+
+

फिलिपिन्समा आँधी आउनुपूर्व हजारौं मानिसलाई सुरक्षित स्थानमा सारियो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते ११:५८

१ पुस, काठमाडौं । फिलिपिन्समा तीव्र रुपमा विकसित हुँदै गइरहेको राई नामक आँधीका कारण हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

शक्तिशाली बन्दै गएको उक्त आँधी जमीनमा ठोक्किनुपूर्व नै मध्य तथा दक्षिणी फिलिपिन्सका हजारौं मानिसलाई घरबाट अन्यत्र सारिएको हो । बिहीबार बिहानसम्म भिसायास द्वीप समूहमा पर्ने पूर्वी प्रान्त समारबाट झण्डै ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन् ।

भिसायासका अन्य पूर्वी क्षेत्रबाट १७ हजारभन्दा मानिसलाई समेत अन्यत्र सारिएको अलजजिराले जनाएको छ । यसअघि २०१३ मा आएको हायन आँधीमा समार र लेयटे प्रान्त सबैभन्दा प्रभावित बनेका थिए जहाँ हजारौं मानिसको मृत्यु भएको थियो ।

त्यस्तै, मिन्डानाओको सुरिगाओबाट ५१ हजार मानिसलाई अन्यत्र सारिएको छ । बुधबार आपतकालीन सहायताकर्ताले दक्षिणी तटीय शहर तानडागबाट ३६ सय ६८ परिवारलाई १८ वटा अस्थायी आश्रममा राखेका थिए ।

फिलिपिन्सको मौसम ब्यूरोले बिहीबार बिहान जारी गरेको विवरणअनुसार राई आँधी तीव्र रुपमा विकसित भइरहेको छ । तीव्र रुपमा विकसित भइरहेको आँधी मध्य क्षेत्रका दिनागत र सुरिगाओ प्रान्ततर्फ बढिरहेको ब्यूरोको भनाइ छ ।

राई आँधी प्रतिघण्टा १८५ किलोमिटरको गतिले पश्चिम र उत्तरपश्चिम दिशातर्फ बढिरहेको भन्दै कुनै-कुनै क्षेत्रमा विशानकारी रुप लिन सक्ने ब्युरोले बताएको छ । समुन्द्रको अवस्था सबैखाले जल यात्राका लागि जोखिमपूर्ण भएकाले  नाविकहरूलाई बन्दरगाहमै बस्न वा सुरक्षित रहन पनि भनिएको छ ।

यसैबीच, अमेरिकी जलसेनाको जोइन्ट टाइफून वार्निङ सेन्टरले राई आँधीलाई ‘सुपर टाइफून’ अर्थात् प्रतिघण्टा १५० माइलको गतिमा निरन्तर आउने शक्तिशाली आँधी भनेको छ ।

बिहीबार दिउँसोसम्म राई आँधी जमीनमा प्रवेश गर्ने अपेक्षा गरिएको छ । जमीनमा आँधी आउनुपूर्व नै फिलिपिन्सका ८ क्षेत्रमा विपत तम्तयारी तथा प्रतिकार्य मापदण्डलाई उच्च तहमा पुर्‍याइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?