+
+

निकेश खड्का : म्युजिक भिडियोदेखि सिनेमासम्म

खेम रिसाल खेम रिसाल
२०७८ पुष १० गते १९:००

१० पुस, काठमाडौं । फुटबलमा एउटा शब्दावली प्रायः प्रयोग हुन्छ- ‘उत्कृष्ट खेलाडीले हरेक पटक गोल नै गर्छ भन्ने छैन ।’

निर्देशक निकेश खड्काको हकमा पनि यही भनाइ सुहाउँछ । म्युजिक भिडियोका सदावहार हिट निर्देशक हुन् उनी । निकेश निर्देशित अनगिन्ती म्युजिक भिडियो छन्, जसले उनको निर्देशकीय कौशल देखाउँछ । तर, चलचित्रमा ?

सात वर्षअघि ‘जिन्दगी रक्स’ चलचित्रको निर्देशन गरेर रजतपटमा पाइला टेके निकेशले । ‘पहिलो गाँसकै ढुंगा’ भनेझैं अपेक्षाकृत यो सफल भएन ।

‘त्यतिबेला सामान्यभन्दा अलि फरक कथामा नयाँ कलाकारहरु लिएर चलचित्र बनाएको थिएँ, तर असफल भयो भन्नुपर्छ । त्यसपछि अर्को राम्रो चलचित्र बनाउने हुटहुटी जाग्न थाल्यो,’ निकेश सुनाउँछन् ।

जिन्दगीमा कुनै पनि कुरामा सफलता हात पार्न उपयुक्त समयमा उपयुक्त निर्णय लिनुपर्छ भनिन्छ । आफूले निर्देशन गरेको पहिलो चलचित्र असफल भएपछि उनी फेरि पुरानै दुनियाँ (म्युजिक भिडियो निर्देशन)मा सक्रिय भए । गीतका भिडियोमा नयाँ-नयाँ प्रयोग गर्दै गए । यस क्षेत्रमा उनी पहिलेदेखि नै चल्तीका निर्देशक छँदैथिए, त्यसपछि झनै स्तरीय भिडियो निर्देशकको रुपमा कहलिए ।

पहिलो चलचित्र असफल नै ठहरिनु र दोस्रो पनि सोचेजस्तो हुन नसक्दा निकेशलाई निराशा हात नलाग्ने कुरै भएन । उनले सोचे- ‘अब कुनै न कुनै गतिलो चलचित्र आफ्नै सोच अनुसार बनाउँछु ।’

यस्तैमा उनलाई एक दिन गायक समेत रहेका चलचित्र निर्माता अर्जुन कुमारले आफ्नो नयाँ चलचित्रको निर्देशन गरिदिन प्रस्ताव गरे । चलचित्रको नाम, ‘फाटेको जुत्ता’ ।

चल्तीका अभिनेता सौगात मल्ल र अभिनेत्री प्रियंका कार्कीलाई लिएर कमेडी जनरामा निकेशले ‘फाटेको जुत्ता’ बनाए । चलचित्र ठिकठाकै चल्यो, समीक्षा भने उति गतिलो मिलेन । तर पनि निर्माताको लगानी भने सुरक्षित गरेको निकेश बताउँछन् । ‘दोस्रो चलचित्र फाटेको जुत्ता राम्रै चलेको हो । तर रिभ्यु (समीक्षा) राम्रो चाहिं भएन, तर पनि यसले निर्मातालाई घाटामा जान भने दिएन,’ निकेश सम्झिन्छन् ।

पहिलो चलचित्र असफल नै ठहरिनु र दोस्रो पनि सोचेजस्तो हुन नसक्दा निकेशलाई निराशा हात नलाग्ने कुरै भएन । उनले सोचे- ‘अब कुनै न कुनै गतिलो चलचित्र आफ्नै सोच अनुसार बनाउँछु ।’

चपली हाइट ३ले जगाएको आशा

‘चपली हाइट’ चलचित्रको स्थापित ब्राण्ड हो । यसका दुईवटा सिरिज सफल रहे । दीपेन्द्र के खनालले निर्देशन गरेको ‘चपली हाइट’ त त्यो बेला ‘ब्लक बस्टर’ नै भएको थियो । ‘चपली हाइट २’ पनि औसत हिट थियो ।

आफ्नो सोच अनुसारको चलचित्र बनाउँछु भनेर सोचिरहेका निकेश एक दिन चलचित्र निर्माता अर्जुन कुमार, निर्देशक रामबाबु गुरुङ लगायतसँगको बसाइमा थिए । कुरा हुँदै जाँदा निकेशले सर्ट मुभीको कथाका विषयमा केही कुरा झिके । म्युजिक भिडियोसँगै सर्ट मुभी पनि निर्माण गर्दै आएका निकेशले आफूसँग तीनवटा कथा पाइपलाइनमा रहेको सुनाए । त्यसमध्येको तेस्रोले चाहिं शायद अर्जुन कुमारको मन छोएछ क्यारे, उनले ‘यसमा त फिल्म नै बनाउन सकिन्छ नि’ भनेर निकेशलाई भने । अर्जुनले अझै अगाडि बढेर ‘चपली हाइट’ नै बनाउन सकिन्छ नि भनेर भनेपछि ‘चपली हाइट ३’को कुरा अगाडि बढेको निकेश बताउँछन् । यो फाटेको जुत्ता रिलिज भएको ३-४ महिनापछिको कुरा हो ।

‘त्यसपछि आकाश बराल र म मिलेर ‘चपली हाइट ३’को कथालाई पूर्ण बनायौं । अब भने आफूले चाहेजस्तो फिल्म बनाउन सक्छु भन्ने भयो,’ निकेश भन्छन् । अहिलेकी चल्तीकी हिरोइन स्वस्तिमा खड्का र ‘चपली हाइट’का हिरो आमिर गौतमलाई मुख्य भूमिकामा लिएर उनले चलचित्रको निर्माणलाई अगाडि बढाए ।

तीन वर्षअघि यो चलचित्र निर्माण गर्दा सबै कुरा ठिकठाक ढंगले नै सम्पन्न भयो । निर्माता अर्जुन कुमारले पनि उनको काममा कुनै हस्तक्षेप गरेनन् । सस्पेन्स थ्रिलर कथाको ‘चपली हाइट ३’ उनले अत्यन्तै आशा गरेको चलचित्र हो ।

प्रदर्शनका बेला कोरोना महामारी बाधक

चलचित्र निर्माण भएर प्रदर्शनका लागि तयार पारियो र रिलिज मिति पनि तोकियो २०७६ चैत २८ गतेलाई । तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण लकडाउन भएपछि चलचित्र रिलिज हुन पाएन । यो अवस्था करिब दुई वर्षसम्म रह्यो ।

यो बीचमा चलचित्र क्षेत्र लगभग ठप्प रह्यो । तर, निकेश भने आफ्नो चलचित्रलाई थाँती राखेर म्युजिक भिडियोकै काममा व्यस्त भए । तुलनात्मक रुपमा म्युजिक भिडियो निर्माण महामारीमा पनि राम्रै रह्यो ।

कोरोना संक्रमण विस्तारै घट्न थालेर सरकारले लकडाउन हटाएपछि अरु क्षेत्र छिट्टै नै चलायमान हुन थाले । तर, चलचित्र क्षेत्रलाई खुलाउने विषयमा सरकारले पनि ढिलो निर्णय गर्‍यो भने चलचित्रकर्मीहरु पनि खासै तातिएनन् । अन्ततः गत दशैंको केही अघिबाट सिनेमा हलहरु खोल्ने निर्णय भयो । हल त खुले, तर चलाउनका लागि चलचित्र छैनन् । निर्माण सम्पन्न भएर प्रदर्शनका लागि तयार भएर बसेका कुनै पनि चलचित्रले ‘रिलिज डेट’ तोक्न सकेनन् । दशैंको समयमा एकादुई चलचित्र चलेपनि आएको र गएको पत्तो नै भएन दर्शकहरुलाई ।

जसै तिहारपछि बलिउड चलचित्र ‘सूर्यवंशी’ नेपाली हलमा पनि रिलिज भयो । त्यसपछि भने सिनेमा हलमा दर्शक फर्किन थाले । झण्डै दुई वर्ष थला परेको चलचित्र क्षेत्र विस्तारै तंग्रिन थाल्यो र अब भने नेपाली चलचित्र निर्माताहरुले पनि आफ्नो चलचित्रको प्रदर्शन मिति तोक्न थाले । यसमा सबैभन्दा अगाडि देखिए निकेशको चलचित्र ‘चपली हाइट ३’का निर्माता अर्जुन कुमार । ‘चपली हाइट ३’को प्रदर्शन मिति पुस २ गतेलाई तोकियो ।

निकेश भन्छन्, ‘फिल्मको रिलिज डेट तोकेपछि भने एक प्रकारले ढुक्क भयो । भोलि रिजल्ट जे आउला तर, फिल्म दर्शकसम्म पुर्‍याउन त पाउने भयौं ।’

चलचित्रको टिमले फिल्मको प्रचारप्रसार राम्रैसँग गरिरहेको थियो । तर फेरि प्रचारपसारमा ‘ब्रेक’ लगाउनुपर्ने भयो । चलचित्र पुस २ बाट सारेर पुस १५ मा मात्र रिलिज गर्ने घोषणा गरियो । यसको कारण थियो सोही मिति (पुस २)मा हलिउड चलचित्र ‘स्पाइडर म्यानः नो वे होम’ र साउथ इण्डियन चलचित्र ‘पुष्पा’ पनि नेपालमा रिलिज हुनु ।

‘‘चपली हाइट ३’ले हलमा नेपाली फिल्मको माहोल बनाउला भन्ने थियो, तर ‘स्पाइडर म्यान’ र ‘पुष्पा’ पनि सोही डेटमा रिलिज हुने भएपछि शो नै कम पाउने देखियो,’ निकेश भन्छन्, ‘त्यसैले सहमतिमै पुस १५ मा सारिएको हो । व्यापार पनि त हेर्नुपर्‍यो ।’

यद्यपि मल्टिप्लेक्सहरुले राम्रो शो उपलब्ध गराउँछौं भनेको भए चलचित्र पछि सार्नु नपर्ने पनि उनले बताए । ‘‘स्पाइडर म्यान’ नेपालमा एक सातापछि मात्रै आउने भनिएको थियो, साउथ फिल्म ‘पुष्पा’ नेपालमा आउला भन्ने नै थिएन । किनकि साउथ इण्डियन फिल्म ठूलै ब्यानरका मात्रै नेपाल भित्रिन्थे । तर त्यस्तो नभएपछि फिल्म पछि सार्नुको विकल्प थिएन,’ निकेशले थपे ।

विदेशी चलचित्रसँग डराएर रिलिज मिति सार्दै गर्दा ‘चपली हाइट ३’ आफ्नै नेपाली चलचित्रसँग भने भिड्न पुग्दैछ । ‘चपली हाइट ३’ रिलिज भएको भोलिपल्ट अर्थात् पुस १६ गते हरर जनराको नेपाली चलचित्र ‘कठपुतली’ प्रदर्शन हुँदैछ । यस विषयमा प्रष्ट पार्दै निकेश भन्छन्, ‘हलहरु सीमित छन्, कुनै न कुनै फिल्मसँग त जुध्न पुग्ने नै रहेछ । त्यसपछिको पनि डेट हेर्‍यौं, त्यहाँ पनि कि ठूला ब्यानरका बलिउड-हलिउड फिल्म त कि ठूला ब्यानरका नेपाली फिल्मले ओगटेका रहेछन् ।’

चलचित्रको टिमले फिल्मको प्रचारप्रसार राम्रैसँग गरिरहेको थियो । तर फेरि प्रचारपसारमा ‘ब्रेक’ लगाउनुपर्ने भयो । चलचित्र पुस २ बाट सारेर पुस १५ मा मात्र रिलिज गर्ने घोषणा गरियो ।

के हामी विदेशी चलचित्रबाट डराएर भाग्ने अवस्थाबाट बाहिर आउन आफैं अझ राम्रा चलचित्र बनाएर दर्शकलाई आकर्षित गर्न सक्दैनौं त ? भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘कोभिडभन्दा पहिला राम्रो थियो । बलिउड र हलिउड फिल्मसँग जुधाएर पनि फिल्म चलाइएकै थिए, तर अहिलेको व्यापार कस्तो छ भन्न सक्ने अवस्था छैन । त्यसैले सेभ साइड खोजेको हो, डराएको भन्ने वा के भन्ने यसलाई । पछि फेरि अवस्था सहज भएपछि पुरानै ढंगले अघि बढ्ला । नेपाली फिल्महरु पनि राम्रा-राम्रा बन्लान् ।’

अनलाइनखबरसँगको कुराकानीमा निकेशले यो पटक आफूले अरु बढी मेहनत गरेर चलचित्र बनाएको बताए । ‘म्युजिक भिडियोमा त मेरो नयाँ-नयाँ प्रयोग दर्शकहरुले रचाइरहनु भएकै छ । सस्पेन्स थ्रिलर जनरामा पनि नेपालमै केही नयाँ गर्ने कोशिश गरेका छौं, मन पराउनुहोला भन्ने विश्वास छ,’ उनले भने ।

म्युजिक भिडियोमा सदावहार हिट निर्देशक

निकेश खड्कालाई म्युजिक भिडियो क्षेत्रबाट पर राख्न सोच्नसम्म पनि सक्ने कुरा भएन । उनी आजको दिनमा म्युजिक भिडियोमा चलेका, रुचाइएका र जमेका निर्देशक हुन् भन्दा फरक नपर्ला । संख्यात्मक हिसाबमा पनि उनका निक्कै म्युजिक भिडियो रिलिज हुन्छन् ।

‘तर पनि पछिल्ला केही महिनायता युट्युबमा भ्युजको खडेरी नै छ,’ उनले सुनाए । उनले भनेजस्तै केही समययता अपेक्षा गरिएका गीतका भिडियोले पनि युटुयुबमा उल्लेखनीय भ्युज पाएको देखिँदैन । दिनमै कम्तीमा १० वटा गीत रिलिज हुने गरेको देखिन्छ, तर पनि अहिले गीत हिट वा फ्लपको मापक युट्युबमा भ्युज कम भएकोमा निकेश पनि अचम्मित छन् । उनी अगाडि भन्छन्, ‘खै टिकटकतिर पनि मानिसहरु व्यस्त भएर होला । अहिले हाम्रो एक मात्र मापक युट्युब मात्रै भयो । मानिसहरु टिकटकमा व्यस्त छन्, हामी युट्युबमा भ्युज गन्छौं, तालमेलै नमिलेको पनि हुनसक्छ ।’

तर टिकटकमा सुनिएको वा हेरिएको गीतको टुक्रा मन परे युट्युबमा खोजेर हेर्ने गरेको पाइएको निकेशले बताउँछन् । ‘नयाँ-नयाँ प्लेटफर्मले फाइदा मात्रै होइन, अवसर पनि लिएर आएको हुन्छ,’ उनी अगाडि थप्छन्, ‘आम्दानी हुने अन्य डिजिटल प्लेटफर्मका विषयमा पनि सोच्नुपर्‍यो ।’

पछिल्लो समय म्युजिक भिडियो अचाक्ली महँगो बन्दै गइरहेको छ । थुप्रै व्यावसायिक गायक-गायिका र स्रष्टाहरु त म्युजिक भिडियो बनाउनै नसक्ने अवस्था सिर्जना भइरहेको छ । ‘त्यस्तो अवस्था देखिन्छ, तर पनि म्युजिक भिडियो बनाउन त रोक्ने कुरा भएन । स्थापित व्यावसायिक कलाकारका गीतलाई त हामीले पनि सपोर्ट गरेकै छौं नि । भर्खरै यशकुमार दाइ (गायक यशकुमार)को ‘तिम्रो मन बदलिएछ’ गीतको भिडियोलाई निक्कै कम खर्चमा स्तरीय बनायौं । यसमा हामी सबैले सपोर्ट गर्‍यौं,’ उनी सुनाउँछन् ।

पछिल्लो समय म्युजिक भिडियो क्षेत्र विदेशमा बस्नेहरुकै कारण धानिएको कुरा भने उनले स्वीकारे । ‘विदेशमा बस्नेहरुमध्ये कतिपयले रहरले लगानी गर्नुहुन्छ, कोही व्यावसायिक ढंगले आफ्नै युट्युब च्यानलमार्फत आम्दानी गर्ने मनसायले पनि लगानी गर्नुहुन्छ, यसलाई राम्रै रुपमा लिनुपर्छ,’ उनको धारणा छ ।

म्युजिक भिडियोमा रेमिट्यान्स लगानी भित्रिरहँदा यसमा ठगिने क्रम पनि बढेको पाइन्छ । लगानीकर्तालाई संगीत क्षेत्रकै विचौलियाहरुले ठगी गर्ने घटना धेरै सुनिन्छ । निकेश भन्छन्, ‘सिधै हामीकहाँ आइनपुग्दा यस्ता घटना हुन सक्छन् । पहिला पहिला यस्तो धेरै हुन्थ्यो, तर अहिले सामाजिक सञ्जालका कारण पनि सिधै ‘क्लाइन्ट’सँग कुरा गर्न सकिन्छ । कोही कोही चाहिं चिनेको व्यक्तिबाट सस्तो पर्छ कि भनेर जाँदा पनि ठगिएको देखिन्छ ।’

तस्वीर/भिडियो : शंकर गिरी

लेखकको बारेमा
खेम रिसाल

रिसाल अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् । उनी समाज, कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?