+

मनोविद् भन्छन्- नेपाली दम्पतीले यौनका विषयमा छलफल नै गर्दैनन्

२०७८ पुष  ६ गते १७:२३ २०७८ पुष ६ गते १७:२३
मनोविद् भन्छन्- नेपाली दम्पतीले यौनका विषयमा छलफल नै गर्दैनन्

६ पुस, काठमाडौं । पछिल्लो समय नेपाली समाजमा दाम्पत्य जीवन विचलनको घटना बढेको देखिन्छ । वैदेशिक रोजगारीको कारण होस् वा दम्पतीबीच यौनको विषयमा हुने छलफलको कमीले दाम्पत्य जीवनमा कुनै न कुनै समस्या देखिन्छ ।

मनोवैज्ञानिक रुपमा के हो त यसको कारण ? मनोविद् डा. विजय ज्ञवालीसँग दम्पतीको यौन जीवन र पारिवारिक विचलनको बारेमा अनलाइनखबरले गरेको कुराकानी :

नेपाली दम्पतीको कलह ओछ्यानबाट शुरु हुन्छ भनिन्छ, के यस्तै हुन्छ ?

त्यसरी भन्न मिल्दैन । यौन जीवन भनेको अधिकांश नेपाली दम्पतीमा चर्चा नहुने कुरा हो । दम्पती मात्रै नभएर यौन जीवनको कुरा अरुलाई पनि सुनाइँदैन । त्यसैले दम्पतीमा खटपट हुने बित्तिकै पक्कै पनि यसको कारण यौन हुन सक्छ भन्ने अनुमान गरिएको हुन सक्छ । धेरैले दम्पतीको झगडाको कारण स्पष्ट नबुझेपछि यस्तो अनुमान गर्ने गर्छन् । मैले देखेको दम्पतीबीचको कलहको मुख्य कारण उनीहरुबीचको कम बुझाइ नै हो ।

अहिलेका दम्पतीभन्दा पहिलेका दम्पतीमा यौनको बारेमा बढी छलफल हुन्थ्यो । प्राकक्रीडाको बारेमा जानकारी दिनका लागि विभिन्न मन्दिरहरुमा मूर्ति कुँदिन्थे । वात्सायन जस्ता ऋषिले त कामसूत्र नामक ग्रन्थ नै लेखेका थिए । तर अहिले हामी यस्ता सामग्री खुलेर प्रयोग गर्न पनि संकोच मान्छौं ।

पछिल्लो समय सामाजिक मनोवैज्ञानिक कुराले पनि असर गरिरहन्छ । अहिलेका दम्पती पहिलेकोभन्दा फरक भइसकेका छन् । वैदेशिक रोजगारीको कारणले पुरातन सोच पनि बदलिएको छ । पछिल्लो २०/३० वर्षको समयलाई विश्लेषण गर्ने हो यौनको बारेमा मान्छेको सोचमा धेरै भिन्नता देखिएको छ ।

अहिले पारिवारिक विचलन बढेको छ । यसमा यौनको भूमिका कति छ ?

पारिवारिक विचलनमा यौनको पनि भूमिका पक्कै धेरै हुन्छ । नेपाली दम्पतीहरु अहिले पनि यौनको बारेमा छलफलको विषय बनाउँदैनन् । हामीले परिवार र समाजमा पनि यौनको बारेमा खुलेर कुरा गर्न सकिँदैन । त्यसैले यसलाई भित्रभित्रै गुम्साउने गरिन्छ । यसको प्रत्यक्ष असर पारिवारिक विचलनसम्म पुग्न सक्छ ।

वैदेशिक रोजगारीको कारण वा व्यस्त दैनिकीको कारण धेरैजसो दम्पती यौन सुखभोगबाट विमुख छन् । यसले परिवारमा कस्तो समस्या निम्त्याएको छ ?

पछिल्लो समय सामाजिक मनोविज्ञान तथा आर्थिक मनोविज्ञानले पनि महिलाहरुलाई सम्पत्तिमा भोगचलनको अधिकार दिएको छ । पहिले गृहिणीको भूमिकामा मात्रै रमाउने महिलाहरु अहिले आफैं कमाउने गर्छन् । आर्थिक उन्नतिसँगै पुरुषहरुमा पनि पुरातनवादी सोच हराउँदै गएको पाइन्छ । अर्कोतर्फ वैदेशिक रोजगारीमा लामो समयसम्म श्रीमान् विदेशमा बस्दा महिला र पुरुषबीच अन्तरंग कुराकानी हुन सक्दैन ।

जसले गर्दा एकअर्काको दुःखसुखमा साथ दिन सक्दैनन् । दुःख-सुखमा सँगै नहुँदा समस्या सिर्जना हुन्छ । पहिले र अहिलेको पारिवारिक प्रणालीमा ठूलो भिन्नता देख्न सकिन्छ । अहिले एकल परिवारका कारण मान्छेले गुजाराको लागि धेरै मेहनत गर्दा मनोरञ्जन गर्ने समय घटेर गएको देखिन्छ । यौन पनि एक किसिमको मनोरञ्जन नै हो । मनोरञ्जनबाट यसरी विमुख हुँदा पारिवारिक विचलन पनि आउने सम्भावना बढी हुन्छ ।

दम्पतीमा अतृप्त यौन एकातिर छँदैछ, अर्कोतिर मान्छेमा बढ्दो यौनकुण्ठाले यौनजन्य हिंसालाई कसरी बढावा दिइरहेको छ ?

यसमा यौन शिक्षा पनि कमजोर छ । अर्को भनेको परिवारभित्र सबै कुराको सन्तुलन मिलाउन नसक्दा पनि पारिवारिक समस्या निम्तिने गर्छ । विवाह के प्रयोजनको लागि गर्ने ? भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । पहिले र अहिलेमा विवाहको प्रयोजन धेरै अन्तर छ ।

अहिले एकअर्काबीच साथ र सहयोगका लागि विवाह गर्छन्, पहिले सन्तान उत्पादनको लागि विवाह गरिन्थ्यो । त्यसैले साथ र सहयोग पूरा नपाउँदा मान्छेमा कुण्ठा बढी हुन्छ । यसले यौनमा असर गर्छ र यसले यौन कुण्ठा र यौन हिंसा बढाउने गर्छ ।

परपुरुष वा परस्त्रीसँग लाग्नुको मूल कारण पनि दम्पतीबीचको अतृप्त यौन नै हो ? कि यसमा अरु किसिमको मनोविज्ञानले पनि काम गरेको हुन्छ ?

यसमा दुई कारण हुन्छन् । पहिलो त एकअर्कामा कुराकानी गर्ने संस्कृतिको विकास भएन भने श्रीमान् होस् वा श्रीमतीले आफ्नो समस्या सुनाउनको लागि गलत मान्छेको सहारा खोज्न सक्छ । समस्या शुरु भएको सम्बन्ध बिस्तारै यौनसम्म पुग्छ । यसरी परपुरुष र परस्त्रीको पछि लाग्ने चलन शुरु हुन्छ । दोस्रो भनेको चाहिं यौन विचलनले पनि मान्छे परपुरुष वा परस्त्रीमा लाग्ने गर्छन् ।

उन्मुक्त यौन सुखभोगको लागि नेपाली दम्पतीलाई के कुराले रोकेको छ ?

यौन सुख भोगको लागि परम्परागत मानसिकता सबैभन्दा ठूलो बाधक हो । अहिले पनि यौनको लागि महिलाभन्दा पुरुष सक्रिय हुनुपर्छ भन्ने जुन सोच छ, त्यो नै मुख्य समस्या हो । दोस्रोमा हाम्रो शिक्षा प्रणाली । हामी अहिले पनि यौनको कुरालाई बाहिर ल्याउनुहुन्न भन्ने शिक्षा प्रणालीमा छौं । जसले हामीमा यौन के हो ? भन्ने जिज्ञासा मात्रै बढाउँछ । यसले यौन सुख प्राप्त गराउन दिँदैन मनोआर्थिक तथा मनोसामाजिक कारणले दम्पतीको यौन जीवनमा असर पारिरहेको हुन्छ ।

अहिले जुन हिसाबले पोर्न सामग्री सहज उपलब्ध भइरहेका छन्, त्यसको असर दम्पतीको यौन जीवनमा कत्तिको परेको छ ?

पोर्न साइटहरु रोक्दा झनै असर पर्छ जस्तो लाग्छ । यस्ता साइटहरु रोक्दा मान्छेमा झनै बढी जिज्ञासा र जान्ने इच्छा बढ्छ । यसलाई रोक्दा मान्छेमा लुकेर यस्ता सामग्री हेर्ने चलन बढ्छ । यसले झनै समस्या निम्त्याउँछ । त्यसैले यस्ता सामग्रीहरु रोक्नु उचित हुँदैन जस्तो लाग्छ । कुनै पनि उमेर पुगेका मान्छेले यस्ता सामग्री हेर्न पाउनुपर्छ ।

श्रीमान् वा श्रीमतीमध्ये एक जनाको इच्छाविपरीत हुने यौन गतिविधिले उनीहरुको सम्बन्धमा कस्तो असर पारेको छ ?

श्रीमान् हुन् वा श्रीमतीमध्ये एकले नचाहँदै यौन सम्पर्क राख्नुपर्‍यो भने त्यसले उनीहरुको सम्बन्धमा असर पर्छ । नेपालको कानुनको तर्फबाट हेर्दा त यसलाई बलात्कार नै मानिन्छ । दम्पतीको बीचमा इच्छाको बारेमा छलफल हुने बित्तिकै सम्बन्ध बिग्रनुको कारण र समाधानको उपाय खोजिन्छ । छलफल भएन भने ऊ पार्टनरको विकल्पतिर लाग्छ । त्यसैले दुवैबीच छलफल भयो भने त्यस्तो समस्या देखिँदैन ।

यौन क्रियाकलापका लागि पाकक्रीडा जरुरी हुन्छ भनेर वात्सायनले यसका विधि समेत उल्लेख गरिसकेका छन् । तर, अहिलेका दम्पतीमा यस किसिमको ज्ञान र अभ्यास कति पाउनुभएको छ ?

अहिलेका दम्पतीभन्दा पहिलेका दम्पतीमा यौनको बारेमा बढी छलफल हुन्थ्यो । प्राकक्रीडाको बारेमा जानकारी दिनका लागि विभिन्न मन्दिरहरुमा मूर्ति कुँदिन्थे । वात्सायन जस्ता ऋषिले त कामसूत्र नामक ग्रन्थ नै लेखेका थिए । तर अहिले हामी यस्ता सामग्री खुलेर प्रयोग गर्न पनि संकोच मान्छौं । अहिले सामग्रीहरु नै कम आउँछन् । तर अहिले पत्रपत्रिकामा यस्ता समाचार आउँदैनन् । आयो भने पनि यसप्रति आपत्ति जनाइन्छ । त्यसैले यसको ज्ञानको दायरा बढाउनु जरुरी छ ।

अहिले बजारमा यौन खेलौनाको माग उच्च छ, भनिन्छ । यसले के संकेत गर्छ ? समाजमा यौनकुण्ठा बढ्दैछ वा समाज यौनमा उदार हुँदैछ ?

यसमा त्यो व्यक्तिले कसरी प्रयोग गरिरहेका छन् भन्ने हेर्नुपर्छ । कसैले कुण्ठा र कसैले उदारताको रुपमा पनि प्रयोग गरेका हुन सक्छन् । यसले कुण्ठा र उदारता जेको लागि भएपनि समाज यौनको विषयमा बढी चलायमान हुन थालेको संकेत भने देखाउँछ ।

अहिले बजारमा यौन खेलौनाको माग धेरै छ भनिन्छ । यसले मान्छेको क्षणिक आवश्यकता त पूरा गर्ला तर यसले दीर्घकालीन समाधान रोक्दैन । त्यसैले दम्पतीबीचको छलफल र शिक्षामा पहुँच बढाएर यौन विचलनको समस्या निवारण गर्न सकिन्छ ।

डा. विजय ज्ञवाली पारिवारिक कलह यौन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय