+
+

एमालेलाई सर्वदलीय बैठकको आह्वान : संसद अवरोध नगर, संवादमा आऊ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते १८:१३

४ पुस, काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले प्रमुख विपक्षी दल नेकपा एमालेलाई संसद अवरोध नगर्न आह्वान गरेका छन् ।

आइतबार बसेको सर्वदलीय बैठकले आफ्ना सहमति प्रकट गर्ने नाममा जननिर्वाचित संसदलाई बन्धन नबनाउन एमालेलाई आग्रह गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

‘विरोध गर्ने र असहमति प्रकट गर्ने मूल थलो संसद नै हो तर जननिर्वाचित संस्थालाई लामो समय बन्धक बनाउनु उचित होइन’ कार्कीले बैठकको निष्कर्ष सुनाउँदै भनेका छन्, ‘प्रतिपक्षले उठाएको विषयमा संवाद गर्न र उपयुक्त सहमति खोज्न सरकार तयार छ ।’

एमाले केन्द्रीय समितिले आफ्ना सांसदहरुलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै नेकपा एमालेले लगातार संसद अवरोध गरिरहेको छ ।

सर्वदलीय बैठकले संघीय संसद निरन्तर अवरुद्ध हुँदा जनताका आवाज संसदबाट उठ्न नसकेको निष्कर्ष निकालेको छ । ‘संसदीय लोकतन्त्रलाई जिवन्त राख्न प्रतिपक्षको भूमिका महत्वपूर्ण छ, तर त्यसको मतलब संसद चल्न नदिने भन्ने होइन’ कार्कीले भने ।

सर्वदलीय बैठकले एमालेलाई गरेको आह्वानको पूर्णपाठ 

संघीय संसद् निरन्तर अवरुद्ध हुँदा संसदको नियमित काम र जनताले यो संस्थाबाट अपेक्षा गरेको गहन भूमिका समेत प्रभावित भएको छ । जननिर्वाचित संस्थालाई यसरी लामो समय बन्धक बनाउनु उचित होइन । संसदीय लोकतन्त्रलाई जीवन्त राख्न प्रतिपक्षको भूमिका महत्वपूर्ण हुन्छ । तर सशक्त प्रतिपक्ष हुनुको अर्थ संसद नै चल्न नदिनु भन्ने होइन । विरोध र असहमति प्रकट गर्ने अरु थुप्रै उपाय हुन्छन् तर सिंगो संसदलाई बन्धक बनाउँदा हाम्रो लोकतन्त्र र संसदीय अभ्याससमेत कमजोर हुनजाने खतरा हुन्छ । प्रतिपक्षले उठाएका विषयमा सम्वाद गर्न र उपयुक्त सहमति खोज्न सरकार तयार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?