
९ पुस,बुटवल । लुम्बिनी प्रदेश सरकारले नवलपरासी र कपिलवस्तुमा यातायात व्यवस्था सेवा कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले ती कार्यालयहरूको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो ।
निर्णयसँगै श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयलाई नवलपरासी र कपिलबस्तु जिल्लामा यातायात व्यवस्था सेवा कार्यालय स्थापना गर्ने बाटो खुलेको छ । मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशबाट इजाजत प्राप्त टेलिभिजन र एफएम रेडियोहरूका लागि आर्थिक वर्ष ०७८÷०७९ को इजाजतपत्र नवीकरण दस्तुर छुट दिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले जानकारी दिए ।
यस्तै, प्रदेश राजधानीका स्थायी संरचना बनाउने जग्गा प्राप्तिका लागि संघीय सरकारसँग रकम माग गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताए ।
बैठकले प्रदेश स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति (पहिलो संशोधन) नियमावली स्वीकृत गर्नुका साथै प्रदेश सरकार मातहतका विभिन्न कार्यालयहरूमा रहेको अस्थायी संगठन संरचना र दरबन्दीको म्याद चालु आर्थिक वर्षको असार मसान्तसम्मका लागि थप गर्ने निर्णय गरेको छ ।
बैठकले दाङको भालुवाङस्थित स्वास्थ्य चौकीलाई ५० शय्यामा स्तरोन्नति गरी प्रदेश मातहत सञ्चालनमा ल्याउन संघीय सरकारसँग माग गर्नुका साथै राप्ती प्राविधिक शिक्षालय दाङलाई गढवा-३ दाङस्थित सरस्वती माविको जग्गा हस्तान्तरण गर्न संघीय सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।
यस्तै, बैठकले लुम्बिनी प्रदेश सरकार वित्तीय सुशासन जोखिम मुल्याङ्कन कार्यविधि,२०७८ स्वीकृत गर्नुका साथै प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ स्वीकृत गरेको छ ।
प्रतिक्रिया 4