तहका चुनाव सन्निकट छन् र यतिबेलै ओलीलाई भष्मासुर चढेको छ । त्यसको अर्थ हो, मुलुकको संस्थापन कांग्रेस हुनु अर्थात् देशको बागडोर देउवाको हातमा जानु । अहिले नै देउवा ७५ वर्षका भए, पाँच वर्षपछि ८० वर्षका हुन्छन् । अहिले नै उनको हालत यस्तो छ भने पाँच वर्षपछि के होला ?

प्रश्न देउवाको र देउवा सभापति भएको कांग्रेसको हैन, मुलुकको भविष्यको हो । देउवा, कांग्रेस र मुलुकको भविष्य एकसाथ राखेर चित्र बनाउने हो भने कुनै आशलाग्दो रूपरेखा नै बन्दैन । अहिलेको मूलतः चिन्ता र चासो त्यसैको मात्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?