+
+

एमसीसीविरुद्ध मंगलबार पनि काठमाडौंमा प्रर्दशन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ६ गते १७:१२

६ पुस, काठमाडौं । एमसीसी खारेज गर्न माग गर्दै आएका मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मालेसहितमा राजनीतिक दलहरुले मंगलबार पनि काठमाडौंमा विरोध प्रर्दशन गरेका छन ।

एमसीसी संसदबाट पारित गर्न नदिने चेतावनी दिँदै नेकपा (क्रान्तिकारी माओवादी)का नेता सीपी गजुरेल, नेकपा मालेका महासचिव सिपी मैनालीसहितका नेताहरुको अगुवाइमा काठमाडौंमा विरोध प्रर्दशन गरिएको हो ।

कार्यक्रममा बोल्दै नेकपा (माले) का महासचिव एवम् पूर्वउपप्रधानमन्त्री सिपी मैनालीले एमसीसी अनुदान नभएको दावी गरे । उनले कुनै पनि अनुदान संसदबाट पास गर्नु नपर्ने र एमसीसी प्रचार गरिएअनुसार अहिले नआएको समेत बताए ।

महासचिव मैनालीले एमसीसीमार्फत् अमेरिकाले नेपाललाई सैन्य रणनीति भित्र पारेर चीनसँग लड्नको लागि नेपाललाई अखडाको रुपमा प्रयोग गर्न चाहेको समेत बताए । उनले ५० करोड डलरमा नेपालको स्वाधीनता बिक्री गर्न नदिने बताए ।

‘यो एमसीसी जुन प्रयोजनको निम्ति नेपालमा आइरहेको छ त्यो भनेर प्रचार गरिए अनुसारको आएको छैन । यसलाई अनुदान हो भनिरहेका छन् । यो अनुदान हुँदै होइन । कुनै अनुदानलाई संसदबाट पास गर्नुपर्छ र ? एमसीसी अमेरिकाको एउटा रणनीतिको अभिन्न अंग हो ।’ महासचिव मैनालीले भने, ‘नेपाललाई उसले त्यो रणनीति भित्र पार्न चाहन्छ । सैनिक संगठनमा नेपाललाई प्रयोग गर्न चाहन्छ । ५० करोड डलरमा नेपालको स्वाधीनता बिक्री हुनु हुँदैन भन्ने हाम्रो भनाइ हो ।’

त्यस्तै नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले एमसीसी नेपालीहरुका लागि एउटा धोका भएको बताए । उनले विकास निर्माणको नाममा आउने रकमको नाममा अमेरिकाले सुरक्षा रणनीति भित्र्याउन चाहेको आरोप लगाए ।

नेता गजुरेलले एमसीसी सम्झौता खारेज नभएसम्म आन्दोलन जारी रहने बताए । उनले एमसीसी पारित भए नेपाल रणभूमिमा परिणत हुने दाबी गरे । उनले अमेरिकाको पैसा खाएकाहरुले, आश्वासनमा बिकेकाहरुले नै एमसीसी पास गर्न खोजेको आरोप लगाए ।

नेता गजुरेलले भने, ‘हामीले एमसीसी एउटा धोका हो भनेर आज पनि नारा लगाइरहेका छौँ । बाहिर एउटा कुरा हो । हात्तीको देखाउने दाँत जस्तो छ । भित्रि दाँत अर्कै छन् । २००७, २०४६ र २०६३ सालका राजनीतिक परिवर्तनमा साथ दिएकाहरुले उनीहरुको प्रभाव र हस्तक्षेपलाई संलग्न दलहरुले स्वीकार गरेको हुनाले उनीहरु चुकेका छन् । आश्वासनमा बिकेका छन् । उनीहरुको पैसामा बिकेका छन् ।’

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका संयोजक विश्वभक्त दुलाल (आहुती)ले ससदवादी दलमा पनि देशभक्त नेताहरु भएकोले सहजै एमसीसी पास हुन नसकेको बताए । उनले केही पार्टीहरु फुटबाट आएकोले आगामी चुनावलाई मध्यनजर गरेर एमसीसीको पक्षमा पहिलेजति हौसिन छोडेको बताए ।

संयोजक दुलालले भने, ‘संसदवादी पार्टीहरु भित्र पनि देशभक्तहरु पनि छन् । उनीहरु यसलाई सजिलैसँग पारित हुन दिने स्थितिमा छैनन् । केही संसदवादी पार्टीहरु विभिन्न फुटहरुबाट आएका छन् । उनीहरु आगामि चुनावमा यो मुद्दाले असर नगरोस् भनेर पनि पहिला एमसीसीको पक्षमा हौसिएजति अहिले हौसिएका छैनन् ।’

एमसीसी लागू भएको छैन भन्ने कुरा सत्य नभएको र एमसीए भन्ने संस्था बनेर ११ अर्ब बढी रकम खर्च गरिसकेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?