+
+

पिँजडामा दामोदर, मुक्ति संघर्षमा भगवती

साउदी अरेबियाको जुबेल सहरमा अलपत्र परेका रुपन्देहीका दामोदर क्षेत्रीले अनलाइनखबरसँगको फेसबुक सम्वादमा आफ्नो पीडा पोख्दै भने, ‘आफ्नो देश फर्की जान्छुभन्दा पनि पार गर्नै नसकिने बारहरु लागेका छन् । पिँजडाभित्रको चरा जस्तै अर्काको देशमा बन्धक हुनुपरेको छ ।’

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ पुष २ गते १७:४९

२ पुस, काठमाडौं ।

बालक बबुरो द्विज शुकनाम, हुँ म परेको छू पिँजडामा ।
मकन हरे ! शिव शान्ति र चैन, सपनाबीच पनि रतिभर छैन ।।

साउदी अरेबियाको जुबेल सहरमा अलपत्र परेका रुपन्देहीका दामोदर क्षेत्रीको भोगाइ लेखनाथ पौड्यालको मास्टरपिस कविता ‘पिँजडाको सुगा’सँग हुबहु मिल्छ ।

‘आफ्नो देश फर्की जान्छुभन्दा पनि पार गर्नै नसकिने बारहरु लागेका छन्,’ अनलाइनखबरसँगको फेसबुक सम्वादमा उनले भने, ‘पिँजडाभित्रको चरा जस्तै अर्काको देशमा बन्धक हुनुपरेको छ ।’

सन् २०११ मा दुई लाख रुपैयाँ ऋण गरेर सवारी चालकका रुपमा साउदी जाँदा परिवारलाई खुसी राख्नेबाहेक दामोदरको अरु कुनै सपना थिएनन् । तर, उनलाई पठाउने ‘इमेज म्यानपावर कम्पनी’ले भनेजति तलब कम्पनीले दिँदै दिएन । खान–बस्न नै दुःख भएपछि उनले कम्पनी फेरे ।

अर्को कम्पनी पनि गतिलो नपरेपछि उनले घर फर्किएर पौरख गरेर परिवारसँगै रमाउँदै बाँच्ने सोच बनाए । तर, नेपाल फर्किने मिति आउनुभन्दा २२ दिन उनको जिन्दगीले फरक मोड लियो ।

उनले चलाएको सवारी दुर्घटनामा पर्यो । उनी भाग्यबस् बाँचे, तर एकजना पाकिस्तानी नागरिकको मृत्यु भयो । त्यही दिन दामोदरका लागि नेपाल फर्किने ढोका बन्द भइदियो । लामै अस्पताल बसाइपछि उनी फेरि काममा फर्किए ।

‘केस’ सल्टिएपछि उनी नेपाल फर्कन पाउँथे, तर २०१६ मा अदालतले दुर्घटनामा जलेको गाडीको क्षतिपूर्तिबापत ७९ हजार रियाल ( करिब २५ लाख नेपाली रुपैयाँ) तिनुपर्ने फैसला सुनायो । तर, दामोदरले कसरी तिर्ने यत्रो रकम ?

पैसा बुझाउन नसकेपछि उनी जेल परे । ७ महिनाअघि उनी पैसा तिर्ने शर्तमा जेल मुक्त त भएका छन्, तर २५ लाखको जोहो कसरी गर्ने ? जबकी, अहिले कामविहीन उनको हातमा पैसाको नाममा सुको पनि छैन ।

पराई भूमिमा दुःख फुकाउन कसलाई भेट्ने, कहाँ जाने ? रियादस्थित नेपाली दूतावासमा गुहार माग्दा जवाफ आएको छ, ‘पैसा लिएर मात्र सम्वादमा आउन भनेका छन्, जोडजाम गर्नुस् ।’

कवि शीरोमणि लेखनाथ पौडेलको ‘क्लासिक्स’का हरफसँग ठ्याक्क मिल्ने जीवनलाई योभन्दा फरक बनाउन दामोदर छटपटाइरहेका छन्, तर उपाया नास्ति !

आँसु बगाई कहिले रून्छु, कहिले मुर्दातुल्य म हुन्छु ।
कहिले पागलसरि उफ्रन्छु, केवल वनका सुख सम्झन्छु ।।

दामोदर बाँच्नका लागि अरुको शरणमा परेका छन् । उनी साथीभाइ र अन्य चिनारुहरुकहाँ गएर बस्छन्, सरसहयोगको भरमा दैनिक खर्च चलाउँछन् । काम गर्न उनलाई साउदीको कानुनले दिँदैन ।

उनी कहिले नेपाल फर्किन पाउँछन् वा पाउँदैनन् भन्ने कुरा पैसामा अड्किएको छ । कहिलेसम्म अरुको सहयोगमा बाँच्ने भन्ने टुंगो पनि नभएको उनी बताउँछन् । उनी यो परिबन्दको पिजँडा तोडेर घरतिर उड्न चाहन्छन्, तर परिवारजनले ब्याधाको शिकार हुनबाट बच्च भनिरहेका छन् ।

‘बढी नै बिरक्ति लागेको बेला साउदीबाट अर्को देशतिर भागुँ कि जस्तो पनि लाग्छ’, दामोदर भन्छन्, ‘यो कुरा सुनाउँदा परिवारजनले त्यो कदम नउठाउन भन्छन् । धैर्य गर्नु, केही सयम पख्नु, हामी छँदैछौं भनेर सम्झाउँछन् ।’

सम्हालिरहेका उनको मनले त बेलाबेला भनिरहन्छ–

कति फिर्दो हूँ कति उड्दो हूँ, कति कति देशान्तर डुल्दो हुँ ।
देव ! हरे ! किन बालकलाई, बन्धन पायो व्यर्थ भुलाई ।।

श्रीमती भगवती क्षेत्री श्रीमान परेको पिँजडा खोल्ने प्रयासमा चौथोपटक काठमाडौंमा चिसो सहँदै दौडधुप गरिरहेकी छन् । आफ्ना श्रीमानलाई फर्काउन ठूलो रकम जोहो गर्नु पर्ने बाध्यतालाई उनले मायाले सकारेकी छन् ।बुटवलको मैनाबगरमा भाडाको कोठामा बसेकी उनी २५ लाख रुपैयाँ जुटाउने अभियानमा छिन् । फर्निचर उद्योगमा खाक्से नघोटे उनको मुखमा माड लाग्न गाह्रो छ, तर हार मानेकी छैनन् ।

१० वर्षयता घरव्यवहारसहित छोराछोरीको पढाइ खर्च आफैं धानिन् ।

८ वर्षको हुँदा दामोदरले छोडेर गएका छोराको उमेर नै १८ पुग्यो । उनी ट्युसन पढाएर आफ्नो खर्चसम्म धान्दैछन् । यहीबीचमा उमेर पुगेकी छोरीको बिहे भगवतीले गरिदिइसकिन् ।

उनी घरमा ‘बलियी आमा’ र विदेशमा फसेका श्रीमानको आँटिली श्रीमति बनेर दौडधुप गरिरहेकी छन् । छोराछोरीलाई उनले भन्नु छ, ‘हेर त, तिमीहरुको बुबालाई फिर्ता ल्याइछाडेँ नि !’

भगवतीलाई श्रीमानको आउने बाटो खुलाउन नसकेकोमा बेलाबेला आत्मलाग्नी पनि हुन्छ । सँगै यो उकुसमुकसबाट छिटो पार पाउने हुटहुटी पनि बढ्छ ।

उनी पहल गरिदिन आग्रह गर्दै कहिले वडा कार्यालय पुग्छिन् त कहिले उपमहानरपालिका र सीडीओ कार्यालय । यो क्रम लगातार ६ वर्षदेखि चलेको छ, तर खाक्से घोट्ने खस्रो हात फैल्याएको परिणाम निस्कन सकेको छैन ।

अहिले काठमाडौंमा चक्कर काटिरहेकी भगवती कहिले परराष्ट्र र श्रम मन्त्रालयको ढोका–ढोका पुग्छिन् त कहिले वैदेशिक रोजगार बोर्डको सचिवालयको कोठा–कोठामा । जहाँ गएर दुःख सुनाउँदा पनि भगवतीले सहानुभुति पाइरहेकी छन्, तर उनलाई २५ लाख नगद चाहिएको छ ।

नन्द माया थापाका साथमा भगवती

नन्द माया थापाको साथसँगै पछिल्लो समय उनले साउदी अरबमा मृत्युदण्डको सजाय सुनाइएका धनुषाका उमेश यादवलाई फिर्ता ल्याएका अभियन्ता सरोज रायको आँटभरोसा पाएकी छन् ।

वैदेशिक रोजगार बोर्डमा पाएको जवाफले भने उनको मन खिन्न छ । बोर्डले उनलाई कुनै व्यक्तिलाई फर्काउन लाग्ने २५ लाख खर्च दिन मिल्ने कानुन नभएको बताएको छ । तर, उनी भन्छिन्, ‘कानुनलाई त दुःखमा परेको जनताको हितमा बनाउने हैन र ? कहाँ, के लेखेर दुःखी गरिबको हित हुन्छ, त्यो गरिदिए हुँदैन ?’

बोर्डका कतिपय कर्मचारीले उनलाई २५ लाख रुपैयाँले त विदेशमा मृत्यु भएका ३ जनाको परिवारलाई क्षतिपूर्ति दिन पुग्छ भन्ने जवाफ दिएछन् । ‘मृतकको परिवारले क्षतिपूर्ति पाउनुपर्ने कुरामा मेरो बिरोध हैन, तर जीवन बचाउन खर्च नहुने पैसा मरेपछि दिन्छु भनेर किन राखेको होला ?,’ उनी भन्छिन्, ‘श्रमिकले जति दुःख पाएपनि सहयोग गर्दैनौं, मर्यो भने उसको परिवारलाई गरौंला भन्न मिल्छ र ?’

आफूले भोट हालेर जिताएका नेताहरुले भने जहिल्यै आश्वासन मात्र दिएको उनी बताउँछिन् । ‘हामीले जिताएका विष्णु पौडेल अर्थमन्त्री हुँदा भेटेरै समस्या सुनाएँ,’ उनी भन्छिन्, ‘उहाँले नै चाहनुभयो भने २५ लाख कसो नजुट्ला भन्ने लागेको थियो, तर आश्वासन मात्र पाइयो ।’

पतिले विदेशमा कतै गलत कदम पो चाल्लान् कि भन्ने डर छ भगवीतलाई, तर आफूले कुन कदम चाल्दा चाँडो नतिजा निस्कन्छ भन्ने भेउ अझै पाउन सकेकी छैनन् उनले ।

‘काठमाडौंको भिडभाड देख्दा यतीका मानिसले एक–एक रुपैयाँ दिए २५ लाख रुपैयाँ त सजिलै जुट्छ भन्ने पनि मनमा लाग्छ’ उनी भन्छिन्, ‘तर, कसरी माग्ने ? कहाँ बसेर हात फैल्याउने ?’

भगवती क्षेत्रीको हातमा श्रीमानका कागजातहरुको मुठो त छ, तर अघि बढ्ने बाटो छैन । घरीघरी उनले आफूलाई पनि पराई देशमा बन्धक भएका श्रीमान्कै अवस्थामा पाउँछिन् । पिँजडाको सुगा कविताको हरफले भनेजस्तै–

भाग्य तमाशा जब सम्झन्छु, अनि पछि सिल्ली तुल्य म हुन्छु ।
आँसु बहन्छन् छाति चिरिन्छ, चित्त निरन्तर रोइरहन्छ ।।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?