+
+

बागमतीमा मन्त्रालय टुक्राउँदा पूर्वाधार र कर्मचारी अभाव

राजन दाहाल राजन दाहाल
२०७८ पुष २ गते १३:५९

२ पुस, हेटौंडा । वागमती प्रदेश सरकारले मन्त्रालयका संख्या बढाउँदा पूर्वाधार र कर्मचारी अभाव भएको छ । कर्मचारी अभाव भएकाले एक जनाले दुई मन्त्रालय हेर्नुपर्ने अवस्था सिर्जना भएको छ।

यद्यपि सरकारलाई ठूलो आर्थिक भार नपर्ने गरी पुराना सरकारी भवन मर्मतसम्भार गरेर र मौजुदा जनशक्ति प्रयोग गरेर मन्त्रालय सन्चालनको तयारी गरिएको अधिकारीहरुले बताएका छन् ।

मुख्यमन्त्री राजेन्द्र पाण्डेले सत्ता गठबन्धनलाई भाग पुर्‍याउन ८ मन्त्रालयलाई फुटाएर १४ मन्त्रालय बनाएका छन् । मन्त्रालयको संख्या थपिएपछि सरकारलाई पूर्वाधार व्यवस्थापनको चटारो परेको छ ।

‘तीन दिनभित्र मन्त्रीहरु आउने रे, त्यही भएर फुटेका-चर्केका ठाउँ टाल्ने र रंगरोगन गर्ने काम चलिरहेको छ’ व्यवस्थापनमा खटिएका एक कर्मचारीले भने । सोही क्रममा तत्कालीन जिल्ला विकास समितिले प्रयोग गर्न नमिल्ने भनेर भत्काउने तयारी गरेको घरमा समेत एक मन्त्रालय राख्ने तयारी गरिएको छ ।

तत्कालीन जिविसको भवन काम नलाग्ने भन्दै भत्काउने तयारी गरिएको थियो । भवन भत्काउने तयारी अनुसार सो भवनमा रहेका प्रदेश नीति तथा योजना आयोग र प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय,लोकसेवा आयोगको कार्यालय भाडाका घरमा सरिसकेका थिए । तर अहिले भत्काउने ठेक्का रद्ध गरेर सोही भवनलाई मर्मत गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय राख्ने तयारी गरिएको छ ।

मुख्यमन्त्री कार्यालयका प्रवक्ता रमेशकुमार उपाध्याय लुइँटेलले भने, ‘पुरानो जीर्ण भवन भएको ठाउँमा नयाँ बनाउन डिपीआर तयार गरी बजेट समेत छुट्याइसकेको थियो तर अहिले पूर्वाधार अभाव भएकाले त्यहाँ एउटा मन्त्रालय राख्नुपर्यो ।’ सकेसम्म खर्च कम गर्ने नीतिअनुसार त्यसैमा व्यवस्थापन गर्न लागिएको उनको भनाइ छ ।

सरकारले थपेकामध्ये पाँच मन्त्रालयहरुमध्ये श्रम, रोजगार तथा यातायात, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय तत्कालीन श्रम कार्यालयले हेटौंडा उपमहानगरपालिका-१ चौकीटोलमा निर्माण गरेको चारतले भवनमा राखिएको छ। युवा तथा खेलकुद मन्त्रालय र संस्कृति तथा पर्यटन मन्त्रालय भने हेटौंडा उपमहानगरपालिका–४ स्थित भाडाको घरबाट सञ्चालन हुँदै आएका छन्।

कर्मचारी पनि अभाव

थपिएका मन्त्रालयहरुमा कर्मचारीहरुको पनि अभाव छ।तत्काललाई मौजुदा जनशक्तिबाटै काम चलाउने गरी कर्मचारीहरुको व्यवस्था गरिएको छ। संघबाट कर्मचारी आउन समय लाग्ने भएकाले एउटा कर्मचारीले दुईवटा मन्त्रालय हेर्नुपर्ने अवस्था आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता उपाध्यायले बताए ।

‘तत्कालका लागि मन्त्रालयको बजेट र कर्मचारी पनि बाँडेर काम गर्नु पर्ने भएको छ,’ प्रवक्ता उपाध्यायले भने, ‘अब एकै कर्मचारीले २ वटा मन्त्रालयको काम गर्नुपर्ने जिम्मेवारी थपिएको छ ।’ उनले मन्त्रालयका कर्मचारी र बजेट व्यवस्थापन बिस्तारै मिल्दै जाने बताए।

प्रदेश सरकारलाई ठूलो आर्थिक भार नपर्ने गरी मन्त्रालय सञ्चालनको तयारी भइरहेको मुख्यमन्त्री पाण्डेका निजी सचिव अच्युत लामिछानेले बताए। उनले भने, ‘नवनियुक्त मन्त्रीहरुलाई अहिले पुरानै गाडी उपलब्ध गराइएको छ, नयाँ गाडी खरिद गरिएको पनि छैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?