+
+

१०० वर्ष बाँच्ने, गर्भ रहेको ५ वर्षमा बच्चा जन्माउने अनौठो माछा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ६ गते ९:५१

पृथ्वीमा रहेका कैयन् अनौठा तथा रहस्यमय जीवहरू छन् । जिउँदो जिवाश्मको नामले समेत चिनिने एउटा माछा त्यस्तै रहस्यले भरिएको छ । सेलाकान्थ (Coelancanth) नामको उक्त माछा डाइनोसर युगदेखि नै पृथ्वीमा अस्तित्वमा छ अर्थात् यो माछाको प्रजाति ४२ करोड वर्ष पूरानो हो ।

सेलाकान्थ माछाको उमेर एक सय वर्षसम्म हुन्छ । यो भन्दा अनौठो त के भने सेलकान्थ माछाले गर्भाधारण गरेको पाँच वर्षपछि मात्र बच्चा जन्माउँछ ।

उक्त माछामा गरिएको नयाँ अनुसन्धानले सो खुलासा गरेको हो । सन् १९३० भन्दा अगाडि यो माछा लोप भएको ठानिएको थियो । तर पछि यो माछा दक्षिण अफ्रिकाको समुद्री तटमा फेला पारियो । यस अद्भूत माछाका बारेमा विभिन्न रहस्यमय खुलासाहरू भएका छन् ।

जीव वैज्ञानिकहरूका अनुसार यो माछा रातमा भ्रमण गर्ने समयमा मानिसकै आकारको हुन सक्दछ । यो माछाको सरीरको आकार निकै सुस्त गतिमा बढ्दछ र १०० वर्षसम्म जीवित रहन सक्दछ ।

५० वर्षको उमेर पुगेपछि मात्रै यो माछाको पोथीले गर्भाधारण गर्दछ र गर्भ रहेको ५ वर्षप्छि मात्र बच्चा जन्माउँदछ । फ्रान्सेली शोधकर्ताहरूका अनुसार यो माछा ४० देखि ६९ वर्षमा मात्रै परिपक्व बन्दछ ।

हाल निकै दुर्लभ तथा संकटापन्न अवस्थामा रहेको यो माछाका केवल दुईवटा प्रजातिमात्रै हालसम्म फेला परेका छन् । त्यसमध्ये एउटा प्रजाति अफ्रिकाको पूर्वी तटस्थित कोमोरोस टापु समूह क्षेत्रमा र अर्को प्रजाति इन्डोनेसियाको सुलावेसी टापु नजिकै पाइएको छ ।

यो माछा समुद्रको २३ सय फिट गहिराइमा बस्दछ । केही समय पहिले शार्क माछाका सिकारीहरूले यो सेलाकान्थ माछा जिउँदै समाउन सफल भएका थिए । हिन्द महासागरको मडागास्करको तटमा उक्त माछा समाइएको थियो।

शोधकर्ताहरूका अनुसार शार्कको सिकारका कारण सेलाकान्थ माछाको अस्तित्वमाथि संकट उत्पन्न भएको छ । शार्कको सिकार गर्नका लागि समुद्रको गहिराइसम्मै जालको प्रयोग गर्नाले सेलाकान्थ माछा समेत जालमा पर्ने र त्यसको सिकार हुने गरेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?