+
+

भण्डारण केन्द्रमा थुप्रियो सवा करोड डोज कोरोना खोप

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०७८ पुष ६ गते २१:४२

६ पुस, काठमाडौं । खोप अभियानले अपेक्षाकृत गति लिन नसक्दा सवा करोडभन्दा बढी डोज कोरोना खोप सरकारी भण्डारण कक्षमै थुप्रिएको पाइएको छ ।

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि भेटिएपछि बुस्टर डोज लगाउनुपर्ने माग उठिरहेको छ । जनस्वास्थ्य विज्ञहरुले हरेक नागरिकलाई कम्तीमा एक डोज खोप दिनुपर्ने र फ्रन्टलाइनलाई बुस्टर दिनपर्ने सुझाव दिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि हरेक दिन २ लाख नागरिकलाई कोरोना खोप दिने र ५० प्रतिशत नागरिकलाई दुबै डोज खोप दिएपछि बुस्टर दिइने बताएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार पुस महिनायता ९ लाख ९० हजार ४५६ जोड खोप लगाएको छ । तर लक्ष्यअनुसार खोप अभियान अझै सञ्चालन हुन सकेको छैन । स्वाथ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले खोप अभियानलाई गति दिन नसकिएको स्वीस्कार गरिन् ।

स्थानीय तह र प्रदेश सरकारसँगको समवन्य कमीले पनि यस्तो भएको भन्दै उनले सबै सरोकारवालाको सहयोग मागेर खोप अभियानलाई तीव्र बनाइने बताइन् । ‘सोमबार प्रधानमन्त्रीको अध्यक्षमा एउटा बैठक बसेको थियो, खोप अभियानलाई तीव्र बनाउनका लागि सबै सरोकारवालासँग सहयोग माग्ने कुरा भएको छ,’ उनले भनिन् ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लाल कर्णका अनुसार स्थानीय तहबाट खोप लगाएको ११ प्रतिशतको हाराहारीमा तथ्यांक इन्ट्री हुन बाँकी छ । यो कारणले पनि कभरेज कम देखिएको हो ।

यद्यपि स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका तथा खोपबारे अनभिज्ञ दूरदराजका गाउँका मानिसलाई खोप दिन ठूलो चुनौती बनेको स्वीकार गर्छन् उनी । ‘अझै पनि ठूलो जनसंख्या छ, जसले कोरोना खोपको पहिलो मात्रा पनि पाएका छैनन्’ उनले भने, उनीहरुसम्म पुग्नु हामीलाई चुनौतीपूर्ण बनेको छ ।’

यसका लागि घरदैलो अभियान, घुम्ती सेवाका साथै आवातजावत हुने नाकामा गएर खोप अभियान चलाउनु पर्ने देखिएको भन्दै उनी भन्छन्, ‘अब चाँडोभन्दा चाँडो खोप दिन सकेनौं भने ओमिक्रोन भेरियन्टले जोखिम थप्न सक्छ ।’

सिरिन्जको अभाव

प्राप्त खोपको अनुपातमा सिरिन्ज कम उपलब्ध हुँदा खोप अभियान प्रभावित बन्न थालेको छ ।

सिरिन्ज उपलब्ध नहुँदा प्रदेश १ को खोप कार्यक्रम प्रभावित भइसक्यो भने अन्य प्रदेशले पनि सिरिन्ज सकिन लागेको रिपोर्टिङ खोप आपूर्ति शाखामा गरेका छन् । एकहप्ता भित्रमा सिरिन्ज उपलब्ध नभए खोप अभियान प्रभावित हुन सक्नेबारे रिपोर्टिङ गरिरहेको आपूर्ति शाखाका एक अधिकृत बताउँछन् ।

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसिया पनि खोपको अनुपातमा केन्द्रमा सिरिन्जको मात्रा कम रहेको स्वीकार गर्छन् । प्रदेश तहमा खोप बराबर नै सिरिन्ज पठाएको, केही सिरिन्ज वेस्टेज (खेर)  जाने भएकाले खोपको तुलनामा कम सिरिन्ज देखिएको हुनसक्ने भन्दै उनले भने ‘युनिसेफको सहयोगमा ५० लाख सिरिन्ज केही दिनभित्रै आउने तयारीमा छ ।’

सवा करोड छ, अब आए राख्न मुश्किल

सरकारी तथ्यांकअनुसार मंगलबारसम्म १ करोड २२ लाख डोज कोरोना खोप सरकारी भण्डारणमा छ । काठमाडौंको केन्द्रीय भण्डारण (टेकु) ६४ लाख डोज खोप छ भने काठमाडौं वरिपरिका १० जिल्लाका लागि २ लाख ७३ हजार खोप मौज्दात छन् ।

प्रदेश १ मा ५ लाख ४५ हजार, प्रदेश २ को पथलैयामा १४ लाख, बागमती प्रदेशको हटौंडामा १ लाख ४१ हजार, गण्डकीमा १ लाख १४ हजार, लुम्बिनीमा १ लाख २१ हजार, कर्णालीमा १ लाख ३४ हजार र सुदूरपश्चिममा ७९ हजार डोज खोप मौज्दात रहेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

भण्डारमा खोप थुप्रिएकाले तत्काल ल्याउने तयारी भएको खोप प्राप्त गर्ने समय पछाडि धकेल्न स्वास्थ्य अधिकारीहरु लागिपरेका छन् । मन्त्रालयका अधिकारीहरुका अनुसार विभिन्न देशबाट चैतसम्ममा २ करोड हाराहारीमा खोप ल्याउन सकिन्छ ।

अहिले खोप १ करोडभन्दा भण्डारणमा रहेकाले पाइपलाइनमा भएका खोप तत्कालै नल्याउने परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख सागर दाहाल बताउँछन् । ‘हामीसँगै अझै एक करोड बढी डोज खोप बाँकी नै छ । दुई करोड आउने पाइपलाइनमा छन्’ उनले भने, ‘अहिलेसम्म जसोतसो व्यवस्थापन भइरहेको छ । अब एकैपटक आएको अवस्थामा लिन गाह्रो हुने अवस्था आइसकेको छ ।’

परिवार कल्याण महाशाखाका अनुसार चैतसम्ममा १ करोड ८२ लाख डोज आउने पाइपलाइन छन् । जसमध्ये एस्ट्राजेनेका ३३ लाख ६४, साइनोभ्याक ३० लाख, सिनोफार्म ११ लाख ८४ हजार, फाइजर ६६ लाख र मोर्डना ४० लाख आउने क्रममा छन् ।

‘केही दिनयता खोप लगाउने संख्या बढिरहेको छ । यही अनुपातले कभरेज बढ्दै गएको खण्डमा अरू थप खोप ल्याउन सकिएला,’ दाहालले भने, ‘केही समयसम्म पाइपलाइनमा भएका खोप नल्याउने छलफल भइरहेको छ ।’

कतिले लगाए खोप ?

सरकारले दुई तिहाइ लक्षित जनसंख्यालाई पुस मसान्तसम्म तथा बाँकी सबै लक्षित समूहलाई आगामी चैत मसान्तसम्म खोप लगाइसक्ने लक्ष्य राखेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म कुल ३ करोड ८५ लाख ३९ हजार ३६७ डोज खोप प्राप्त भएको छ । मंगलबारसम्म लक्षित जनसंख्याको ४८.९ प्रतिशतले पूर्ण खोप र ६१.५ प्रतिशतले एक डोज खोपको मात्रा लगाएका छन् ।

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?