+
+

चितवनमा करेन्ट लगाएर गैंडा मारिएको पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ७ गते १२:३५
गत मंसिर २७ गते भरतपुर–१६ मा मृत फेला परेको गैंडा । तस्वीर : दीपक पोखरेल ।

७ पुस, चितवन। गएको मंसिर २७ गते भरतपुर महानगरपालिका वडा नं. १६ मा मृत फेला परेको गैंडालाई करेन्ट लगाएर मारिएको पुष्टि भएको छ ।

सिद्धिगणेश सामुदायिक वन, विजयनगरस्थित गणेश मन्दिर जानेबाटो नजिक छेउको तोरी र जैघाँस भएको खेतमा मृत अवस्थामा भेटिएको गैंडालाई करेन्ट लगाएर मारिएको पुष्टि भएको डिभिजन वन कार्यालय भरतपुरले जनाएको छ ।

तोरी र जैघाँस भएको ठाँउमा गैंडा चर्न पुगेपछि सो ठाँउमा छाडिएको करेन्ट लागेर गैंडा घटनास्थलमा नै मरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए ।

सुरुमा विषाक्त मानिने जैघाँस खाएर गैंडा मरेको हुनसक्ने अनुमान गरिए पनि पोष्टमार्टमबाट गैंडा करेन्ट लागेर मारिएको पुष्टि भएको हो ।

रातको समयमा जीआई तारको माध्यमबाट तोरीबारीमा करेन्ट छाडिएको र गैंडा चर्दै आएपछि सो धरापमा परेर मरेको पुष्टि भएको उनले बताए । घटनास्थलमा विद्युतीय तार भने भेटिएको थिएन ।

गैंडाको मृत शरीरले किचेको अवस्थामा बाँसको लठ्ठी मात्रै भेटिएको थियो । सूचना अधिकारी खनालका अनुसार तार उनीहरुले गैंडा मरेपछि उठाएर लगेको देखिन्छ । स्थानीयका अनुसार सो दिन राति ३ बजेतिर एउटा ठूलो आवाज आएको थियो ।

घटनाका बारेमा अनुसन्धान गर्न डिभिजन वन कार्यालय भरतपुरले सहायक वन अधिकृत शान्तीकुमारी शर्माको संयोजकत्वमा एक टोली गठन गरिएको छ । घटनामा संलग्न भएको हुनसक्ने अनुमानको आधारमा दुई जनालाई सोधपुछ गरेर छाडिएको छ।

गैंडा मरेको जग्गाको घरधनी र उनको जग्गामा खेती गर्दै आएका अर्को एकजनालाई सोधपुछ गरेर छाडिएको सूचना अधिकारी खनालले बताए। घर नजिकैको पोलबाट हुक गरेर करेन्ट जोडेर गैंडा मारिएकोले अनुसन्धानलाई त्यसतर्फ नै केन्द्रित गरिएको छ ।

यस्तै चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रीभद्र आचार्यले वन क्षेत्रमा गैंडा मरेकोले उसको नै क्षेत्राधिकार भएको बताए ।

निकुञ्जमा गत पुस १ गते निकुञ्जको टाइगर टप्स क्षेत्रमा पर्ने भिम्ली भन्ने ठाउँको बगरमा २६-२७ बर्षको भाले गैंडा र त्यसको भोलिपल्ट निकुञ्जको नवलपरासी अमलटारी क्षेत्रको आइल्याण्ड क्षेत्रमा अन्दाजी २४-२५ बर्षको पोथी गैंडा मृत फेला परेका थिए ।

यी दुवै गैंडा मरेको सूचना अहिलेसम्म निकुञ्जले सार्वजनिक गरेको छैन । एक सिङ्गे गैंडाको सबैभन्दा ठूलो बासस्थान रहेको चितवन राष्ट्रिय निकुञ्जमा गतवर्ष गरिएको गणनामा गैंडाको संख्या ६९४ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?