+
+

एमसीसी पास भए नेपाल पराधीन बन्छ : भीम रावल

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १० गते १८:२८

१० पुस, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विरोधमा सशक्त ढंगले आवाज उठाउनुपर्ने बताएका छन् ।

एमाले नेता रावलले एमसीसी संसदबाट पारित भए मुलुकमा समानान्तर सरकार बन्ने खतरा रहेको जिकिर गरे ।

शनिबार काठमाडौंमा आयोजित ‘अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी’ विषयक अन्तर्क्रिया कार्यक्रममा पूर्वउपप्रधानमन्त्री रावलले एमसीसी संशोधन विनानै संसदबाट पारित गरिए त्यसले मुलुकलाई शक्ति राष्ट्रहरुको द्वन्द्व र संघर्षमा परिणत गर्ने चेतावनी दिए ।

एमसीसी सम्झौता संशोधन गरेमा अघि बढाउन आफू पनि सहमत रहेको उनको भनाइ छ । ‘…त्यसकारण विदेशी कम्पनीको इसारामा समानान्तर सरकारको स्थिति उत्पन्न हुन्छ यसबाट । समानान्तर सरकारको स्थिति उत्पन्न हुनुका साथै नेपाल क्रमशः पराधीनतातर्फ धकेलिनेछ’ उनले भने ।

नेता रावलले मुलुकको सार्वभौमिकतामाथि आँच आउने खालका कुनै पनि सम्झौता नेपालका लागि स्वीकार्य हुनै नसक्ने बताए ।

नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलाले एमसीसी पारित गरे मुलुक गम्भीर दुश्चक्रमा फस्ने चेतावनी दिए । एमसीसी यथास्थितिमा संसदबाट पारित गराए त्यसको शिकार नेपालका नेताहरु आफंै हुने बास्तोलाको भनाइ छ ।

‘अमेरिका एमसीसीमार्फत् भारतमा पनि नियन्त्रण गर्न चाहन्छ । अमेरिकाले डेमेक्रेसीको नाममा लुटपाट मच्चाउने काम गरिरहेको छ । नेपालमा पनि एमसीसी भनेर डकैती गर्न खोजिएको छ’ उनले भने ।

पूर्वराजदूत लीलामणि पौडेलले एमसीसी राष्ट्र हितमा नरहेकाले त्यसलाई अगाडि बढाउन नसकिने धारणा राखे । ‘एमसीसी राष्ट्रको हितमा छैन । मुलुकका पुस्तौंपुस्ता बन्दी बनाउने गरी सो सम्झौता गर्न खोजिएको छ । त्यसलाई सम्झौता गरेर अघि बढन हुँदैन, सकिदैन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?