+
+

दुर्घटनाबाट स्थानीय नेताको मृत्युपछि रौतहटमा तनाव, तीन राउण्ड अश्रुग्यास प्रहार

दुई प्रहरीसहित तीन जना घाइते

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७८ पुष ५ गते १५:१८

५ पुस, रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकामा आइतबारराति भएको दुर्घटनाका दोषीलाई प्रहरीले जोगाउन खोजेको भन्दै स्थानीयले प्रदर्शन गरेका छन् । प्रदर्शनको क्रममा स्थानीयले ठक्कर दिन टिपर तोडफोड गर्दै प्रहरी चौकीमा समेत ढुंगामुढा गरेका छन् ।

हिमालीवासमा आइतबार राति ८.३० बजेको समयमा ना.८ख ४२०२ नम्बरको टिपरले ना.१८प ८११५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा माओवादीका स्थानीय नेता खेदु चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।

चौधरीको मृत्यु पश्चात प्रहरीले मुचुल्का नै नगरी शवलाई पोष्टमार्टम गर्न पठाएको र दोषीलाई जोगाउन स्थानीय चौकीका प्रमुखले भूमिका खेलेको आरोप उनीहरुको छ ।

प्रहरी निरीक्षक विष्णु विश्वकर्माले चौधरीको मृत्युपछि पीडित परिवारको रोहवरमा सर्जमिन मुचुल्का गरी पोष्टमार्टमका लागि शव पठाउनु पर्नेमा त्यसो नगरेको स्थानीयको आरोप छ ।

मृतकका आफन्त तथा स्थानीयवासीले सोमबार बिहानदेखि विजयपुरमा प्रर्दशन गरेका थिए । प्रदर्शनकारीले प्रहरी चौकीमा ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले लाठी चार्ज गर्दै तीन राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो ।

प्रर्दशनका क्रममा २ जना प्रहरी घाइते भएको प्रहरी निरीक्षक विश्वकर्माले बताए । प्रहरीको लाठी प्रहारबाट स्थानीय मुक्ति पटेलको टाउको फुटेको छ ।

घटना पश्चात फरार भएका टिपरका चालक भरतलाल रुम्बालाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको रौतहटका एसपी विनोद घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?