+
+

विदेशबाट फर्किंदा साथीले पठाएको सामानले पुर्‍यायो हिरासतमा

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ पुष ५ गते २०:२६

५ पुस, काठमाडौं । मंसिर २९ गते हिमालयन एअरलाइन्सको उडान नम्बर एच ९५६४ को जहाज कतारको राजधानी दोहाबाट बिहान १०ः३० मा काठमाडौंमा अवतरण भयो ।

सो जहाजमा आएका एक यात्रुको सुटकेस एक्सरे मेसिनमा राखेर जाँच गर्दा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकारीले अवैध वस्तु रहेको अनुमान गरे ।

सुटकेस खोलेर हेर्दा भन्सार अधिकारीले एउटा टर्च लाइटको ब्याट्री र बल्बको बीचमा सुन लुकाएको भेटे । तत्काल नियन्त्रणमा लिएर अनुसन्धान गर्दा ती यात्रुले ‘उक्त टर्च दोहामा सामान्य चिनजान भएका व्यक्तिले नेपालमा आफन्तलाई लगिदिनू, एअरपोर्टमै लिन आउँछ’ भनेर पठाएको बताए ।

तर उनले सो टर्चलाइट बुझाउन नपाउँदै अवैध सुन ल्याएको आरोपमा पक्राउ परे । उनी अहिले प्रहरी वृत्त गौशालाको हिरासतमा छन् ।

०००

मंसिर २६ गते नेपाल एअरलाइन्सको उडानमार्फत कतारको दोहाबाट काठमाडौं उत्रेका एक यात्रुको लगेजलाई भन्सार अधिकारीले आशंका गरी एक्सरे मेसिनमा चेकजाँच गरे ।

लगेज खोलेर हेर्दा एउटा पास्ता मेकर मेसिन भेटियो । बाहिरबाट हेर्दा मेसिनमा कुनै कैफियत नदेखिए पनि भन्सार अधिकारीले चित्त बुझाएनन् । पास्ता रोलर (स्टिलको पाइप) लाई धमाधम काट्न थाले । नभन्दै उनीहरूको अनुमान सही सावित भयो । उक्त पाइपभित्र ३०० ग्रामको सुनको अर्को पाइपलाई सेतो रङ्ग लगाएर लुकाएको भेटियो ।

प्रारम्भिक छानविनको क्रममा उक्त पास्ता मेकर ल्याउने यात्रुले आफूलाई दोहामा दाइको साथीले आफन्तलाई लगिदिनु भनेर पठाएको वयान दिए ।

‘शुरूमा आफूले ल्याउन नमाने पनि दाइले नै कर गरेर लगिदिनु भनेपछि इन्कार गर्न नसकेको बयान उनले दिएका छन्,’ एक भन्सार अधिकृतले अनलाइनखबरसंग भने ।

ती यात्रुले वयानमा भनेका छन् ‘नेपाल पुगेपछि कसैले फोन गर्नेछ र सो सामान लिन आउने छ भनिएको थियो ।’

०००

मंसिर २६ गते नै कतारको दोहाबाटै हिमालयन एअरलाइन्समार्फत काठमाडौं उत्रेकी एक महिलाको लगेजमा रहेको पास्ता मेकरमा पनि सुन भेटियो । ती महिलाको बयान अनुसार ‘नजिकको साथीको ब्वाइफ्रेन्डले घरमा लागि दिन पास्ता मेकर पठाएको थियो ।’

यी त प्रतिनिधि घटना मात्रै हुन्, खाडी मुलुकबाट आउने यात्रुबाट यसरी सुन नियन्त्रणमा लिनु नियमितजस्तै भएको छ । अरुको सामान बोकेर आएको बयान दिएका तर अवैध सुन बोकेको कसुरमा पक्राउ परेका यात्रुहरुको संख्या दुई सातामा १० जना भन्दा बढी पुगेको छ ।

विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईकाअनुसार साउण्ड सिस्टमभित्रको स्पिकरदेखि राइस कुकरको हिटिङ प्याडको भित्रसमेत सुन लुकाएर ल्याएको भेटिएको छ । ती सामान बोकेर आउने यात्रुको भनाइ अनुसार सुन लुकाएकोबारे उनीहरु अनविज्ञ छन् ।

‘आफन्त वा सामान्य चिनजानको व्यक्तिले नेपाल पु¥याइदिनू भनेर दिएको हो । यसभित्र सुन राखेको थियो भन्ने जानकारी नै थिएन’ धेरै यात्रुले यसो भन्ने गरेका विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले बताए । ती घटनामा यात्रुले जानी जानी सामान ल्याएका हुन् वा अञ्जानमा ल्याएका हुन् भन्ने नखुलेको उनले बताए ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले मंसिर १ र १२ गते छुट्टाछुट्टै सूचना जारी गरेर विदेशबाट आउँदा अरुको सामान नबोक्न सार्वजनिक अपिल जारी गरेको थियो । सूचनामा भनिएको थियो, ‘….त्यस्तो माल वस्तुमा अन्यकुनै अवैध वस्तु लुकाइएको छैन भन्ने सुनिश्चित नभएसम्म अरू कसैको मालवस्तु नलिनु र नल्याउनुहुन समेत यस कार्यालय अनुरोध गर्दछ ।’

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भट्टराईका अनुसार उक्त सूचनापछि अरूको सामान बोक्ने यात्रुको संख्या केही घटेको छ ।

भन्सारले आफूले ल्याएको सामानमा अवैध वस्तु लुकाएको वा नलुकाएको सुनिश्चित गर्न पनि आग्रह गरेको छ । अन्यथा कानूनको नजरमा त्यस्तो मालवस्तु ल्याउने व्यक्ति नै दोषी ठहर हुने भएकाले कारबाही भोग्नुपर्ने भन्दै भन्सार कार्यालयले यात्रुहरुलाई सचेत गराएको छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?