
५ पुस, काठमाडौं । मुलुककै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले सोमबार ४७ औं दीक्षान्त समारोहमा २९ हजार ७२९ विद्यार्थीलाई दीक्षित गरेको छ । विद्यावारिधी र एमफिलमा उत्तीर्ण तथा स्नातकोत्तर र स्नातक तहका उत्कृष्ट विद्यार्थी दीक्षित भएका हुन् ।
त्रिविका उपकुलपति प्रा.डा धर्मकान्त बाँस्कोटाले ५९ औं ग्रेस लिस्टमा समावेश भएका २९ हजार ७ सय २९ जना दीक्षित भएको जानकारी दिए ।
कोभिड–१९ महामारीका कारण दुई वर्षयता त्रिविको दीक्षान्त समारोह बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय परिसरमा आयोजना गरिएको छ। त्रिविमा अध्ययन अनुसन्धान गरी २०७७ असार १ देखि २०७८ जेठ ३२ सम्म ट्रान्सक्रिप्ट लिई ५९ औं ग्रेसलिस्टमा समावेश भएका विद्यार्थीलाई दीक्षित गरेको उपकुलपति धर्मकान्त बास्कोटाले जानकारी दिए ।
दीक्षान्त समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिविले समय सापेक्ष शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्नुपर्ने बताए । ‘विश्वविद्यालयको शिक्षा व्यवहारिक, जीवनोपयोगी, समाजको विकास र रूपान्तरणमा सहयोगी हुनुपर्छ’ उनले भने ।
समारोहमा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीका निर्देशक भी. रामगोपाल राव प्रमुख अतिथिको रुपमा सहभागी थिए । रावले मुलुकको अर्थतन्त्र रुपान्तरण गर्न सिर्जनात्मक, नव–प्रवर्तनशील र युग सुहाउँदो वैज्ञानिक एवं प्राविधिक जनशक्ति उत्पादन हुनुपर्ने बताए ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालको उच्च शिक्षाको प्रमुख मियोको रुपमा त्रिविले आर्थिक र सामाजिक रुपान्तरणमा प्रभावकारी र सशक्त भूमिका निर्वाह गरेको बताए ।
त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले ६२ बर्षको गौरवपूर्ण इतिहासमा त्रिविले नेपालको सुगम तथा दुर्गम स्थानमा उच्च शिक्षाको ज्योति फैलाएको बताए ।
प्रतिक्रिया 4