+
+

ए डिभिजन लिगमा एपीएफको पहिलो जित, आशिषले गरे दुई गोल

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ५ गते १६:१३

५ पुस, काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगमा ससश्त्र प्रहरीको एपीएफ फुटबल क्लबले पहिलो जित निकालेको छ । लिगमा सोमबार भएको पाँचौ चरणको अन्तिम खेलमा एपीएफले फ्रेण्ड्स क्लबलाई ३-१ ले पराजित गरेको हो ।

अंक तालिकाको पुछारमा रहेका दुई टिमबीच भएको खेलमा एपीएफले बाजी मार्दै ११ औं स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफले ३० औं मिनेटमा बिके तामाङको गोलमार्फत अग्रता लिएको थियो। त्यसको दुई मिनेटपछि नै आशिष लामाले गोल गर्दै एपीएफको अग्रता दोब्बर पारे । दुवै गोलका लागि नवीन लामाले पास मिलाएका थिए ।

आशिषले ५६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३-० को अग्रता दिलाए । दोस्रो हाफमा फ्रेण्ड्सले गोल गर्दै खेलमा फर्कने प्रयास गरेको थियो । ६९ औं मिनेटमा फ्रेण्ड्सका प्रिजेन तामाङले पेनाल्टीमा गोल गर्दै खेललाई ३-१ मा ल्याए । तर त्यसपछि फ्रेण्ड्सले गोल फर्काउन सकेन ।

पहिलो जितपछि एपीएफले ५ खेलबाट ४ अंक जोडेको छ । समान अंक भएपनि एपीएफले जावलाखेल युथ क्लब र च्यासल युथ क्लबलाई गोल अन्तरमा पछि पारेको हो । पहिलो जितपछि एपीएफका प्रशिक्षक कुमार थापाले खुशी व्यक्त गर्दै अझै सुधार गर्नुपर्ने बताए ।

‘बटमको दुई क्लबबीच राम्रो खेल भयो। आशिषले ह्याट्रिक गर्नुपर्ने थियो । त्यो मिस भयो’, थापाले भने, ‘५ खेलबाट ४ अंक भएको छ । सन्तोषजनक नै मान्नुपर्छ ।’

उता फ्रेण्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले रेलिगेसन जोनमा रहेकाले जित्नै पर्ने खेलमा पराजित भएको बताए । ‘२५ मिनेटसम्म हामीले ३-४ अवसर बनाएका थियौं । राम्रो खेलेका थियौं । तर लगातार दुई गोल खाएपछि फुटबल खेल्न बिर्से जस्तो भयो । कन्फिडेन्स पनि गयो ।’

हारपछि फ्रेण्ड्स ५ खेलबाट २ अंकसहित अन्तिम स्थानमा झरेको छ ।

विभागीय टोलीमा पहिलो पटक विदेशी खेलाडी

शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोलीले पहिलो पटक विदेशी खेलाडी खेलाएको छ । एपीएफ फुटबल क्लबले क्लब लाइसेन्स प्राप्त गरेपछि पहिलो पटक विदेशी खेलाडी खेलाएको छ । जारी लिग अन्तर्गत पाँचौं चरणको अन्तिम खेलमा एपीएफले सोमबार फ्रेण्ड्सविरुद्ध जापानी खेलाडी युया कुरियामालाई खेलाएको हो ।

एपीएफका प्रशिक्षक कुमार थापाले गोलकिपरमा इन्जुरीको समस्या भएकोले विदेशी खेलाडी भित्र्याएको बताए । एपीएफले यसअघि आफ्ना तीन गोलकिपरलाई खेलइसकेको छ । तर शुरुको चार चरणमा जित हात पार्न नसकेको एपीएफले पाँचौं चरणमा आएर फ्रेण्ड्स विरुद्ध जित हात पार्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?