+
+

ए डिभिजन लिगको पोखरा प्रवेश

विकास रोकामगर विकास रोकामगर
२०७८ मंसिर २९ गते २०:०४

२९ मंसिर, पोखरा । मोफसलकै चर्चित ‘आहा रारा गोल्डकप’मा पोखरा रंगशाला त्यतिबेला तात्थ्यो, जतिबेला मनाङ मर्स्याङ्दी क्लबको खेल हुन्थ्यो ।

काठमाडौंमा रही राष्ट्रिय खेलकुदमा राज गरेको मनाङ पोखराका लागि अघोषित ‘घरेलु टिम’ थियो भने क्लबका लागि पोखरा ‘आफ्नै घर’ ।

मनाङले यस वर्षको शहीद स्मारक ए डिभिजन लिगका लागि पोखरा रंगशालालाई नै आफ्नो ‘होम ग्राउन्ड’ तोकेको छ र लिगमा मनाङले खेल्ने तीन खेल पोखरामा हुनेछ ।

बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्लबका सदस्य विजय घलेले फुटबललाई देशव्यापी बनाउने योजना पोखराबाट शुरु भएको बताए । ‘एन्फाले पनि लिगलाई देशव्यापी बनाउने सुरुदेखि नै योजना बनाइरहेको थियो । उक्त योजनालाई साकार बनाउन हामी नै किन शुरु नगर्ने भनेर लागेका हौं,’ घलेले भने, ‘यसले लिगमात्रै नभएर फुटबल नै विकेन्द्रीकरण हुने भएकाले पोखरा आएका हौं ।’

पोखरामा क्लबको फ्यान संख्या पनि ठूलो रहेको पोखरा होम ग्राउन्ड हुँदा अझै धेरै समर्थन पाउने घले बताउँछन् । ‘पोखरा हाम्रा लागि स्पोर्टस् क्यापिटल नै हो । त्यसमा पनि यहाँ हाम्रो ठूलो फ्यान छन्,’ उनले भने, ‘पोखरा नै होम ग्राउन्ड भएपछि समर्थकबाट खेलाडी पनि थप मोटिभेट हुनेछन् भन्ने आशा राखेका छौं ।’

मनाङ मर्स्याङ्दी क्बलमा लामो समय काम गरेका राजीव गुरुङ ‘दीपक मनाङे’ अहिले गण्डकी प्रदेशको खेलकुदमन्त्री छन् ।

अब मनाङले आउँदो शनिबार पोखरा रंगशालामा नेपाल पुलिस क्लबसँग खेल्नेछ । दुवै क्लबका खेलाडी बुधबार पोखरा आइसकेका छन् । त्यसपछि पुस १७ गते मनाङले पोखरामै ब्रिगेड ब्वाइज क्लब र पुस २४ गते च्यासलसँग खेल्नेछ ।

शहीद स्मारक ए डिभिजन लिग उपत्यका बाहिर पहिलो पटक खेलाउन लागिएको हो । लिगका निर्देशक सञ्जीव मिश्र आगामी दिनमा नेपालमा पनि ‘होम एन्ड अवे’ का आधारमा लिग खेल कुन सक्ने बताउँछन् ।

बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘होम, अवेमा एउटा क्बलले एक पटकमात्रै खेल्ने हुन्छ । त्यसले यो ठ्याक्कै होम अवे अवधारणाको होइन । तर, आगामी दिनका लागि यो नै एउटा सुरुआत हुन सक्छ ।’

मनाङले पोखरा रंगशालालाई घरेलु मैदान बनाएर पोखरामा लिग सञ्चालनको सम्पूर्ण आर्थिक भार व्यहोरेजस्तै अन्य क्बलले समेत आँट गरे चाँडै नेपालमा पनि ‘होम एन्ड अवे’ प्रणालीमा लिग खेल्न सकिने मिश्रको भनाइ छ । ‘अहिले नै होम–अवे गर्दा एन्फाले ठूलो आर्थिक भार व्यहोर्नुपर्छ । तर, यसका लागि सबै क्लबहरु पनि राजी हुनुपर्छ,’ उनले भने ।

लिगलाई राष्ट्रव्यापी बनाउने एन्फाको योजनाको सुरुआत पोखराबाट भएको लिग निर्देशक मिश्र बताउँछन् । ‘मेचीदेखि महाकालीसम्म लिग पु¥याउने हाम्रो योजना छ । केही वर्षपछि देशका अन्य ठाउँमा पनि लिग हुनेछन् । यसले सबैले लिगलाई अपनत्व लिन सक्छन्,’ उनले भने ।

ए डिभिजन लिगलाई व्यवस्थित र भव्य बनाउन एन्फाले कुनै कसर नछाडेको उपाध्यक्ष उपेन्द्रमान सिंहले दाबी गरे । ‘विगतदेखि काठमाडौंमा जसरी भव्य र व्यवस्थित रुपमा लिग चलाइरहेका छौं । पोखरामा पनि त्यस्तै व्यवस्थित गर्ने हाम्रो योजना छ,’ उनले भने, ‘सुरक्षादेखि सम्पूर्ण सुविधासम्म काठमाडौंभन्दा कुनै कमी हुन दिने छैनौं ।’

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?