
३ पुस, बुटवल । पुस ८ गतेदेखि बुटवलमा सञ्चालन हुने चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाको तयारी तीव्र पारिएको छ ।
उद्योग व्यापार संघ बुटवलको आयोजनामा देवीनगर रंगशाला नजिकको खुलाचौरमा पुस २० गतेसम्म सञ्चालन हुने मेलाको ६० प्रतिशत तयारी पूरा भएको आयोजकले जनाएको छ ।
मेला सचिवालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा हालसम्म करिब तीन सय स्टल दर्ता भइसकेका संघका अध्यक्ष गोविन्दराज गैरेले बताए ।
स्वदेशी तथा विदेशी गरी ४ सय ५० स्टल रहने मेला सम्पन्न गर्न करिब ८० लाख रुपैयाँ खर्च हुने र करिब ५० करोड रुपैयाँको कारोबार हुने लक्ष्य राखिएको उनले जानकारी दिए ।
मेलामा एक लाख पुरस्कार राशीको डान्स आइडल, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, मम्मी डान्स (आमा नृत्य प्रतियोगिता), राष्ट्रिय कलाकारको प्रस्तुति, फेशन शो, निशुल्क दन्त शिविर र रक्तदानलगायतका कार्यक्रम पनि राखिएको छ ।
मेलाले स्वदेशी उद्योगका उत्पादनको वजार प्रवद्र्धन, व्यवसाय र सेवाको विस्तार तथा नयाँ पुस्तालाई उद्यमशील बनाउन उत्प्रेरणा दिने संघका संस्थापक अध्यक्ष खिमनारायण पराजुलीले बताए ।
त्यस्तै उद्योगी र उपभोक्तालाई एकैथलोमा जमघट गराई उद्योगलाई उपभोक्तामैत्री बनाउन पुलको काम गर्ने आयोजकको भनाइ छ ।
मेलामा १५ वटा सेल्फी जोन, संख–घण्टासहितका पुजारी रहने गरी ११ थरी देवी देवताका मूर्ति पनि राखिने संघका महासचिव पदम जिसीले जानकारी दिए ।
मेलाबाट वचत भएको रकमबाट बुटवलका विभिन्न स्थानमा सार्वजनिक शौचालय निर्माण तथा आदिमानव रामापिथेकसको मूर्ति वा पाल्पाको नुवाकोटमा कर्णेल उजिरसिंहको शालिक बनाउने योजना रहेको संघले जनाएको छ ।
प्रतिक्रिया 4