२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीभित्र एकले अर्कालाई कमजोर बनाउने मनस्थितिबाट माथि उठ्न जरुरी रहेको बताएका छन् ।
सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले विपक्षी पार्टीको चुनौतीको सामना गर्नेबारे छलफल हुनुपर्ने भए पनि कांग्रेसमा एकले अर्कोलाई कमजोर गर्ने, स्थापित र विस्थापित गर्ने बहस भइरहेको बताए ।
‘दुर्भाग्यवस हाम्रो पार्टी आत्मघाती हुन थाल्या छ । हामी आफ्नैलाई सहँदैनौँ । विपक्षीको त्यो कुरा हामी गर्दै गर्दैनौँ । विपक्षीसँग लड्ने कुरा गरिरेहका छौं हामीले ? विपक्षीको चुनौती कसरी पार गर्ने हामीले कुरा गरिरहेका छौँ ?,’ महतले प्रश्न गरे, ‘हामीलाई नै कसरी, कसलाई कमजोर गर्ने, स्थापना र विस्थापना गर्ने ? त्यो बहसमा हामी छौँ । त्यसकारण म अनुरोध गर्न चाहन्छु– यसबाट हामी उठ्नु जरूरी छ । संकटमा जुट्ने हो । संकटमा विवाद गर्ने हैन । सहज समयमा विवाद चर्कै गरे हुन्छ ।’
देश, पार्टी र सभापति शेरबहादुर देउवा अप्ठ्यारोमा परेको समयमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सञ्चालन गरेर पार्टी दुर्भाग्यपूर्ण अध्यायमा प्रवेश गरेको नेता महतको भनाइ छ ।
‘अप्ठ्यारो समयमा यत्रो ठूलो विवाद, त्यो पनि ‘भेरि फर्स्ट डे’ बाट । जुन बेला पार्टी सभापतिमाथि र देशैभरि हाम्रो संरचना र व्यक्तिगत घर–सम्पत्तिमाथि पनि आक्रमण भयो,’ उनले भने, ‘त्यही बेला विशेष महाधिवेशका लागि हस्ताक्षर गर्ने र नगर्नेबीच विभाजन ल्यायौँ । यो दुर्भाग्यपूर्ण अध्यायमा हामी प्रवेश गर्यौँ ।’
प्रवक्ता महतले आफूले शालिनतापूर्वक आफ्ना मत राखे पनि पार्टीभित्र शिकार भएको दुःखेसो गरे ।
‘म त शालिनतापूर्वक आफ्ना मतहरू राख्छु । म त यस्तो शिकार भाछु कि, म त टिके रे । वडामा पनि जित्न नसक्ने रे । त्यो पार्टीबाट होइन, पार्टी भित्रैबाट,’ उनको गुनासो थियो, ‘मलाई त लात पुरस्कार दिन्छु भनेर समेत आएका छन्, त्यो पनि पार्टी भित्रैबाट । कहिले पनि हामीले त कसैलाई गाली गर्न पनि जानेनौँ ।’
प्रवक्ता महतले आफूमाथि पार्टीभित्रबाट भइरहेको प्रहारबारे गुनासो गर्दै बीपी कोइरालाको भनाइ पनि स्मरण गरे ।
‘बीपी कोइरालाले भन्नुभएको थियो, जब सत्यको मुख बन्द हुन्छ, झुटोको थुतुनो चल्छ,’ उनले भने, ‘हाम्रो पार्टीको दुर्भाग्य के भएको छ भने जो विपक्षीहरू छन्, जसले हामीलाई चुनौती खडा गरिरहेका छन् । त्यसका विरुद्ध हामी चुइँक्क बोल्दैनौँ । हाम्रो सत्यको मुख सिल हुन्छ । यसले कसैको पनि हित गर्दैन ।’
प्रतिक्रिया 4