+
+

दैनिक करिब ६ करोडको तरकारी आयात

पाँच महिनामा भारतबाट मात्रै ५ अर्बको आलु आयात

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ८ गते १४:३७

८ पुस, काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा नेपालले ८ अर्ब ५९ करोड रुपैयाँ बराबरको तरकारी आयात गरेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको पाँच महिनाको वैदेशिक व्यापारको विवरणअनुसार नेपालले प्रतिमहिना औसत एक अर्ब ७१ करोड रुपैयाँ बराबरको तरकारी खरिद गर्ने गरेको देखिन्छ । यो तथ्यांकलाई हेर्दा नेपालले दैनिक करिब ६ करोडको मात्रै तरकारी आयात गरेको देखिन्छ ।

यस अवधिमा नेपालले सबैभन्दा धेरै आलुको आयात गरेको छ । आलु खरिदमा मात्रै नेपालबाट ५ अर्ब २७ करोड रुपैयाँ विदेशीएको छ । दुई अर्ब ४७ करोडको प्याज, १८ करोड ६६ लाखको गोलभेंडा, ३७ करोड ४१ लाखको हरियो लसुन, ७ करोड १७ लाखको च्याउ पनि यस अवधिमा नेपाल भित्रिएको छ ।

एक करोड ४ लाखको फर्सी, ४१ लाख रुपैयाँको गाजर, ४ करोडको भेण्डे खुर्सानी र १६ करोड रुपैयाँ हरियो सागपात नेपाल भित्रिएको भन्सारको तथ्याङ्मा उल्लेख छ । यस्तै ३ करोड ३७ लाखको हरियो तरकारीका गेडागुडी पनि नेपाल भित्रिएको छ । यस्तै कांक्रो,बन्दा,र खुर्सानीको आयात पनि उच्च मात्रामा देखिन्छ । चालु आवको कात्तिक मसान्तसम्म नेपालले ६ अर्ब ८९ करोडको तरकारी आयात गरेको थियो ।

नेपाल आयात भएको तरकारीमा सबैभन्दा ठूलो हिस्सा भारतीय उत्पादन छ । भारतबाहेक पाकिस्तान, बंगलादेशबाट समेत नेपालमा हरियो तरकारी र यसको गेडागुडी भित्रिएका छन् ।

चालु आवको ५ महिनामा ५ अर्ब १६ करोडको आलु नेपालले भारतबाट खरिद गरेको छ । यस्तै बंगलदेशबाट पनि १० करोड मूल्य बराबरको आलु नेपाल भित्रिएको छ । पाकिस्तानबाट ८२ हजारको हरियो लसुन नेपाल भित्रिएको छ भने दक्षिण कोरियाबाट समेत रातो बन्दा नेपाल आयात गरिएको छ । तरकारी आयातमा ठूलो हिस्सा भारतबाट नै देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?