+
+

सिर्सिया नदी प्रदूषणमुक्त अभियानमा लागे स्थानीयबासी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ९ गते १४:३५

९ पुस, वीरगञ्ज । बाराको रामवनझाडीबाट शुरू भइ वीरगञ्जको मध्य भाग भएर बग्ने सिर्सिया (श्रीसिया) नदीको प्रदूषण रोक्न स्थानीय पुनः जागरुक भएका छन् । श्रीसिया नदी एवं वीरगञ्ज प्रदूषणमुक्त अभियानमा आवद्ध वीरगञ्जबासीले पुनः दबावमूलक अभियान शुरू गरेको हो ।

विगतमा विभिन्न दबावमूलक कार्यक्रम गर्दै आएको अभियान कोरोना महामारीका कारण मौन थियो। अभियानमार्फत् हस्ताक्षर संकलन, सरोकारवालालाई सिर्सिया नदीको पानी हस्तान्तरण, ज्ञापनपत्र बुझाउने, प्रदूषण गर्ने उद्योगहरूविरुद्ध मुद्दा दर्ता गर्ने, चक्काजाम, अन्तक्रियालगायतका गतिविधि भएका थिए। नदी प्रदूषण कायम रहेकोले पुन: अभियानमार्फत् दबावमूलक कार्यक्रम गर्न लागिएको अभियानका सदस्यहरूले बताएका छन् ।

बारा-पर्सा औद्योगिक करिडोरमा रहेका उद्योगबाट निस्क्ने छालाको टुक्रा, छाला धोएको केमिकलयुक्त पानी, छायी तथा महानगरपालिकाबाट निस्कने फोहोरमैलासमेत सिर्सिया नदीमा हाल्ने गरिएको छ ।

नदी प्रदूषित भइ गन्हाउने पानी बग्ने गरेको छ । एकातिर जलचर प्राणीको बासस्थान नष्ट भएको छ भने अर्कोतिर नदी आसपासका बासिन्दा छालाको विभिन्न संक्रमण, मुटु रोगी हुनुको साथै क्यान्सरको जोखिममा छन् ।

वीरगञ्जका आम नागरिकलाई स्वच्छ तथा स्वस्थ वातावरणमा बाँच्ने अधिकार सम्बोधन गराउन पुन: दबावमूलक अभियान आवश्यक देखिएको अभियानका संयोजक अधिवक्ता सुरेन्द्र कुर्मी बताउँछन् । नदी र शहरलाई प्रदूषणमुक्त बनाउन निरन्तर दवाव आवश्यक देखिएको उनको भनाइ छ ।

‘नदी कात्तिके र चैते छठमा मात्रै थोरै सफा हुन्छ, अन्य समयमा प्रदूषित नै छ ।’ उनले भने,‘पटक पटक सरोकारवालालाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाई भइरहेको छैन, नदी र शहर दुवै प्रदूषणमुक्त हुनुपर्छ भन्ने हाम्रो माग हो, निरन्तर दबावमूलक अभियान सञ्चालन गर्छौ ।’

अभियानअन्तर्गत शुक्रबार वीरगञ्जको घण्टाघरमा अन्तरक्रिया गरिने र पछि धर्नालगायतका कार्यक्रम गरिने अभियानका सदस्य वृजेश्वर चौधरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?