+
+

बालबालिकालाई कक्षाकोठामा कति घण्टा ?

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ६ गते १३:१७
फाइल तस्वीर

६ पुस, काठमाडौं । हाम्रा बालबालिका कक्षाकोठामा कति घण्टा बिताउँछन् ? हालको तालिकाले बताउँछ, ८ घण्टा । बिहान आठ बजे विद्यार्थीको लागि खुलेका विद्यालयका ढोका साँझ ५ बजेपछि मात्रै बन्द हुन्छन् । खासगरी निजी विद्यालयहरुमा यस्तो परिपाटी देखिन्छ ।

जबकि शिक्षा प्रणालीको लागि आदर्श मानिएको फिनल्याण्डमा विद्यार्थीलाई जम्मा ५ घण्टा मात्रै कक्षाकोठामा राख्ने गरिन्छ । बिहान साढे ८ बजेदेखि शुरु भएको कक्षा साढे २ बजे सकिन्छ । बीचमा एक घण्टा खाजा छुट्टी हुन्छ भने दुई कक्षाको बीचमा १५ मिनेट ब्रेक लिने गरिन्छ ।

शिक्षाविद् बालचन्द्र लुइँटेलका अनुसार सरकारले तयार पारेको अवधारणाले नेपालमा पनि बच्चालाई बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्मको कक्षाको व्यवस्था गरेको छ । माध्यमिक तहका विद्यार्थीको लागि १० देखि ४ बजेसम्म कक्षा सञ्चालन हुन्छ । तर निजी स्कुलहरुले भने यो मापदण्डलाई पालना गरेको देखिँदैन । अधिकांश निजी विद्यालयहरुले खाना, खाजा लगायतका सुविधा दिएरै विद्यार्थीबाट चर्काे असुली गर्ने गरेको भेटिन्छ ।

आर्थिक सहयोग र विकास संगठनमा संगठित फिनल्याण्ड, नर्वे, स्वीडेन जस्ता मुलुकहरु आधुनिक शिक्षा प्रणालीको हिसाबमा आदर्श मानिन्छ । ती मुलुकहरुले ७ देखि ८ वर्षका बालबालिकाको लागि एक वर्षमा ७८९ घण्टाको स्कुल बसाइलाई गुणस्तरीय मानेका छन् । ९ देखि ११ वर्ष उमेरका विद्यार्थीहरुले थप ४५ घण्टा प्रतिवर्ष कक्षाकोठामा समय बिताउनुपर्छ । ११ देखि यसरी नै उमेर अनुसार कक्षाकोठामा बस्ने समय तय गरिन्छ ।

विद्यालयमा नै खाजा-खाना अनिवार्य गरेर बालबालिकालाई लामो समय कक्षाकोठामा राख्नु निजी विद्यालयको व्यापारिक स्वार्थ हो -प्रा.डा. विद्यानाथ कोइराला

के छ शिक्षा नियमावलीमा ?

विद्यमान संशोधित ऐन-नियम अनुसार सरकारले कुनै पनि विद्यार्थीलाई एक दिनमा बढीमा ६ घण्टाभन्दा बढी कक्षाकोठामा नराख्ने नीति लिएको छ । शिक्षा नियमावली-२०५९ को आठौं संशोधनले विद्यालयमा बिदासम्बन्धी व्यवस्था उल्लेख गरेको छ । त्यसमा वडादशैंको घटस्थापनादेखि पूर्णिमासम्म विद्यालय बन्द रहनेछ । नियमावली अनुसार एक शैक्षिक सत्रमा हिउँदे बिदा वा वर्षे बिदा वा दुवै गरी ४५ दिन विद्यालय बन्द गर्ने उल्लेख गरेको छ । यसबाहेक पनि व्यवस्थापन समितिले एक शैक्षिक सत्रमा थप पाँच दिनसम्म स्थानीय बिदा दिई विद्यालय बन्द गर्न सकिने उल्लेख छ ।

सरकारी नीति अनुसार एक वर्षमा २२० दिनको शैक्षिक क्यालेण्डर हुन्छ । जसमा पूर्वप्राथमिक तहका विद्यार्थीहरुको लागि एक दिनमा ४ घण्टा र त्यसभन्दा माथिका विद्यार्थीलाई दैनिक ६ घण्टा विद्यालयमा राख्ने नीति सरकारले लिएको छ ।

अहिलेको शिक्षा प्रणाली अनुसार भन्ने हो भने बिहान १० बजेदेखि ३ बजेसम्मको ५ घण्टामा एक घण्टा खाजा छुट्टी राख्दा एक शैक्षिक दिनमा ४ घण्टा कक्षाकोठामा बिताउने गर्छन् । यसको आधारमा भन्दा सरकारी नीति अनुसार पूर्वप्राथमिक तहका विद्यार्थीहरुले वर्षमा ८ सय ८० घण्टा र त्यसभन्दा माथिका विद्यार्थीले १ हजार ३२० घण्टा कक्षामा बिताउनुपर्छ । तर यो सरकारी नीति अनुसार पछिल्लो समय धेरै विद्यालयले कक्षा सञ्चालन गर्ने गरेको पाइँदैन ।

दिवा आवासीय : आवश्यकता कि धन्दा ?

अहिले अधिकांश निजी विद्यालयहरुले दिवा आवासीय विद्यालयको प्रचलन ल्याएका छन् । जसअनुसार बिहान ८ बजेदेखि साँझ पाँच बजेसम्म नै बालबालिकालाई विद्यालयमा राख्ने परिपाटी छ । विद्यालयमा नास्ता, खाना, खाजा खुवाउने गरिन्छ । तर निजी विद्यालयहरुले भने विद्यालयमा नै अनिवार्य खाना र खाजा खुवाउनुपर्ने, घरबाट खाना खाजा ल्याउन नपाउने जस्ता बाध्यकारी व्यवस्था गर्ने गरेका छन् । व्यस्त अभिभावक जो बालबच्चा हेर्न सक्दैनन्, उनीहरुका लागि यो उपयोगी भएपनि बच्चालाई खानेकुरा पठाउन भ्याउने अभिभावकको लागि भने यो उपयुक्त हुँदैन ।

शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइराला विद्यालयमा नै खाना अनिवार्य गरेर धेरै लामो समय कक्षाकोठामा राख्ने परिपाटी व्यावसायिक सोचको उपज रहेको बताउँछन् ।

डा. कोइराला अहिले जुन प्रचलित शिक्षा प्रणाली छ, त्यसले विद्यार्थीलाई समय सान्दर्भिक विज्ञ बनाउन नसक्ने दाबी गर्छन् । अहिलेको शिक्षा प्रणालीलाई पूर्णतः परिवर्तन गरेर विद्यार्थीलाई आफैं नयाँ कुरा खोज्ने र शिक्षकले त्यसको विश्लेषण गर्ने शैली अपनाउनुपर्ने उनको भनाइ छ । ‘अहिले प्रविधिको प्रयोगले विद्यार्थीहरु घरमै बसेर अनेक स्रोतबाट सूचना संकलन गर्छन् । तर शिक्षकहरु पुरानै शैलीबाट विद्यालयमा प्रस्तुत हुँदा शिक्षक र विद्यार्थीबीचको ज्ञानको स्तरमा दूरी बढ्न सक्छ,’ कोइराला भन्छन् ।

लामो समय कक्षाकोठामा राख्नु अनुचित

प्रा. डा. विद्यानाथ कोइराला स्कुलमा मात्रै धेरै समय बिताउनुपर्छ भन्ने धारणा औचित्यहीन भइसकेको बताउँछन् । अहिलेका शिक्षकहरु भुत्ते भइसकेको भन्दै उनीहरुलाई प्रविधिको बारेमा केही जानकारी नहुने समस्या रहेको भन्दै परम्परागत तरिकाको अध्यापन शैली हटाउनुपर्ने उनको तर्क छ । डा. कोइराला अब शिक्षकले विद्यार्थीलाई प्रश्न सोध्ने नभई विद्यार्थीले शिक्षकलाई प्रश्न सोध्ने चलन बढी ल्याउनुपर्नेमा जोड दिन्छन् ।

त्यस्तै, काठमाडौं विश्वविद्यालयको शिक्षा संकायका डीन प्रा. डा. बालचन्द्र लुइँटेल नेपालमा पनि सरकारी नीति अनुसार विद्यालय सञ्चालन गर्ने हो भने त्यो व्यावहारिक रहेको बताउँछन् । तर धेरै विद्यालयमा राख्यो भने धेरै विद्वान बनाउन सकिन्छ भन्ने मान्यता सान्दर्भिक नरहेको उनको तर्क छ ।

‘नेपालकै सरकारी नीति हेर्ने हो भने पनि ३ बजेसम्म सानो कक्षालाई र ठूलो कक्षालाई ४ सम्म हो । बीचमा एक घण्टा ब्रेक हुन्छ । अर्को भन्दा १५ मिनेटभन्दा अघि बोलाएर गर्ने गरेको हो,’ उनी भन्छन्, ‘विद्यालयले गुणस्तरीय खाना÷खाजा दिनु, त्यसको लागि शुल्क लिनु सबै जायज मान्न सकिएला, तर विद्यार्थीलाई कक्षाकोठामा धेरैबेर थुनेर सिकाउने जुन सिकाइको सिद्धान्त र प्रक्रिया छ, त्यो अहिलेको लागि जायज होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?