
२ पुस, काठमाडौं। शिक्षक सेवा आयोगले राहत शिक्षकलाई उमेर हद नलाग्ने व्यवस्था नहटाइ मावि तहको खुलातर्फको विज्ञापन खोलेको भन्दै नेपाल राहत शिक्षक केन्द्रीय समितिले विरोध गरेको छ ।
समितिका अध्यक्ष खेमराज अधिकारी र महासचिव कुमार बजगाईंले विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘राहत शिक्षकलाई उमेर हद नलाग्ने व्यवस्थाका लागि गरिएको छलफल, लबिङ र ध्यानाकर्षणका साथै नेपाल शिक्षक महासंघले वार्ता निष्कर्षमा नपुग्दास्म्म विज्ञापन नखोल्न गरेको आग्रहलाई वेवास्ता गर्दै शिक्षक सेवा आयोगले विज्ञापन खोलेको छ। राहत शिक्षकलाई उमेर हद नहटाइ गरिएको विज्ञापनप्रति हाम्रो गम्भीर ध्यानाकर्षण र आपत्ति छ।’
यस्तै तत्काल उमेरहदको विषयमा अर्को सूचना प्रकाशित गरी हाल कार्यरत राहत÷करार शिक्षकहरुलाई परीक्षामा समावेश हुने वातावरण निर्माण गर्न समेत समितिले अनुरोध गरेको छ। ‘…बारम्बार ध्यानाकर्षण गरेको यो विषयलाई उपेक्षा गर्ने कोशिस भयो भने उत्पन्न हुने जुनसुकै असहज परिस्थितिको जिम्मेवार शिक्षक सेवा आयोग हुने छ।’ विज्ञप्तिमा भनिएको छ।
देशभर करीब ४० हजार राहत तथा करार शिक्षकहरु कार्यरत रहेको समितिले जनाएको छ छन् ।
शिक्षक सेवा आयोगले गत बुधबार विभिन्न विषयमा एक हजार ५४७ मावि शिक्षकको लागि विज्ञापन खोलेको छ । आयोगले उम्मेद्वारको उमेर हद १८ वर्ष पूरा भइ ४० वर्ष ननाघेको तोकेको छ ।
प्रतिक्रिया 4