+
+

काठमाडौंका विद्यालयमा झाडाबान्ता फैलिएकोबारे अध्ययन गर्न स्वास्थ्यकर्मी परिचालन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २ गते १५:४३
प्रतीकात्मक तस्वीर

२ पुस, काठमाडौं । काठमाडौं उपत्यकाका केही विद्यालयका विद्यार्थीहरुमा झाडाबान्ताको समस्या देखिएपछि अध्ययन गर्न प्रभावित विद्यालयमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले केही विद्यालयका विद्यार्थीमा झाडाबान्ताको समस्या देखा परेको गुनासो आएपछि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंबाट स्वास्थ्यकर्मी परिचलान भइसकेको जानकारी दिए । उनले भने ‘विद्यालयमा ठूलो विद्यार्थी संख्यामा झाडाबान्ताको समस्या आएको भन्ने जानकारी आएपछि काठमाडौं जिल्ला जनस्वास्थ्य परिचालन भइसकेको छ । के भएको हो भन्ने रिपोर्ट आउन केही समय लाग्छ ।’

बूढानीलकण्ठ हात्तीगौंडास्थित यूरो स्कुल, मेरिडीयन्ट स्कुल बालुवाटार, यूरो किड्स छाउनी, ज्ञानभूमि बूढानीलकण्ठका विद्यालयका बालबालिकामा झाडाबान्ताको समस्या भइरहेको नेपाल अभिभावक महासंघले जनाएको छ ।

यूरो विद्यालयका केही विद्यार्थीहरु अस्पताल भर्ना समेत गर्नुपरेको महासंघले जानकारी दिएको छ । धेरै बालबालिकामा यस्तो समस्या देखिएपछि अभिभावकले बालबालिका विद्यालय पठाउन छोडेका छन् ।

अरु विद्यालयमा ठूलो संख्यामा बालबालिकामा झाडाबान्ताको समस्या देखिएपछि नेपाल अभिभावक महासंघले विभिन्न निकायमा जानकारी गराएको जनाएको छ । नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भन्डारीले उपत्यकाको ७ वटा विद्यालयका बालबालिकामा झाडाबान्ता देखिएको जानकारी प्राप्त भएको बताए । उनले भने ‘धेरै विद्यालयमा भएकोले स्थानीय तहको पहुँच भन्दा बाहिर देखिन थालेको छ । यसलाई गम्भीर रुपमा लिएर स्वास्थ्य मन्त्रालयले तत्काल केही गर्नुपर्छ भनेर जानकारी गराएका छौं ।’

बूढानीलकण्ठ नगरपालिकाले पनि यूरो स्कुलमा अनुगमन गरेको जनाएको छ । बूढानीलकण्ठ नगरपालिका शिक्षा शाखाका विद्यालय निरिक्षक इन्द्र प्रसाद दाहालले बिहीबार नै अनुगमनमा गएको बताए । उनले भने ‘हिजो सुनेपछि म विद्यालय नै पुगेको थिएँ । समस्या देखिएका केही विद्यार्थी सामान्य भइसकेको र केही भने अभिभावकले अस्पताल लगेको पाइयो । विद्यालयमा त्यस्तो केही पाइएन तर फूड पइईजन भएको हो कि भन्ने हाम्रो अनुमान छ ।’ अभिभावकहरुसँग कुराकानी हुन बाँकी रहेको उनले बताए ।

काठमाडौं महानगरपालिकाको शिक्षा अधिकारी रामप्रसाद अधिकारी झाडाबान्ता फैलिएकोबारे जानकारी नपाएको बताए । उनले भने ‘केही विद्यालयका विद्यार्थीमा कोभिड देखिएपछि कक्षा सिल गर्न लगायौं । अहिले जाँचमा नेगेटिभ आएपछि फेरि कक्षा शुरु भइसकेको छ । झाडाबान्ता फैलिएकोबारे जानकारी आएको छैन ।’

अभिभावकहरुले भने बालबालिकामा समस्या देखिएपछि जानकारी गराउँदा भाइरल भनेर गम्भीर नलिएको गुनासो गरेका छन् ।

प्याब्सन अध्यक्ष टिका पुरीले भने अहिलेसम्म कुनै जानकारी नपाएको बताए । उनले ‘केही विद्यालयमा कोभिड भएको कारण कक्षा अथवा विद्यालय सिल गरिएको छ भन्ने आएको छ । तर यो झाडाबान्ताबारे मसम्म जानकारी आएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?