
२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापतिमा भएको हारलाई आफूले स्वाभाविक रुपमा लिएको बताएका छन् । तर आफूहरुले लिएको विचारको जित भएको भन्दै उनले अब आफ्नो यात्रा नयाँ ढंगले शुरु गर्ने बताए ।
कांग्रेसको १४ औं महाधिवेशनमा कोइरालाले सभापतिमा उम्मेदवारी दिएका थिए । पहिलो चरणको प्रतिस्पर्धामा दोस्रो स्थानमा आएका उनी दोस्रो चरणमा शेरबहादुर देउवासँग पराजित भए ।
महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिन बुधबार आयोजना गरेको कार्यक्रममा कोइरालाले सभापतिमा विजयी देउवालाई बधाइ दिनुका साथै चार वर्षे कार्यकालको सफलताको कामना गरे । पार्टीमा भागवण्डा र गुटबन्दीको राजनीति नगर्ने भन्दै उनले भने, ‘जसरी साढे ५ वर्ष पार्टी बेथितीको हिसाबले चल्यो, त्यसरी चल्न थाल्यो भने हामी सशक्त रुपमा प्रस्तुत हुन्छौं ।’
निर्वाचन भएपछि हार जित स्वाभाविक भएको भन्दै उनले कसले के गर्यो ? किन गर्यो भन्ने कुण्ठा नभएको बताए ।
आफूहरुले लिएको राजनीतिक एजेण्डा स्थापित भएको र युवा पुस्ताका लागि अवसर खोलेको बताए । उनले अघि भने, ‘म आजैदेखि नेपाली कांग्रेसको रुपान्तरणका लागि लागिसकेको छु । निरन्तर रुपमा तपाईंहरुको घरदैलोमा पुग्नेछु । मेरो टीमका साथीहरु पनि पक्कै तपाईंहरुको घरदैलामा पुग्छौं र आगामी अधिवेशनमा सफलता प्राप्त हुनेछ भन्ने विश्वास लिएको छु ।’
महाधिवेशन प्रतिनिधिहरुले आफूलाई दिएको माया, सम्मान कहिल्यै बिर्सन नसक्ने कोइरालाले बताए । उनले अघि भने, ‘यही मायाले मेरो राजनीतिक यात्रा फेरि एक पटक नयाँ ढंगले शुरु गर्छु ।’
प्रतिक्रिया 4