+
+

प्रचण्ड नेतृत्वको औचित्य

सुरेन्द्र बस्नेत  सुरेन्द्र बस्नेत 
२०७८ पुष १० गते ९:०८

‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलन’ भन्ने उद्घोष सहित यतिबेला नेकपा (माओवादी केन्द्र) आफ्नो राष्ट्रिय सम्मेलनको उत्कर्षमा छ। दुई महाधिवेशनका बीचमा राष्ट्रिय सम्मेलन गर्ने अभ्यास गर्दै आएको माओवादीको सातौं महाधिवेशनपछि प्रथम राष्ट्रिय सम्मेलन आउँदो पुस ११ गतेदेखि काठमाडौंमा हुन गइरहेको छ।

यस सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहालले समाजवादमा जाने आधारसहित राजनीतिक दस्तावेज पेश गर्दै छन्। राष्ट्रिय सम्मेलनमा स्वाभाविक रूपमा नयाँ कार्यदिशासँगै नयाँ नेतृत्वको चयन पनि हुने नै छ। यसै सन्दर्भमा अध्यक्ष प्रचण्ड वरिपरि केन्द्रित भएर एकथरी मानिसहरूले प्रचण्ड तीन दशकसम्म पार्टीको नेतृत्वमा रहिरहेको भनेर टिप्पणी गर्ने गरेको पनि पाइन्छ। त्यस्तो टिप्पणी गर्नेहरूमा मुख्यतया पार्टी भित्रका भन्दा पार्टी बाहिरका मानिसहरू बढी देखिन्छन्।

के मुलुक र माओवादी पार्टीमा प्रचण्ड नेतृत्वको औचित्य साँच्चिकै समाप्त भएकै हो त ? आज किन एकथरी मानिसहरू न्वारानदेखिको बल निकालेर माओवादी र प्रचण्डका विरुद्ध एकहोरो प्रहार गरिरहेका छन् ? यतिबेला प्रचण्ड र परिवर्तनमाथि एकैसाथ किन हमला भइरहेको छ ? तथ्यको कसीमा सत्यको अन्वेषण गर्ने वैज्ञानिक विधिबाट यस विषयमा विमर्श गर्नु वाञ्छनीय देखिएको छ।

बितेको एक हजार वर्षमा सबैभन्दा उत्कृष्ट मानव मस्तिष्क को हुन् भनेर प्रतिष्ठित अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले केही वर्ष अघि अन्तर्राष्ट्रिय स्तरको इन्टरनेट भोटिङ गरेको थियो। सो सर्वेक्षणमा कार्ल मार्क्स सबैभन्दा अब्बल ठहरिएका थिए। सन् १८१८ मा जर्मनीमा जन्मिएका कार्ल मार्क्स मार्क्सवादका प्रवर्तक हुन्। उनै मार्क्सले आफ्नो दर्शनको सार खिच्दै भनेका थिए, ‘दुनियाँका दार्शनिकहरूले संसारको विभिन्न तरिकाले व्याख्या र विश्लेषण गरे, तर मुख्य कुरा बदल्नु हो।’

नेपालमा धेरैले धेरै भाषण गरे, कयौंले आकाश-पाताल जोड्ने दस्तावेज पनि लेखे, व्याख्या र विश्लेषण पनि त्यत्तिकै गरे। आखिर मुख्य कुरा त बदल्नु थियो, जुन सजिलो पक्कै थिएन। प्रचण्ड यसकारणले अरु भन्दा फरक भए कि उनले त्यो बदल्ने अभियानको नेतृत्व गरे। मार्क्सवादको चुरो कुरोलाई समातेर नै उनले नेपालमा क्रान्तिकारी मार्क्सवादको रक्षा, प्रयोग र विकासमा महत्त्वपूर्ण टेवा पुर्‍याउने काम गरेका थिए। यो कुरा सबैलाई मनपर्ने कुरा भएन।

हिजोआज सार्वजनिक मञ्चहरूमा प्रचण्डको सबैभन्दा धेरै आलोचना गर्ने र उछित्तो काढ्ने मध्येमा एमाले अध्यक्ष केपी ओली अग्रपङ्तिमा आउँछन्। पछिल्लो पटक त संयमता गुमाएर ‘प्रचण्ड र राजा ज्ञानेन्द्रको पाँचबुँदे सम्झौता भएको’ भन्नसम्म भ्याए। तर उनको त्यो तथ्यहीन टिप्पणीलाई उनलाई बा भन्ने छोराछोरीहरू समेतले पत्याइदिएनन्। पत्याउन् पनि कसरी ? गणतन्त्रको मुद्दा उठाए बापत राज्यले प्रचण्डको जिउँदो वा मरेको टाउको ल्याउनेलाई ५० लाख इनाम दिने घोषणा गरिरहेका बेला ओली भने बयलगाडा राजनीतिको राग अलापिरहेका थिए। उनलाई नेपालमा गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका जानु जस्तै असम्भव काम लागेको थियो। तर ओलीलाई त्यत्ति धेरै असम्भव लागेको कामलाई पनि छोटै समयमा सम्भव तुल्याउने अभियानको मूल नेतृत्व प्रचण्डले गरे।

अन्ततः तिनै ओलीले एमाले र माओवादी एकतापछि बनेको नेकपाको दस्तावेजमा माओवादी र प्रचण्डको योगदान र सौर्यको कदर गर्न बाध्य भएका थिए। ओली हस्ताक्षरित उक्त दस्तावेजमा प्रचण्डबारे लेखिएको छ– ‘यसै अवधिमा सामन्तवाद र साम्राज्यवादको विरुद्ध नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न दीर्घकालीन जनयुद्धका रूपमा बल प्रयोग अनिवार्य रहेको निष्कर्षका साथ नेपालको ठोस परिस्थितिमा राजनीतिक र फौजी रणनीतिको विशिष्ट सन्तुलन कायम गर्दै कमरेड प्रचण्डको नेतृत्वमा नेकपा (माओवादी) ले २०५२ फागुन १ गतेदेखि जनयुद्धको पहल गर्‍यो।’

माओवादी आन्दोलनको योगदानमाथि थप प्रकाश पार्दै नेकपाको उक्त दस्तावेजमा भनिएको छ, ‘त्याग र बलिदानका कीर्तिमान कायम गर्दै माओवादी जनयुद्धले नेपाली राजनीतिमा नयाँ तरङ्ग र बहस सहित दूरगामी प्रभाव पार्‍यो। महिला, दलित, मधेशी, जनजाति लगायतका उत्पीडित वर्ग र समुदायलाई जागृत र संगठित गर्न, राजनीतिमा समावेशीकरणका मुद्दालाई स्थापित गर्न, संविधानसभाको निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आधार तयार पार्न माओवादी आन्दोलनले मुख्य भूमिका खेल्यो।’ (हेर्नुस् नेकपाको राजनीतिक प्रतिवेदन, २०७५, पृष्ठ-३७)

विचित्रको कुरा त यो छ कि माओवादी पार्टीमा ९५ प्रतिशत भन्दा बढी नेता, कार्यकर्ता तत्कालका लागि प्रचण्ड नै नेतृत्वमा आवश्यक छन् भनेर भन्छन्। तर पार्टी बाहिरका र विरोधी खेमाका मानिसलाई खपिनसक्नुको टाउको दुखाइ छ

एक समय नेपालका प्रमुख राजनीतिक शक्तिहरू २०४७ को संविधानमा कमा (अल्पविराम) र फुलिस्टप (पूर्णबिराम) समेत परिवर्तन हुन नसक्ने ऐलान गरिरहेका थिए। २४० वर्षे राजतन्त्रले हामीलाई छाडेको नेपाल भनेको विश्वको दोस्रो गरीब देश नै हो भन्ने निष्कर्ष सहित प्रचण्ड भने सामन्ती एकात्मक राजतन्त्रका विरुद्ध सशस्त्र विद्रोहको तयारी गरिरहेका थिए। अन्ततः जीत प्रचण्डहरूकै भयो। मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको बहाली भएरै छाड्यो। अनि कमा र फुलिस्टप मात्र हैन सिङ्गो संविधान नै नयाँ बन्यो। नेपाल राजा महाराजाहरूले बक्स गर्ने संविधानको युगबाट जनताले आफ्नो संविधान आफैं जारी गर्ने युगतर्फ प्रवेश गर्‍यो। दशवर्षे जनयुद्धको जगमा १९ दिने ऐतिहासिक जनआन्दोलन हुँदै संविधानसभाको माध्यमबाट वंश परम्परामा आधारित सामन्ती एकात्मक राजतन्त्रको उन्मूलन भएरै छाड्यो। निःसन्देह त्यो महासंग्रामको नेतृत्व प्रचण्डले गरेका थिए। यो परिवर्तन नरुचाउने र नपचाउने तप्का आज पनि प्रचण्डका विरुद्ध निरन्तर विषवमन गर्न अभिशप्त छ।

नेपालमा एउटा यस्तो समय थियो जतिखेर यहाँका मधेशी समुदायलाई जबर्जस्त अनेपालीको बिल्ला भिराइन्थ्यो। आदिवासी जनजाति र उत्पीडित दलित समुदायलाई दोस्रो दर्जाको नागरिकको रूपमा हेरिन्थ्यो। झापादेखि कञ्चनपुरसम्म सिमानाको रक्षा गरेर बसेका मानिसहरूलाई हेर्ने सत्तासीनहरूको नजर कहिल्यै सकारात्मक थिएन। सदियौंदेखि हेपिएका, थिचिएका र मिचिएका आवाजविहीनहरूको आवाजलाई मुखरित गर्ने अभियानको नेतृत्व प्रचण्डले गरेका थिए ।

मुलुकको कुल जनसङ्ख्याको करीब एकतिहाइ सङ्ख्या ओगट्ने मधेशी समुदायलाई अधिकारबाट वञ्चित गरेर हैन, अधिकार दिएर मात्र राष्ट्रिय एकता सुदृढ गर्न सकिन्छ भन्ने डक्ट्रिन प्रचण्डको थियो। प्रचण्ड नेतृत्वको माओवादी नै त्यो शक्ति हो जसले नेपालमा राज्य पुनर्संरचनाको जबर्जस्त एजेण्डा मार्फत आदिवासी, जनजाति, मधेशी, थारु, मुस्लिम, दलित र महिला समुदायको अधिकार र स्वाभिमानका खातिर ऐतिहासिक र युगान्तकारी पहलकदमी लिएको थियो। ढुङ्गा र माटोको गाथा गाएर मात्र हैन, मुलुक भित्र फुलेका सयौं फूलहरूलाई उनेर मात्र राष्ट्रियता बलियो बनाउन सकिन्छ भन्नु कसरी गलत हुन्छ ? देश उठाउने र जनता जुटाउने अभियान हिजो पनि जरुरी थियो र आज पनि छ। यसलाई तार्किक निष्कर्षमा पुर्‍याउन पनि जसको नीति उसकै नेतृत्व अपरिहार्य छ।

गणतन्त्र बहालीपछिको नेपाली राजनीतिमा प्रचण्ड निरन्तर केन्द्रभागमा रहँदै आएका छन्। राजनीतिको चुरो समाएर आफ्नो मुद्दा र पहलकदमी बढाउन प्रचण्ड काबिल छन्। प्रचण्ड एक असाध्यै सक्रिय र गतिशील नेता पनि हुन्। तर विषयलाई ठीक ढंगले नबुझ्ने वा बुझेर पनि बुझपचाउनेहरूले विषयान्तर गरेर हल्काफुल्का टिप्पणी गर्ने गरेको पाइन्छ। अझ कतिपयले प्रचण्डलाई पदका पछि दौडने गरेको आरोप समेत लगाउने गर्छन्। तर हामीले तथ्यहरू हेर्‍यौं भने त्यसको ठीक विपरीत पाउँछौं। केपी ओलीलाई प्रधानमन्त्री बनाउन दुवै पटकका प्रस्तावक र निर्णायक पहलकर्ता प्रचण्ड नै थिए। नेपालको पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीका दुवै पटकका प्रस्तावक प्रचण्ड नै थिए। माधवकुमार नेपाललाई पहिलो संविधानसभामा ल्याउन (जो पछि प्रम बन्नुभयो) पहल गर्ने प्रचण्ड नै थिए।

लामो गत्यारोध तोडेर झलनाथ खनाललाई प्रधानमन्त्री बनाउन निर्णायक पहल गर्ने उनै थिए। उवेला डा.बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउने निर्णायक पहलकर्ता प्रचण्ड नै थिए। पूर्व सहमति बमोजिम तोकिएकै दिन राजीनामा दिएर शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने प्रचण्ड नै हुन्। जननिर्वाचित कार्यकारीको आदेश (कट्वाल प्रकरण) नमानिएपछि बहुमत हुँदै नैतिकताका आधारमा राजीनामा दिने नेता उनै हुन्। पछिल्लो सरकारमा आधा-आधा प्रधानमन्त्री हुने सहमति भएपनि पूरै कार्यकाल तपाई (ओली) नै हुनुस् भन्ने उनै प्रचण्ड थिए। तर ओली आफैंले असंवैधानिक तवरले दुई दुई पटक संसद विघटन गरेर वितण्डा मच्चाएपछि शेरबहादुर देउवालाई अघि सारेर भए पनि संविधान रक्षाको नेतृत्व लिने पनि उनै प्रचण्ड थिए। यी सबै घटनाक्रमहरूबाट प्रचण्ड पदमा अल्झिने हैन बरु सहमति, सहकार्य र निकासप्रति सदैव चिन्तित, क्रियाशील र प्रतिबद्ध रहेको पाउँछौं। यी जबर्जस्त तथ्यहरूले प्रचण्डलाई लगाइने गरिएको आरोप बेतुक र तथ्यहीन रहेको स्वत: पुष्टि हुन्छ।

निश्चय नै प्रचण्ड पनि मानिस नै हुन् र उनका पनि कतिपय कमी–कमजोरी थिए, छन् र भोलि पनि हुन सक्छन्। यदि कसैले प्रचण्डमा कुनै कमजोरी छैन भन्छ भने त्यो मार्क्सवाद विरोधी कुरा हो। प्रचण्ड आफ्नो नितान्त निजी चाहनाले नेतृत्वमा रहिरहन खोजेको प्रश्नै होइन। विचित्रको कुरा त यो छ कि माओवादी पार्टीमा ९५ प्रतिशत भन्दा बढी नेता, कार्यकर्ता तत्कालका लागि प्रचण्ड नै नेतृत्वमा आवश्यक छन् भनेर भन्छन्। तर पार्टी बाहिरका र विरोधी खेमाका मानिसलाई खपिनसक्नुको टाउको दुखाइ छ।

प्रचण्ड नेतृत्वमा रहनु मुलुक, जनता र पार्टीको आवश्यकता हो। नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रका सर्वोच्च कमाण्डर हुनुको नाताले त्यसलाई कहिल्यै र कसैले गिद्धेदृष्टि लगाउन नसक्ने गरी संस्थागत गर्न प्रचण्ड नेतृत्व अझै केही समय जरुरी छ। प्रचण्डलाई कमजोर पार्न सकियो भने मात्र परिवर्तनका एजेण्डालाई कमजोर पार्न सकिन्छ भन्नेहरूको षड्यन्त्रलाई चिर्न पनि प्रचण्ड नेतृत्व अपरिहार्य छ। हिजो पञ्चायतकालमा परिवर्तनकारी नेताहरूलाई ‘अराष्ट्रिय तत्व’ भन्नेहरू आज फेरि आर्यघाटमा सेलाइसकेको राजतन्त्रको प्रेत जगाएर नेताहरूलाई ‘चोर’ भन्दै व्यवस्था विरुद्ध सल्बलाउन खोज्दैछन्। तिनका प्रतिगामी हर्कत र तानावानाहरू ध्वस्त पार्न पनि प्रचण्ड नेतृत्व आवश्यक छ।

त्यससँगै जनवादी क्रान्तिका उपलब्धिलाई संस्थागत गर्दै दलाल पूँजीवादलाई परास्त गरी स्वाधीन, आत्मनिर्भर र राष्ट्रिय पूँजीको निर्माण गरेर समाजवादी क्रान्तिको झण्डा उठाउनका निम्ति केही समय मुलुक, जनता र पार्टीलाई प्रचण्ड नेतृत्व आवश्यक छ।

(बस्नेत नेकपा माओवादी केन्द्रका युवा नेता हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?