+
+

भूकम्पले क्षतिग्रस्त गोरखाका ५ गुम्बा पुनर्निर्माणको जिम्मा पुरातत्व विभागलाई

विकास मरहट्टा विकास मरहट्टा
२०७८ पुष १ गते ७:५८

१ पुस, गोरखा । २०७२ सालको भूकम्पले क्षति पुगेकामध्ये पाँच गुम्बा पुनर्निर्माणको जिम्मा पुरातत्व विभागलाई दिइएको छ । चुमनुव्री गाउँपालिकाको साविक ल्हो गाविसमा पर्ने दुई र प्रोक गाविसमा पर्ने तीनवटा गुम्बा पुनर्निर्माण विभागमार्फत हुने भएको हो ।

यसअघि गुम्बा पुनर्निर्माणको काम राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाइमार्फत हुँदै आएको थियो । तर, अहिले कार्यालय खारेज भएसँगै पुनर्निर्माण हुन बाँकी गुम्बामध्ये पाँचवटाको जिम्मेवारी प्राधिकरणले विभागलाई दिएको हो ।

साविकको प्रोक गाविसमा पर्ने छेकम, कानिङ र टासिछोलिङ गुम्बा र साविकको ल्हो गाविसमा पर्ने काङ्ग्युर ल्हाखाङ र पुङ्ची गुम्बा पुनर्निर्माणको जिम्मा विभागले पाएको गुम्बा पुनर्निर्माण अधिकृत एवम् गोरखा संग्रहालय प्रमुख नवराज अधिकारीले बताए । गुम्बा पुनर्निर्माणका लागि प्राधिकरणले प्रतिगुम्बा ६० लाखको दरले रकम विनियोजन गरेको छ ।

ती गुम्बाहरूको स्थलगत निरीक्षणसमेत गरिसकिएको उनले जानकारी दिए । ‘ती गुम्बाहरूको हामीले स्थलगत निरीक्षण गरिसक्यौं,’ उनले भने, ‘तीमध्ये टासिछोलिङ, छेकम र कानिङ गुम्बाको पुनर्निर्माण गर्नैपर्ने देखिन्छ ।’ ती गुम्बाहरूको गारो चर्किएको, काठ मख्खिएको र पानी चुहिने भएको उनले बताए । उनका अनुसार पुङ्ची गुम्बाको पुनर्निर्माण सम्पन्न भइसकेको छ ।

काङ्ग्युर ल्हाखाङ गुम्बाको पुनर्निर्माण कार्य हुँदैछ । काङ्ग्युर गुम्बामा मौलिक स्वरुप गुम्ने गरी आधुनिक सामग्रीको प्रयोग भएको भन्दै उनले आपत्ति जनाए । स्थलगत निरीक्षणको रिपोर्ट तयार गरेर विभागमा पठाउने तयारी भइरहेको उनले जानकारी दिए । ‘अहिले डिजाइनको काम भइरहेको छ, अब हाम्रो रिपोर्टको आधारमा विभागले पुनर्निर्माण गर्नुपर्ने गुम्बाका लागि ठेक्का आह्वान गरेर प्रक्रिया अगाडि बढाउछ,’ अधिकारीले भने ।

चालु आर्थिक वर्ष ती गुम्बाहरूको पुनर्निर्माण गरिसक्नुपर्ने उनले बताए । तर विनियोजित रकम भने अपुग हुनसक्ने उनको भनाइ छ । भूकम्पका कारण जिल्लाका कुल १०४ वटा गुम्बामा क्षति पुगेको थियो । ९१ वटामा पूर्ण र १३ वटामा आशिंक क्षति पुगेको बताइएको छ ।

पूर्ण क्षति भएका अधिकांश गुम्बा चुमनुव्री गाउँपालिकामा पर्छन् । क्षति पुगेकामध्ये ५० प्रतिशतको पनि पुनर्निर्माण हुन सकेको छैन ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?