+
+
Shares

अहिले दोष खोज्ने र धार बनाउने समय होइन, जिम्मेवार बनौं : डिना उपाध्याय 

सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले महाधिवेशनसम्बन्धी विवादले जनमानसमा नकारात्मक प्रभाव छरिँदा संगठनलाई कमजोर देखाउने मौका अरूले पाइरहेको बताइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते १७:२८

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले आवश्यक तयारी नगरी महाधिवेशनबारे विवाद गरिरहँदा पार्टीको संस्थागत छवि धमिलिन पुगेको बताएकी छन् ।

सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले महाधिवेशनसम्बन्धी विवादले जनमानसमा नकारात्मक प्रभाव छरिँदा संगठनलाई कमजोर देखाउने मौका अरूले पाइरहेको बताइन् ।

‘अधिवेशनका लागि आवश्यक पूर्वकार्य सुरु नगरी बाहिर पार्टी विवादग्रस्त छ भन्ने सन्देश प्रवाह गर्नुले हाम्रो संस्थागत छवि धमिलिन पुगेको र नकारात्मक प्रभाव जनमानसमा छरिएको र संगठनलाई कमजोर देखाउने मौका पाइरहेका छन्,’ उपाध्यायले भनिन् ।

उनले अहिलेको समय दोष खोज्ने र धार बनाउने नभएर जिम्मेवारी लिने र काम सुरु गर्ने समय भएको बताइन् ।

अधिवेशन केवल प्रक्रियागत अभ्यास नभएर लोकतान्त्रिक प्रतिबद्धता र पार्टीलाई सुदृढ गर्ने अवसर भएको उनले बताइन् ।

‘अब दोष खोज्ने वा धार बनाउने होइन, जिम्मेवारी लिन र काम सुरु गर्ने समय हो । अधिवेशन केवल प्रक्रियागत अभ्यास होइन, यो हाम्रो लोकतान्त्रिक प्रतिबद्धता र पार्टीलाई सुदृढ गर्ने अवसर पनि हो,’ उपाध्यायले भनिन्, ‘हामी सबै मिलेर स्पष्ट निर्णयमा पुगौँ, आवश्यक तयारी आरम्भ गरौँ, र कांग्रेसलाई फेरि जनविश्वासको केन्द्र बनाउन प्रतिबद्ध बनौँ ।’

सहमहामन्त्री उपाध्यायले लोकतान्त्रिक प्रणालीको मेरुदण्ड नै स्वतन्त्र निर्वाचन भएको जिकिर गर्दै निर्वाचन कार्यान्वयनका पक्षमा ठोस योजना बनाउन आवश्यक रहेको बताइन् ।

कांग्रेसमा उम्मेदवार छनोटदेखि नीति सन्देश, जनसम्पर्क, संगठन सुदृढीकरण र मतदाताको विश्वास पुनः प्राप्त गर्नेसम्मका सबै पक्षमा स्पष्ट कार्ययोजना आवश्यक रहको उपाध्यायको भनाइ थियो ।

‘हामीले यस विषयमा गम्भीर विचार–विमर्श गर्नुपर्छ । किन भने यो केवल पार्टीको प्रतिस्पर्धा होइन, देशको लोकतान्त्रिक स्थायित्वसँग जोडिएको प्रक्रिया हो । अबको चुनौती नै यही हो,’ उपाध्यायले भनिन्, ‘कसरी कांग्रेसले आगामी निर्वाचनलाई अवसरका रूपमा उपयोग गरी, जनतामा पुनः विश्वास, ऊर्जा र आशा जगाउनका लागि तयारी आजैदेखि सुरु गरौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?